एक सातापछि नेप्से हरियो अंकमा


एक साताको अन्तरालपछि नेप्सेले हरियो अंक देखाएको छ। बैशाख २४ गतेयता नेप्से निरन्तर रातो अंकमा रहँदै आएको थियो। बुधबार ४ अंकले बढेर १३३८ अंकमा कायम भएको छ।

कारोबार खुलेको आधा घण्टासम्म रातो अंकमा देखिए पनि त्यसपछिको अन्तिम समयसम्म नेप्से हरियो रह्यो। यस दिन कारोबार रकममा केही सुधार आएको छ।

अघिल्लो दिन १४ करोड ९२ लाखको कारोबार भएकोमा यस दिन २२ करोड २० लाख पुगेको छ। क्रमिक रुपमा लगानीकर्ताको केवाईसी अपडेट हुँदै गर्दा कारोबार रकम बढेको हो।

बजारको पुँजीकरण १५ खर्ब ७० अर्ब कायम भएको छ। फाइनान्स र उत्पादनबाहेक सबै समूह बढेका छन्। फाइनान्स २ र उत्पादन समूह ६ अंकले घटे।

बैंकिङ १, व्यापार ५, होटल ४६, विकास बैंक ९, जलविद्युत १३, अन्य ४ र माइक्रोफाइनान्स समूह २२ अंकले बढे। बिमा समूहको वृद्धिदर भने १ अंकमुनि रह्यो।

कारोबारका आधारमा वमी माइक्रोफाइनान्स अग्रस्थानमा रह्यो। १ करोड ५६ लाखको कारोबार हुँदा उसको मूल्य १ हजार ८६० कायम भएको छ। दोस्रोमा रहेको नेपाल टेलिकमको ८२ लाखको सेयर किनबेच भयो। उसको मूल्य ८ रुपैयाँले बढेर प्रतिकित्ता ७७० कायम भएको छ।

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्टको मूल्य ९.९ प्रतिशतले बढ्यो। जनउत्थान सामुदायिक लघुवित्त, हिमालय डिस्टिलरी र वमी माइक्रोफाइनान्सका लगानीकर्ताले ६ प्रतिशत बढी नाफा कमाए।  वर्ल्ड मर्चेन्ट बैंकिङका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशत गुमाए।

यसैबीच प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुखमा श्रवणकुमार अग्रवाल नियुक्त भएका छन्। बोटलर्स नेपाल तराई तथा बालाजुका निर्देशक परिवर्तन भएका छन्। देवव्रत्न मुखर्जीको स्थानमा सुदिप बजोरिया नियुक्त भएको बोटलर्स नेपाललले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.