पोखराको एकमात्र मेक्सिकन रेष्टुरेण्ट ‘अगाभे मेक्सिकन रेष्टुरेन्ट एण्ड टकिला बार’ले पहिलो वार्षिकोत्सव मनाएको छ।
लेकसाइडस्थित अगाभेले विदेशी र स्वदेशी पर्यटकलाई मेक्सिकन स्वाद पस्काउने योजना अनुरूप रेष्टुरेन्ट सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक अमृत गुरूङ बताउँछन्।
‘पोखरामा मेक्सिकन रेष्टुरेन्ट नै किन ?’ भन्ने प्रश्नमा अमृत भन्छन्, ‘म हङकङ बस्दाखेरि बनाएको योजना हो, आफ्नै ठाउँमा नयाँ स्वादको रेष्टुरेन्ट खोल्ने योजना साँचिरहेको थिएँ।’
हङकङको पर्यटन उद्योगमा २ दशक बढी बिताएका गुरूङले करिब १० वर्ष अघि नै पोखरा फर्किएर मेक्सिकन रेष्टुरेन्ट खोल्ने योजना बनाएका रहेछन्। त्यतिबेला भूकम्प जाँदा उनी रोकिए।
पुनः रेस्टुरेन्ट खोल्न पोखरा आएकाबेला कोभिडको लहर चलेपछि दोस्रो पटक पनि ‘ब्याडलक’ भएको उनले सुनाए।
त्यसपछि भने अगाभे स्थापना गर्न सफल भएको सुनाउँदै उनले वर्ष दिन पुरा भएपछि प्राप्त गरेको हौसलाले कर्ममा निरन्तर लाग्ने साहस आएको बताए।
‘विदेश जति बसे पनि देश फर्कनु त थियो नै’ अमृत भन्छन् ‘उमेरमै फर्किएर थोरै भएपनि आफ्नो माटोमा योगदान दिने सोच थियो, त्यही पूरा गर्दैछु।’
करिब ३ करोड रुपैयाँको लगानीमा खोलिएको रेष्टुरेन्टमा मेक्सिकन खाना बनाउने सेफ हङकङबाट ल्याएको बताउँछन्।
‘मेक्सिकन खानाको सेफ नेपाली नै हुन्, तर हङकङमै उनी कार्यरत थिए’ अमृतले भने ‘अगाभेमा हाल १७ कर्मचारी रहेका छन्।’