अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा निजी जहाज दुर्घटना भएको छ।
शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रूजवेल्ट मलनजिक एउटा प्राइभेट विमान दुर्घटना भएको समाचार संस्था रोयटर्सले जनाएको छ।
फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिङफिल्ड-ब्रान्सन विमानस्थल जाँदै गरेको विमानमा ६ जना सवार रहेको अमेरिकाको उड्डयन विभागले जनाएको छ।
दुर्घटना भएको लियरजेट ५५ मेडिकल विमान (एयर एम्बुलेन्स) भएको बताइएको छ।
जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो जहाज दुर्घटना भएको विज्ञप्तीमार्फत जानकारी दिएको छ।
विमानमा चालक दलका चार सदस्य, एक बिरामी बालक र उनको हेरचाहमा आएका एकजना सवार थिए।
विमान तीव्र गतिमा खसेको र घना आवादी भएको सहरको जमिनमा बजारिएको रोयटर्सले समाचारमा लेखेको छ। जमिनमा खसेलगत्तै जहाजमा आगो लागेको र केहीबेरमै भीषण रूप लिँदै विस्फोट भएको थियो।
विमानमा सवारमध्ये कोही पनि ज्युँदो नरहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।
विमान खसेको ठाउँमा अरू मानिसहरू पनि घाइते भएका छन्। कम्तिमा एउटा घर र धेरै कारहरूमा क्षति पुगेको बताइएको छ।
विमान दुर्घटना हुँदा पानी परिरहेको र भिजिबिलिटी अत्यन्त कमजोर रहेको रोयटर्सले जनाएको छ।
अमेरिकाको वासिङ्टनमा बुधबार मात्रै ६४ जना यात्रु सवार जहाज र सेनाको हेलिकप्टर ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमध्ये केही शव अझै फेला परेको छैन। त्यसको तीन दिन नबित्दै जहाज दुर्घटनाको अर्को घटना भएको छ।