थाइल्यान्डको बैंककमा आयोजित पाटा ट्राभल मार्ट २०२४ मा नेपालको पर्यटन प्रवर्द्धन सम्पन्न भएको छ।
प्रतिष्ठित पुरस्कारहरू जित्दै र १८ वटा पर्यटन सम्बद्ध निजी क्षेत्रका पाटा नेपाल सदस्य कम्पनीहरू सहित सशक्त सहभागिता जनाउँदै नेपालले पर्यटन प्रवर्द्धन सम्पन्न गरेको हो।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)द्वारा आयोजित पाटा ट्राभल मार्टमा ४५ वटा गन्तव्यहरूबाट नौ सयभन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाएका छन्।
जसमा विभिन्न २४ गन्तव्यहरूका एक सय ६८ बिक्रेता संस्थाहरूबाट दुई सय ६६ जना प्रतिनिधिहरूका साथै ३१ स्रोत बजारका एक सय ७३ संस्थाहरूबाट एक सय ९१ क्रेता प्रतिनिधिहरू सहभागी भए।
पाटाको मुख्यालय थाइल्याण्ड स्थानान्तरणको २५ औं वर्षको विशेष अवसरमा मार्टको ४७ औं संस्करण थाइल्यान्डको राजधानी बैंककमास्थित 'क्विन सिरिकिट नेशनल कन्भेन्सन सेन्टर' मा आयोजना गरिएको थियो।
विश्वभरका सबभन्दा सक्रिय पाटा च्याप्टरहरू मध्ये एक, पाटा नेपाल च्याप्टरले वर्ष २०२३–२४ मा पाटाको उद्देश्य र भावना अनुरूप पर्यटन क्षेत्रको प्रवर्द्धन, बजारीकरण र दिगो विकासका लागि सम्पन्न गरेका उत्कृष्ट गतिविधिहरूको सम्मान स्वरुप 'पाटा अवार्ड अफ एक्सिलेन्स' प्राप्त गरेको छ।
पाटाका प्रमुख कार्यकारी अधिकृत नूर अहमद हमिदले पाटा ट्राभल मार्टले एसिया प्यासिफिक पर्यटनको भविष्यप्रतिको प्रतिबद्धतालाई यस क्षेत्र र बाहिरका उच्च गुणस्तरका खरिदकर्ता र विक्रेताहरूका लागि प्लेटफर्मको रूपमा सेवा प्रदान गर्ने बताए।
उनका अनुसार यसले दिगो पर्यटन विकासलाई प्रवर्द्धन गर्ने संस्थाको लक्ष्यलाई झल्काउँछ।
बैंककमा यस वर्षको कार्यक्रमको आयोजनाले एसिया प्यासिफिक क्षेत्र भित्र नवीनता, र सहयोगलाई बढावा दिँदै थाई पर्यटन संगठनहरूसँग पाटाको स्थायी साझेदारीलाई जोड दिएको उनले बताए।
'एसिया प्यासिफिकमा एक अग्रणी माइस गन्तव्यको रूपमा थाइल्याण्डको प्रतिष्ठा कायम राख्ने हाम्रो साझा प्रतिबद्धतालाई बलियो बनाएको छ,' उनले भने।
पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले पाटा ट्राभल मार्टमा नेपालको उत्साहजनक सहभागिताले अन्तर्राष्ट्रिय पर्यटन सहकार्यलाई बढावा दिन र विश्व बजारमा यसको अतुलनीय आकर्षण र पर्यटन उपजहरूको प्रवर्द्धन गर्न सहयोग पुगेको बताए।