नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते पाँच मिनेट मात्रै बालुवाटारबाट निस्कन ढिला भएको भए आफूलाई मार्ने योजना रहेको दाबी गरेका छन्।
भक्तपुरको गुण्डुमा डेरा गरी बस्न थालेका अध्यक्ष ओलीले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष पासाङ शेर्पासहितको समूहसँगको भेटमा प्रदर्शनकारीहरूको आफूलाई मार्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई घाइते बनाउने योजना रहेको सुनाएका हुन्।
‘यसपटक पाँच मिनेट ढिला भएको भए, मार्ने नै थिए। शेरबहादुरजीलाई घाइते बनाउने र मलाई मार्ने खालकै योजना थियो,’ उनले भने।
हठात् सत्ता नै पल्टाउने घटना भएकाले आफूले तयारी नै गर्न नपाएको उनको भनाइ थियो।
‘मैले आफ्नो तयारी पनि गर्न पाइनँ,’ उनले भने।
ओलीले सुरक्षाकर्मीहरूमाथि केही भरोसा भएको तर प्रदर्शन चर्किंदै गएपछि सुरक्षा संयन्त्रले केही पनि गर्न सक्दिनँ भनेको बताए।
‘सेक्युरिटीमाथि मलाई अलिकति भरोसा भयो, सेक्युरिटीले हामी केही पनि गर्न सक्दैनौं, केही पनि गर्दैनौं भन्यो,’ उनले पासाङ शेर्पासहितको समूहसँग भने।
अन्तिममा नेपाली सेनाले भगाइसम्म दिएको ओलीले बताएका थिए।
ओलीले भदौ २४ गते प्रदर्शन हिंसात्मक बन्दै गएपछि दिउँसो २ बजे प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसलगत्तै उनलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत् शिवपुरी पुर्याएको थियो।
‘अन्तिममा सेनाले भगाइसम्म दियो। त्यहाँबाट निकाल्यो एकछिनमा। पाँच मिनेट भित्रमा हामी हिँड्यौं,’ उनले भने।
यस्तो परिघटना भएकाले मनोबल कमजोर नबनाउन उनले कार्यकर्तालाई आग्रह पनि गरे।
‘कमजोर मनोबल बनाएर यसका विरूद्ध हामीले केही पनि गर्न सक्दैनौं। यस षड्यन्त्रबाट देशलाई जोगाउनचाहिँ उच्च मनोबल गर्नैपर्छ,’ उनले भने।
उनले देशै जलाउने आपराधिक घटना भएको बताए।
‘अब यस प्रकारको देशै जलाउने खालका आपराधिक घटनाहरू, यो त महाआपराधिक घटना हो,’ उनले भने। एमालेले यस्ता घटना अब हुन नदिने बताए।
‘हामी एमाले हुँदाहुँदै अब कुनै पनि हालतमा यस्ता घटना हुन दिँदैनौं। एमाले हुँदाहुँदै सिंहदरबार जलाउने?,’ उनले भने।
यसपटक एमालेको कमजोरी भएको, देशका सम्पत्तिको रक्षा गर्न चुकेको विश्लेषण ओलीको थियो।
‘यसपल्ट हाम्रो अलिकति कमजोरी भयो। यस प्रकारको हुन्छ भन्ने हाम्रो कल्पना..., यो हदसम्म देशै जलाउँछन् भन्ने खालको त्यस्तो लागेको थिएन,’ उनले भने।
देशद्रोही, आपराधिक तत्वहरू विभिन्न ठाउँमा, पद, ओहोदामा रहेको पनि उनको टिप्पणी छ।
‘देशद्रोही,अपराधी तत्वहरू विभिन्न ठाउँठाउँमा पनि पुगेका रहेछन्, पद ओहोदामा पनि पुगेका रहेछन्, छद्म तत्त्व भित्र पसेका रहेछन्। तर वास्तवमा देशलाई माया नै नगर्ने तत्वहरू शेर पल्टेर बसेका रहेछन्। यसपटक हामीले देख्यौं। त्यस्ता तत्त्व हामीले चिनेका छौं। त्यस्ता तत्त्वलाई विस्तारै नियन्त्रण गर्दै लगिनेछ,’ उनले भने।