नेपालको अग्रणी आतिथ्य समूह बाराही हस्पिटालिटी एण्ड लिजरले श्रीलङ्काको कोलम्बोमा सम्पन्न नवौं संस्करणको साउथ एशियन ट्राभल अवार्ड्स (साटा) २०२५ मा पाँच प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।
यो सफलताले बाराहीको विश्वस्तरीय सेवा, विलासी आतिथ्य र मौलिक नेपाली पाहुना सत्कारप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ।
होटल बाराही काठमाडौंले लिडिङ सिएसआर प्रोग्राम नेपाल र लिडिङ एयरपोर्ट होटल नेपाल श्रेणीमा दुई सिल्भर अवार्ड प्राप्त गरेको छ। त्यस्तै, होटल आवास पोखराले लिडिङ गेस्ट हाउस टुरिष्ट इन नेपालमा गोल्ड अवार्ड र लिडिङ बजेट होटल नेपालमा सिल्भर अवार्ड जितेको छ।
यसैगरी, सराङकोट माउन्टेन लजले लिडिङ हिल रिसोर्ट नेपाल श्रेणीमा गोल्ड अवार्ड प्राप्त गर्दै बाराही समूहको प्रिमियम ट्राभल र हस्पिटालिटी क्षेत्रमा प्रभावशाली उपस्थिति झल्काएको छ।
अवार्ड ग्रहण गर्दै बाराही हस्पिटालिटी एण्ड लिजरका रेजिडेन्ट म्यानेजर कमलप्रसाद दाहालले टिमको समर्पण र ब्राण्डको भावी योजनाबारे जानकारी दिए।
उनले भने, 'यी अवार्डहरू हाम्रो टिमको मेहनत र समर्पणको प्रमाण हुन्। बाराही ब्राण्ड विस्तारसँगै हामीले सधैं विश्वस्तरीय मानकमा होटल सञ्चालन गर्ने र हाम्रो नेपाली आतिथ्यलाई विशेषता बनाउन प्रतिबद्धता जनाएका छौँ।'
बाराही हस्पिटालिटी एण्ड लिजरले आफ्ना होटलमार्फत आधुनिक सुविधा, विलासी सेवा र नेपाली सांस्कृतिक सम्पदासँग मेल खाने आतिथ्य अनुभव दिँदै आएको छ।
यो पाँचवटै सम्मानले सम्पूर्ण टिमको मेहनत र समर्पणलाई प्रतिबिम्बित गर्दै यस क्षेत्रको आतिथ्य उत्कृष्टतामा नयाँ मापदण्ड स्थापित गरेको छ।
हाल बाराही हस्पिटालिटीअन्तर्गत कास्कीमा होटल बाराही पोखरा, सराङकोट माउन्टेन लज, होटल आवास पोखरा, चितवनमा बाराही जंगल लज र काठमाडौंमा होटल बाराही काठमाडौं सञ्चालनमा छन्।
विशेषतः, बाराही जंगल लज र होटल बाराही काठमाडौं इको–सर्टिफाइड छन्। जसले दिगो पर्यटन र आतिथ्यप्रति बाराही ग्रुपको प्रतिबद्धता झल्काएको छ।