खुलेको मौसममा आकाशबाट देखिने दृश्यहरू साँच्चै मनमोहक हुन्छन्। टल्किएका सेता हिमाल, हिमालमुनिको फेवाताल, फेवातालमा रमाइरहेको हिमालको छाया; बयान गरी साध्य छैन।
फेवाताललाई पृष्ठभूमि बनाएर फोटो र भिडिओ खिचेको देख्दा उनलाई गर्व लाग्छ। आफूसँग उडेको यात्रु खुसी भएको देखेर झन् बढी खुसी लाग्छ।
उनी हुन् ३२ वर्षीया प्याराग्लाइडर शर्मिला शर्मा।
शर्मिलाले व्यावसायिक प्याराग्लाइडिङ गरेको सात वर्ष भयो।
'बीस वर्षकी हुँदा मेरो पोखराका प्याराग्लाइडर प्रज्वल रञ्जितसँग बिहे भयो। मैले बिहेपछि नै प्याराग्लाइडिङ गरेँ,' शर्मिलाले भनिन्, 'एक पटक, दुई पटक गर्दै धेरै पटक उडेँ।'
पोखरा आउने पर्यटकलाई प्याराग्लाइडिङ गराउन प्रज्वलको आफ्नै ओपन स्काइ प्याराग्लाइडिङ कम्पनी छ। प्रज्वलका साथ शर्मिला पनि कम्पनीमा जोडिइन्।
धेरै पटकको उडानले पनि हावामा तैरिने उनको धोको मेटिएन। दिनदिनै उड्न सम्भव पनि थिएन।
उनलाई लाग्यो — आफै प्याराग्लाइडर भए त दिनदिनै उड्न पाइन्थ्यो! एकै दिनमा पटक पटक उड्न पाइन्थ्यो!
नमेटिएको त्यही धोकोले उनलाई पाइलट प्याराग्लाइडर बनायो।
'सानैदेखि प्याराग्लाइडिङ उडेको देखेर हुर्किएँ। आफू उडेर मात्र रहर पूरा भएन, अहिले अरूलाई उडाइरहेकी छु। उडान गर्दा एकदमै खुसी लाग्छ,' उनले भनिन्।
बितेका सात वर्षमा उनले स्वदेशी र विदेशी गरी करिब चार हजार जनालाई प्याराग्लाइडिङ गराइसकिन्।
कोरोनाअघि प्याराग्लाइडिङ गर्नेमा विदेशी पर्यटक बढी हुन्थे। अहिले स्वदेशीहरू पनि प्रशस्त छन्।
'पोखरा र प्याराग्लाइडिङ पर्यायवाची भएका छन्। पोखरा आउने अधिकांश पर्यटक आकाशमा उड्न चाहन्छन्,' उनले भनिन्, 'एक दर्जनभन्दा बढी मुलुकका पर्यटकहरूलाई उडाइसकेकी छु।'
यात्रुलाई प्याराग्लाइडिङ गराउँदै शर्मिला शर्मा (दायाँ)। तस्बिर स्रोतः शर्मिला शर्माप्याराग्लाइडिङ साहसिक उडान हो, उमेर तोकिएको छैन। सामान्यतया सात वर्ष उमेर पूरा भएका जोसुकैलाई उडाइन्छ। आफूले सात वर्षका केटाकेटीदेखि ८० वर्षसम्मकालाई उडाएको उनले बताइन्।
शर्मिलाका अनुसार प्याराग्लाइडिङमा जमिन छोडेर तीन-चार हजार फिटको उचाइमा पुगिन्छ। डराउँदिनँ, उड्न सक्छु भन्ने जो पनि उड्न पाउँछन्। कतिपय यात्रु एक पटक भुइँ छोड्नै पर्छ भनेर अनुभवका लागि पनि आउँछन्।
'प्याराग्लाइडिङ गर्न आउनेमध्ये धेरैजसो पर्यटक महिला पाइलटसँग उड्ने भन्छन्। केटाकेटी र महिलाले त झन् महिला पाइलट नै रोज्छन्,' उनले भनिन्।
पर्यटकको यस्तो रोजाइले उनलाई उत्साही बनाउँछ।
उनी यात्रुलाई उडानमा देखिने हिमाल, पहाड, जंगल, सहर र अन्य ठाउँबारे जानकारी गराउँछिन्। यात्रुसँग गफ गर्दै उडान हुन्छ।
अहिले व्यावसायिक रूपमा प्याराग्लाइडिङ पाइलट भए पनि खासमा शर्मिलालाई 'एड्भेन्चर' मा रूचि थिएन। बिहेपछि नै स्वतः तानिएकी हुन्।
सुरूमा उनी कम्पनीको कार्यालयमा बस्थिन्। व्यवस्थापकीय काम गर्थिन्। उडानका लागि आउने पर्यटकहरूसँग कुरा हुन्थ्यो।
अफिसमा आउने यात्रुहरू उनलाई तपाईं पनि पाइलट (प्याराग्लाइडर) हो भन्दै सोध्थे। उनी होइन भन्थिन्। बारम्बार यात्रुहरूको त्यस्तो प्रश्नले उनमा प्याराग्लाइडिङ पाइलट बन्ने हुटहुटी भने बढाउँदै लान्थ्यो।
उनले श्रीमानसँग आफ्नो इच्छा प्रकट गरिन्। प्रज्वल खुसी भए, हौस्याए। श्रीमानको हौसलाले शर्मिलाको आत्मबल बढ्यो।
प्याराग्लाइडिङमा अनुभवी प्रज्वलको सुझाव अनुसार केही दिन शर्मिला उडिन्। बारम्बारको उडानले मनमा बचेको अलिअलि भय पनि उडाइदियो। तालिम लिने टुंगोमा पुगिन्।
तालिम लिन उनी स्याङ्जामा रहेको बाबु एड्भेन्चर स्कुल पुगिन्। एक्लै उड्ने र यात्रु राखेर उडाउने व्यावसायिक उडानको तालिम करिब तीन वर्ष चल्यो।
'अरूसँग बसेर उड्दा सुरक्षित महसुस हुन्थ्यो। एक्लै डर हुने रहेछ तर आँटेपछि सकिने रहेछ,' शर्मिलाले तालिमको अनुभव सुनाइन्।
कहिले स्याङ्जा, कहिले पोखरा त कहिले बन्दीपुरमा उनले एक्लै उडान गरिन्। तीन वर्षमा निर्धारित एकल (सोलो) र संयुक्त उडान पूरा गरेपछि उनले प्याराग्लाइडर भएको सरकारी मान्यता पाइन्।
सरकारी मान्यता पाएको दिन उनी असीम खुसी भइन्। खुसीसँगै जिम्मेवारी पनि थपिएको महसुस गरिन्।
यसपछि उनले पोखराबाट व्यावसायिक प्याराग्लाइडिङ थालिन्। सुरूदेखि नै यात्रुहरूबाट उनले सकारात्मक प्रतिक्रिया पाइन्।
'यात्रुले महिला प्याराग्लाइडर मनपराउने रहेछन्,' उनले भनिन्।
प्याराग्लाइडिङ यात्रुसँग शर्मिला शर्मा (बायाँ)। तस्बिर स्रोतः शर्मिला शर्मापोखरामा प्याराग्लाइडिङको प्रस्थान सराङकोटबाट र अवतरण खदौपीमा हुन्थ्यो। एउटै प्याराग्लाइडरले दिनमा तीन-चार वटा उडान गर्न पाउँथ्यो। शर्मिलाले पनि दैनिक चार वटासम्म उडान गरिन्।
अहिले भने यहाँको नियम बदलिएको छ। एक पाइलटले एक दिनमा एउटा उडान मात्र गर्न पाउँछ।
प्याराग्लाइडिङ बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म हुन्छ। सामान्यतया आधा घन्टाको उडान हुन्छ। बढी समय उड्ने हो भने यात्रुले शुल्क थप्नुपर्छ।
उडानको उपयुक्त समय भने जुन-जुलाई र अक्टोबर-नोभेम्बरलाई मानिन्छ। हावाहुरी र वर्षामा उडान हुँदैन।
अहिले पोखरामा प्याराग्लाइडिङका लागि प्रस्थान विन्दु दुइटा छन् — तोरीपानी र मान्द्रेढुंगा। दुवैको अवतरण पामेमा हुन्छ।
प्याराग्लाइडिङ गर्न आधा घन्टाको शुल्क पाँच हजार रूपैयाँ पर्छ।
शर्मिला र प्रज्वल ओपन स्काइ प्याराग्लाइडिङ सँगै अरू दुइटा कम्पनी पनि चलाउँछन्। उनीहरू दुई जनासहित यी कम्पनीमा १८ जना पाइलट छन्।
पुरूषको तुलनामा प्याराग्लाइडर महिला थोरै छन्। पोखरामा मात्रै होइन, देशका अन्य केही ठाउँमा पनि प्याराग्लाइडिङ हुन्छ। यस्तो साहसिक उडानमा आउन महिलाहरूलाई उनी आग्रह गर्छिन्।
'पहिलेको तुलनामा प्याराग्लाइडर दिदीबहिनीको संख्या बढ्दै छ तर पनि थोरै छ। यो उडानमा चुनौतीसँगै नाम र दाम पनि छ। आकाशमा उड्नुको रमाइलो छँदैछ,' शर्मिलाले भनिन्।
उडानमा फाटफुट दुर्घटना पनि हुन सक्छ। यस्तो घटना हुन नदिन पाइलट र यात्रु दुवै सचेत रहनुपर्ने शर्मिला बताउँछिन्।
उड्नुअघि पाइलटले यात्रुलाई उडानका क्रममा ध्यान दिनुपर्ने पक्षबारे जानकारी गराउँछन्। रमाइलोसँगै जोखिम पनि हुनाले यात्रुले राम्ररी सुनेर पालना गर्नुपर्छ।
विगतमा भएका केही दुर्घटनाले व्यवसायमा थोरै असर पुगे पनि केही वर्षयता प्याराग्लाइडिङ सुरक्षित रहेको उनको भनाइ छ।
नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई खेलकुद संघको मापदण्डअनुसार प्याराग्लाइडरहरूले उडान गर्छन्। रेडियो, जिपिएस लगायत प्रविधि भएकाले प्याराग्लाइडिङ सुरक्षित बनेको उनले बताइन्।
'मेरो भविष्य प्याराग्लाइडिङ व्यवसायमै उज्ज्वल देखेकी छु। योसँगै अर्को पर्यटन व्यवसायको योजना पनि बनाइरहेकी छु,' शर्मिलाले भनिन्।
यात्रुलाई प्याराग्लाइडिङ गराउँदै शर्मिला शर्मा (पछाडि। तस्बिर स्रोतः शर्मिला शर्मा