अमेरिकाको वासिङ्टनमा भएको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म ५० जनाको शव फेला परेको छ।
अमेरिकी सञ्चारमाध्यमहरूले पोटोम्याक नदीबाट ४० जनासहित अहिलेसम्म ५० जनाक शव फेला परेको जनाएका छन्।
१७ जना अझै बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको छ।
बुधबार राति स्थानीय समयअनुसार ९ बजे भएको दुर्घटनामा जहाज र हेलिकप्टर दुवैमा सवार मानिसहरूमध्ये कोही पनि जिवित नरहेको भनिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुर्घटनामा कोही जिवित नरहेको बिहीबार पत्रकारहरूसँग बताएका छन्।
वासिङ्टनस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको विचिटाबाट आएको अमेरिकन एयरलाइन्सको जहाज सेनाको हेलिकप्टरसँग ठोक्किएको थियो।
आकाशमै ठोक्किएका जहाज र सेनाको ब्ल्याक हक हेलिकप्टर आगोको लप्टोसहित पोटोम्याक नदीमा खसेको थियो।
जहाजमा चालकदलका ४ सदस्यसहित ६४ जना सवार थिए भने हेलिकप्टरमा तीन जना सैनिक सवार थिए। उनीहरू सबैको मृत्यु भएको भनिएपनि सबैको शव फेला परेको छैन।
जहाजमा अन्य मुलुकका मानिसहरू पनि सवार थिए । ती मध्ये दुई जना अर्जेन्टिनाका र तीन जना चिनियाँ नागरिक रहेको भनिएको छ। अरू कुन कुन देशका नागरिक थिए भन्ने सार्वजनिक भएको छैन।
जहाजको ब्ल्याक बक्स भेटिइसकेको छ।
वासिङ्टन पोस्टका अनुसार दुर्घटनाको समयमा विमानस्थलको टावरमा कर्मचारी अभाव थियो। त्यतिबेला चार जना एटिसीको काम दुई जनाले मात्रै गरिरहेको उड्डयन विभागलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले समाचार लेखेको छ।
राष्ट्रपति ट्रम्पले भने जहाज दुर्घटना हुनुमा यसअघिको डेमोक्र्याटको सरकारका नीतिलाई दोष दिएका छन्।
उनले उड्डयन प्रणाली काम गर्नका लागि भर्ती हुन उच्चतम मापदण्ड हुनुपर्ने बताउँदै यसअघिको प्रशासनको नीतिका कारण दुर्घटना भएको बताए।
'उनीहरूको नीति खराब थियो। राजनीति त्यो भन्दा अझै खराब थियो,' उनले भने।
ट्रम्पले कुनै आधार र प्रमाणबिना अघिल्लो सरकारलाई दोष दिएको भन्दै उनको आलोचना भएको छ।