संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष बनाउने बताएका छन्।
आइतबार गोरखाको चुमनुब्री गाउँपालिकाद्वारा आयोजित सबैभन्दा छोटो समयमा विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सफल फुन्जो जाङ्मो लामासहितका आरोहीलाई सम्मान गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।
'पर्वतारोहीका लागि कल्याणकारी कोष बनाउँदै छौं। पर्यटन विभागले कल्याणकारी कोष बनाउनेबारे छलफल अघि बढाएको छ। कोही पनि पर्वतारोहण गर्दा अफ्ट्यारो पर्दा सरकार साथमा छ भन्ने आभास दिलाउने छौं,' उनले भने।
मन्त्री पाण्डेले नेपालमा पर्यटक भित्र्याउनका लागि नेपालको आकाश सुरक्षित र चलायमान छ भन्ने वातावरण बनाउनुपर्ने बताए।
मन्त्री पाण्डेले पर्यटकलाई अथितिदेवो भवःको सत्कार दिएको अवस्थामा एक पटक आएको पर्यटक पटक–पटक आउने समेत दाबी गरे।