मोटरसाइकलमा पाँच किलोमिटर कच्ची सडक पार गर्न कति समय लाग्छ?
तपाईं २० किलोमिटर प्रतिघन्टाको गतिमा कुदाउँदै हुनुहुन्छ भने लगभग १५ मिनेट।
तर यसपालि घर आउँदा मलाई यति नै दुरी पार गर्न तीन घन्टा लाग्यो।
मेरो घर धादिङको ज्वालामुखी गाउँपालिका, वडा नम्बर २ मा पर्छ। यहाँ आउन दुइटा बाटा छन्।
मैदीभञ्ज्याङ-दोभानटार-अमराई-हटिया खण्ड चल्तीको बाटो हो। यसको दुरी १४ किलोमिटर छ। तर दोभानटारस्थित धौखोलामा ह्युम पाइप राख्ने काम लामो समयदेखि अघि बढ्न नसक्दा यो बाटो बन्द छ।
त्यसैले हामी गाउँलेहरू त्योभन्दा दोब्बर लामो र दोब्बर समय लाग्ने धादिङबेसी-साँधभञ्ज्याङ-ढोला-पुर्सु हुँदै आफ्नो गाउँ आउँछौं।
धादिङबेसीदेखि साँधभञ्ज्याङसम्म पक्की सडक छ। त्यहाँबाट अगाडि कच्ची बाटो यात्रा गर्नुपर्छ।
म साँधभञ्ज्याङ आइपुग्दा दिउँसोको २ बजेको थियो। बाटो बिग्रेको छ भन्ने गाइँगुइँ त सुनेको थिएँ, तर त्यसको जानकारी दिन सडकमा सूचनाबोर्ड थिएन। पहिले बिग्रेको भए पनि बनिसक्यो कि भन्ने मलाई लाग्यो।
मैले वरिपरिका मान्छेलाई सोधेँ।
उनीहरूले मलाई हेरे, मेरो मोटरसाइकललाई हेरे, अनि भने, 'बिग्रेको त छ, तर मोटरसाइकल चलिरहेको छ। गए हुन्छ।'
म ढुक्कसँग अघि बढेँ।
झन्डै एक किलोमिटर पार गरिसक्दा नै बाटोले दुःख दिने छाँट देखाइहाल्यो।
दसैं नजिकिएको भए पनि बाटो सुनसान थियो। वरिपरि घरहरू नभएकाले चहलपहल पनि थिएन।
मैले सुनसान बाटोमा मोटरसाइकल टक्क रोकेँ। अगाडि हेरेँ। अनि, लामो सास तानेँ।
मेरो सामु बाटो थिएन, बाटोको आकारमा हिलाम्मे दलदल थियो। त्यो पनि अलिकति होइन, आँखाले देखेजति।
मैले बाटोको कुना कुना च्यापेर मोटरसाइकल हुल्न सकिन्छ कि भनेर अन्दाज लगाएँ। तर के सकिन्थ्यो! हिलाम्मे दलदल एउटा कुनाबाट अर्को कुनासम्म फैलिएको थियो।
त्यही दलदलको बीचमा ट्रकका टायरले बनाएका दुई लहर डोब थिए। मलाई आस जाग्यो।
ट्रकका ठूला टायरले बनाएका डोबमा मेरो मोटरसाइकलको सानो टायर कसो नछिर्ला!
तर के छिर्थ्यो! ती दुई लहर डोबमा ठुल्ठूला खाल्डा थिए।
भीमकाय ट्रक त जसोतसो ढलपल गर्दै पार भयो होला, मेरो भुसुने बाइक कसरी पार हुनु!
हरेक खाल्डो बाइकका टायर खर्लप्पै निलुँलाझैं मुख बाएर बसेको थियो। एक त ती अजिंगर खाल्डो छल्नै मुस्किल, त्यसमाथि सर्कस देखाएझैं सन्तुलन मिलाउँदै छलेँ भने पनि दायाँ–बायाँको हिलो आँखा तिरिमिरी पार्ने खालको थियो।
इत्ति सन्तुलन गुम्यो भने चिप्लेर गर्लम्मै हिलोमा पछारिनुको विकल्प थिएन।
एकछिन यसै अलमलमा परेँ।
एक मन त काठमाडौं नै फर्किऊँ कि भन्ने झोक पनि चल्यो। अर्को मनले 'बाइक छाडेर हिँड्दै जा विष्णु' पनि भन्यो।

म यी दुवै मनका कुरा नापतौल गरिरहेकै थिएँ, त्यही बेला बाटोको कुनापट्टि दुई बित्ताजतिको भागमा मोटरसाइकल हिँडेको छाप देखेँ।
त्यो देखेर यस्तो लाग्यो — मभन्दा अगाडि यही दलदले बाटो हुँदै गुज्रेका कुनै शूरवीर चालकले आफ्नो मोटरसाइकलको छाप छाडेर मलाई सन्देश दिएका छन्, 'नआत्ती विष्णु, तेरो गाउँ आएको बाटो यस्तै छ त चिल्लो बाटो खोज्न कहाँ जान्छस्!'
सन्देशको आसयले मेरो हिम्मत बढायो।
मैले मनमनै भनेँ, 'गाउँ मेरो, गाउँ आएको बाटो, गाउँलेहरू मेरा, त्यसो भए यो बाटोले दिने सकस पनि मेरै हो। यसबाट पन्छिएर म कहीँ जान सक्दिनँ।'
यत्ति कुरा मनमा आएपछि मैले मुटु दह्रो पारेँ। त्यति नै दह्रोसँग मोटरसाइकलको ह्यान्डल समातेँ।
र, त्यही लिकमा बाइक छिराएँ, जुन मभन्दा अगाडिका कुनै शूरवीर मोटरसाइकल चालकले मेरै निम्ति खनेर गएका थिए, सायद!
दुई–तीन मिटर मात्र अगाडि के बढेको थिएँ, मोटरसाइकलका टायर चिप्लिन खोजे। झटपट देब्रे खुट्टा टेकेर सन्तुलन मिलाउने प्रयत्न गरेँ। तर अहँ, बाइक ज्यानजाला अड्याउन सकिनँ!
दुर्भाग्य के भने, मैले खुट्टा टेक्न खोजेकै ठाउँमा ठूलो खाल्डो रहेछ।
अनि त के चाहियो!
म, मेरो मोटरसाइकल र त्यो दलदले हिलोको रास एक भयौं!
त्यो चिप्लो हिलोमा लडेकाले म झटपट उठ्नै सकिनँ। केही बेरमा आफू त जसोतसो उठेँ, बाइक चाहिँ मरिगए उठाउन सकिनँ। बाइकको आधा भाग नै हिलोमा धस्सिएको थियो।
केही उपाय नदेखेपछि म आफू बिस्तारै, ढलपल गर्दै हिलोबाट निस्किएँ।
मद्दत माग्न वरिपरि कोही मान्छे थिएनन्। माथि नै भनिहालेँ — बाटो सुनसान थियो, वरिपरि घरहरू नभएकाले चहलपहल पनि थिएन।
मलाई साह्रै आपत पर्यो।
अब मोटरसाइकल पो कसरी निकाल्ने!
मैले एक–दुई पटक प्रयत्न गरेँ। सकिनँ। हरेक चोटि बल गर्दा म आफै हिलोमा चिप्लिन्थेँ र त्यहीँ गाडिन्थेँ।
तपाईंले जिन्दगीमा भगवान अवतार देख्नुभएको छ? मैले देखेको छु।
हिलोमा फसेको मोटरसाइकल निकाल्न नसकेर बिलखबन्दमा परेका बेला मैले एउटा स्कुटर आफूतिर आउँदै गरेको देखेँ।
कस्सम भन्छु, त्यति बेला मलाई कुनै भगवान आफ्नो वाहनमा चढेर उद्धार गर्न आएजस्तै लाग्यो!
उनले उद्धार गरे पनि। मेरो मोटरसाइकल हिलोबाट निकाल्न सघाए।
'बाटो खत्तम रहेछ यार, अगाडि पछाडि भएर जाऔं,' मैले ती उद्धारक 'भगवान' लाई भनेँ।
उनी तयार भए।
त्यसपछि हामी एकअर्कालाई भर दिँदै अगाडि बढ्यौं।
जति अगाडि बढे पनि हाम्रो सकस सकिने नामनिसान थिएन। त्यस्ता खाल्डा र चिप्ला बाटा त कति आए कति! प्रत्येक सय–दुई सय मिटरमा ठुल्ठूला खाल्डा थिए। कति त सिंगै बाइक खस्लाझैं लाग्थे।
ढोला पुगेपछि अलि आराम होला कि भन्ठानेको, के हुनू!
त्यसपछिको बाटो झन् खराब रहेछ।
मैले त्यहाँ पनि बाटोको छेउमा बनेको मोटरसाइकलका टायरको लिकमा बाइक हुलेँ। तर अलि पर मेरो मोटरसाइकल पानी जमेको खाल्डोमा फस्यो। म घुँडा घुँडासम्म पानीमा डुबेँ।
उता स्कुटरमा आइरहेका मेरा उद्धारक भगवानले पनि आफ्नो वाहन थाम्न सकेनन्। उनी लड्खडाउँदै बाटोबाट तल खसे र धानखेतमै पुगे।
के तपाईंले आफ्नो उद्धार गर्न आएका भगवानरूपी व्यक्तिकै उद्धार गर्नुपरेको छ? मैले परेको छ।
मैले स्कुटरको एउटा ह्यान्डल समातेर माथि तानेँ। उनले तलबाट धकेले।
तर मान्छेको उचाइ बराबर अग्लो कान्लाबाट स्कुटर ज्यानजाला माथि आएन।
झन्डै १५ मिनेट प्रयास गर्दा हामी दुवैको शरीर गलिसकेका थिए।
त्यही बेला हामीले देख्यौं — खेतधनी त्यहीँ वरपर डुल्दै रहेछन्।
सप्रिएका धानका गाँजा स्कुटरसँगै ढलेको देखेर उनी मुर्मुरिए। तर हाम्रो अवस्था देखेर केही सम्हालिए पनि। उनले नाम्लो दिए र स्कुटरलाई खेतबाट सडकसम्म निकाल्न सघाए।
स्कुटर निकाल्न हामीलाई एक घन्टाजति लाग्यो।
त्यहाँबाट अगाडि बढ्दा मेरो शरीर लखतरान भइसकेको थियो।
त्यसपछि पनि सकस सकिएन।
करिब १५–२० ठाउँमा मोटरसाइकल उचाल्दै, धकेल्दै, लड्दै, उठ्दै डुँडेभञ्ज्याङ पुग्दा ५ बज्नै लागेको थियो। ठूलै युद्ध जितेजस्तो महसुस भयो मलाई। बर्खामा खेत रोपेर आएजस्तो देखिएको थिएँ।
मेरा उद्धारक साथीको यात्रा यहीँसम्म रहेछ। मलाई भने अझै अगाडि बढ्नु थियो। मेरो घरसम्म पुग्न दुई–तीन किलोमिटर बाँकी थियो।
त्यही बेला गाउँका एक जना काका भेटिनुभयो। मैले उहाँलाई बोलाएँ र हामी सँगसँगै गाउँ झर्यौं।
बाटोमा उहाँले निकै गम्भीर कुरा सुनाउनुभयो —
'पोहोर–परार चाडबाड नजिकिएपछि गाउँकै बाटो पनि डोजर लगाएर सम्याउँथे। अहिले त सिंहदरबार र संसद भवन जलेका छन्। पहिले त्यो नबनी हाम्रो गाउँ आएको बाटो के बन्ला र!'
***
