भदौ २४ गते शीर्ष नेताका घरमा आगजनी र तोडफोड मच्चिएका बेला प्रदर्शनकारीहरू नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको घर पनि जलाउन गएका थिए।
तर पत्नी सरस्वती ज्ञवालीको सुझबुझले उनको घर जोगिएको छ।
सरस्वतीले अपांगता भएकी साढे ३७ वर्षकी छोरी देखाएर घर आगजनी हुनबाट जोगाएकी थिइन्। ज्ञवाली दम्पतीको घर काठमाडौंको बुद्धनगरमा छ। उनीहरूकी जेठी छोरी जन्मजात अपांगता भएकी हुन्।
गुल्मी पुर्ख्यौली थलो भएका प्रदीप किशोरवयमै भूमिगत भएका थिए। उनी भूमिगत भएकै बेला प्रशासनले घर घेरेको र पत्नी सररस्वती भाग्ने क्रममा दुर्घटना पर्दा गर्भभित्रकी शिशुलाई असर पुगेको दम्पती बताउँछन्।
भदौ २४ गते तोडफोड हुँदा आफू घरमा नभएको प्रदीप ज्ञवालीले बताए।
अघिल्लो दिन जेन–जी प्रदर्शन रक्तपातपूर्ण बनेपछि र मानिसहरू आक्रोशित भएपछि परिस्थिति भड्किने ठानेर उनी घरबाहिर निस्किएका थिए। घरमा छोराहरू, श्रीमती र अपांगता भएकी छोरी मात्र थिइन्।
उनको दुईतले घरको भुइँतला भाडामा दिइएको छ। पश्चिमतिरका विद्यार्थी उक्त फ्ल्याटमा बस्दै आएका थिए।
भदौ २४ गते बिहान ११ बजेतिर पहिलो समूह तोडफोड गर्न भन्दै ज्ञवालीको घरभित्र छिरेको थियो। त्यो समूह त्यति उत्तेजित र आक्रामक थिएन। समूहमा आएकाहरूको अनुहारको भावभंगिमा हेर्दा पनि विध्वंशक र उग्र देखिँदैनथ्यो।
'सुरूमा मैले के गर्न आउनुभएको भनेर सोधेँ। उनीहरू त्यति उत्तेजक थिएनन्,' सरस्वती ज्ञवालीले भनिन्, 'बाहिर आगो बलिरहेको छ। यत्रा मानिस मारिएका छन् भन्दै आक्रोश पोख्न थाले।'
ती समूहलाई उनले सम्झाइबुझाइ गरिन्। त्यो समूह फर्कियो।
त्यसको केही बेरपछि २०–२५ जनाको अर्को समूह घरभित्र पस्यो। उनीहरूले घरका सिसा तोडफोड गरे। लुटपाटसमेत मच्चाएको उनको भनाइ छ।
त्यो समूहलाई पनि उनले अघिल्लो टोलीलाई जस्तै सम्झाइन्। आफू अपांगता भएकी छोरी स्याहारिरहेको, बडो दुःखले घर बनाएको भनेर सम्झाइबुझाइ गरिन्।
त्यो समूहले पनि तोडफोड मात्र गरेर फर्किएको उनले बताइन्।
सरस्वतीका अनुसार दिउँसो ५०–६० जनाको संख्यामा तेस्रो टोली आयो। उनी भयग्रस्त हुँदै ढोका थुनेर अपांगता भएकी छोरी च्यापेर बसेकी थिइन्। केही प्रदर्शनकारीले सडकबाट लगातार ढुंगा प्रहार गरिरहेका थिए।
'अपांगता भएकी छोरी बचाउन सक्छु कि सक्दिनँ भन्ने लागिरहेको थियो। छोरी च्यापिरहेकी थिएँ,' उनले भनिन्, 'झ्यालमा फलामे बार हालेको थिएन। ढुंगाले सबै सिसा झरिसकेका थिए। प्रदर्शनकारी आगजनी गर्ने ध्येयले माथि नै आए।'
त्यति बेला आफूले 'मलाई मार्न आएका हौ?' भनेर सोधेको उनले बताइन्।
'हामीलाई मार्न आएका हौ भने पहिला अपांगता भएकी छोरी मार भनेपछि उनीहरू हच्किए,' सरस्वतीले भनिन्, 'यत्रा मानिस मारिएका छन्, सबैतिर आगो बलिरहेको छ भन्दै थिए। जेन–जीजस्ता पनि थिएनन्। खाइलाग्दा र उमेरले पाका मानिसहरू समूहमा थिए। कस्ता–कस्ता थिए, तिनीहरूको अनुहार पनि हेक्का छैन।'
त्यतिबेला आफूलाई छिमेकीहरूले पनि ठूलो गुन लगाएको उनले सम्झिइन्।
घर तोडफोड हुँदा केही छिमेकी बिलौना गर्दै आएका थिए। कसैले प्रदर्शनकारीलाई सम्झाएका पनि थिए। कसैले तोडफोड गरिरहेकाको फोटोसमेत खिच्न खोजेका थिए।
'अति नै उग्र प्रदर्शनकारी थिए। संयमित थिएनन्। राजनीतिक पनि थिएनन्। पञ्चायतकालदेखि हामी पनि आन्दोलनमा छौं। हाम्रै पुस्ता पञ्चायतसँग लडेको हो, तर यस्तो आन्दोलन कहिले देखिएन,' उनले भनिन्, 'फोटो नखिच भन्ने, हप्कदप्की गर्ने, आतंकित तुल्याउने, निजी सम्पत्ति तोडफोड गर्ने यस्तो देखियो। छिमेकीहरू आउन थालेपछि तोडफोड गर्न आएकाहरू हच्किए।'
उनले आफूले चार–पाँचपटक गरी दुईतले घर बनाएको र त्यसको साक्षी छिमेकीहरू रहेकाले पनि सजिलो भएको बताइन्।
'भ्रष्टाचार गरेका छन् भन्ने लाग्छ भने छानबिन गरेर सम्पत्ति सरकारीकरण गरेको भए त राम्रै हुन्थ्यो। तोडफोड, आगजनीले कसैलाई पनि फाइदा गरेन,' उनले भनिन्।
उनका अनुसार त्यस रात ज्ञवाली परिवारले छिमेकीकहाँ आश्रय लिएको थियो।
घरमा आगो नलगाइए पनि तोडफोडबाट केही बाँकी नरहेको उनले बताइन्। घरका सामग्री लुटपाट भएको पनि सरस्वतीको भनाइ छ।
'तलको फ्ल्याटमा विद्यार्थीहरू बस्थे। उनीहरूको कोठा फुटाएर चार–पाँच हजार नगद, सुनका गरगहना, लत्ताकपडासमेत लगेछन्। बाहिर कोदालो राखिएको थियो, त्यही कोदालाले झ्यालढोका फुटाएका छन्। मैले त हेर्न पनि सकेको छैन,' सरस्वतीले भनिन्।
यी सबै घटनाको छानबिन गरेर दोषीउपर कारबाही नगर्ने हो भने गलत नजिर बस्ने पनि उनले बताइन्।