लामो समयसम्म छालामा पर्ने गरी घाम ताप्नु स्वास्थ्यका लागि हानिकारक मानिन्छ।
सूर्यको किरणमा भएका अल्ट्राभायोलेट (यूभी) किरणले शरीरमा भिटामिन-डी बनाउन मद्दत गर्छ। तर पनि लामो समयसम्म छालामा घाम पर्यो भने यूभी किरणले छालाको क्यान्सर हुने जोखिम बढाउँछ। यसले छिट्टै बुढ्यौली ल्याउने र छाला चाउरिने पनि हुन्छ।
त्यसैले विकसित देशहरूले आफ्ना नागरिकलाई घाम ताप्दा यूभी किरणबाट जोगिनका लागि सनस्क्रिन लगाउन सल्लाह दिन्छन्। विश्व स्वास्थ्य संगठनले समेत यूभी किरणले छाला डढाउने र एलर्जी हुने मात्रै नभएर छालाको क्यान्सर हुने र दीर्घकालमा आँखालाई समेत हानि गर्छ भन्छ।
हाम्रोमा सरकारले नै सनस्क्रिन लगाउने सल्लाह नदिए पनि विशेष गरी सौन्दर्य प्रयोजनका लागि कतिले सनस्क्रिन लगाउँछन्।
तर बेलायतमा गरिएको एक अध्ययनले यूभी किरणले घाटाभन्दा बढी फाइदा हुने देखाएको छ।
एडिनबरा विश्वविद्यालयले युके बायो बैंकसँग गरेको तीन लाख ६० हजारभन्दा बढी व्यक्तिको विवरणहरू अध्ययन गर्दा यूभी किरण छालामा बढी पर्दा मुटु रोग र अरू खाले क्यान्सरबाट हुने मृत्यु कम हुने देखाएको छ। छालाको क्यान्सरका कारण हुने मृत्युदर पनि खासै नबढेको पाइएको छ।
केही साना आकारका अध्ययनहरूले पहिले पनि यूभी किरणका फाइदाहरू देखाए पनि यसले आयु बढाउँछ भनेर देखाउने यो सबैभन्दा ठूलो अध्ययन हो भनेर द इकोनोमिष्ट पत्रिकाले लेखेको छ।
उमेर, लिंग, धूमपान, आर्थिक-सामाजिक हैसियत, व्यायाम आदि कारणहरूले पार्न सक्ने प्रभावलाई छुट्याउँदा पनि घाम धेरैबेर ताप्नेहरू मुटु रोगका कारण मर्ने सम्भावना लगभग २० प्रतिशत कम र क्यान्सरबाट मर्ने जोखिम १० प्रतिशत थोरै देखिएको छ।
सो अध्ययनको नेतृत्व गर्नेमध्येका एक रिचर्ड वेलरले यूभी किरणबारे दिइने सल्लाह छालाको क्यान्सरबारे मात्रै केन्द्रित हुने भए पनि अझ धेरै मान्छे अरू खाले क्यान्सर र रोगहरूका कारण मर्ने बताए।
‘त्यसैले हामीले ती मानिसहरूलाई यूभी किरणले कसरी रोगबाट जोगाउन सक्छ भनेर सोच्नुपर्छ,’ वेलरले जोड दिए।
यूभी किरणले ठ्याक्कै कसरी आयु बढाउँछ भनेर थाहा छैन। तर यूभी किरणका कारण शरीरले उत्पादन गर्ने भिटामिन-डीले हड्डी बलियो बनाउनुका साथै रोग-प्रतिरोधात्मक शक्ति पनि बढाउने हुनाले फाइदा हुनसक्छ।
त्यस्तै पहिल्यै भएका अध्ययनले छालामा यूभी किरण पर्दा नाइट्रिक अक्साइड उत्पादन हुने देखाएका थिए। नाइट्रिक अक्साइडले रक्तनलीहरूलाई फराकिलो पार्छ। त्यसले रक्तचाप कम गर्नुको साथै साँघुरा रक्तनलीका कारण हुने मुटु रोगमा पनि कमी ल्याउनसक्छ।
यो पछिल्लो अध्ययनमा संलग्न शोधकर्ताहरूले भविष्यमा हुने अध्ययनहरूले यूभी किरणले हुने फाइदाका कारणहरू खुलाउने आशा गरेका छन्।
यो अध्ययन गोरो छाला भएकाहरू धेरै भएको बेलायतमा गरिएकाले काला अनि हामी जस्तो छाला भएकाहरूलाई यूभी किरणले पार्ने प्रभावबारे थप अध्ययन हुनुपर्छ। वेलरले नै पनि छालाको रंगले हाम्रो शरीरले यूभी किरणप्रति कसरी प्रतिक्रिया जनाउँछ भन्नेमा फरक पार्ने तर के कारणले फरक पर्छ भन्ने थाहा नभएकाले थप अनुसन्धान हुनुपर्ने बताएका छन्।
यो पछिल्लो अध्ययनकै कारणले फाइदा हुन्छ भन्ने ठानेर सनस्क्रीन नलगाई घाममा धेरैबेर बसी हाल्न भने हुँदैन। तर थप अनुसन्धान भए पछि पृथ्वीमा जीवन हुनु र स्वयं पृथ्वीकै अस्तित्वमा मुख्य भूमिका भएको सूर्यका किरणले मानिसलाई हुने थप फाइदाहरूबारे थाहा हुनेछ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)