अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा शुक्रबार भएको विमान दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ।
शुक्रबार साँझ फिलाडेल्फिया विमानस्थलबाट उडान भरेको लियरजेट ५५ विमान चार माइल उडेपछि घना आवादी भएको सहरमा खसेको थियो।
जहाजमा चार जना चालक दलका सदस्य एक जना बिरामी बालक र बालकको हेरचाहका लागि एक जना सवार थिए।
दुर्घटना भएको लियरजेट ५५ मेडिकल विमान (एयर एम्बुलेन्स) भएको बताइएको छ। विमान मिसौरीको स्प्रिङफिल्ड-ब्रान्सन विमानस्थल जाँदै थिए।
जहाज दुर्घटना भएको भिडिओ सामाजिक सञ्जाल र अमेरिकी मिडियाहरूमा सार्वजनिक भएको थियो।
भिडिओमा विमान आकाशबाट तीव्र गतिमा खसेर बीच सहरमा बजारिएको देखिन्छ। खसेलगत्तै विमान ठूलो आवाजमा विस्फोट भएको र आगोको ठूलो लप्कामा विलिन भएको देखिन्छ। विस्फोटसँगै विमानका टुक्राहरू यत्रतत्र छरिएको दृश्य भिडिओमा देखिन्छ।
त्यस वरपरका क्षेत्रमा विमानका जलेका टुक्रा छरिएका छन्। केही टुक्रा नजिकका होटलभित्र समेत पुगेको तस्बिरहरू सार्वजनिक भएको छ।
विमानका टुक्राहरू नजिकका घर र कारमाथि खसेका छन्। दुर्घटना स्थल वरपर भएका मानिसहरू हताहति भएको आशंका गरिएको छ। यद्यपि बाहिर रहेका मानिसहरुको मृत्यु भएको विवरण भने सार्वजनिक भएको छैन।
दुर्घटनास्थल नजिक रहेको रुजवेल्ट मल र त्यसवरपर पार्किङ गरी राखिकएका गाडीहरूमा क्षति पुगेको बताइएको छ।
विमानमा रहेकामध्ये कोही पनि जिवित नरहेको बताइएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुख व्यक्त गरेका छन्।