लगातार पाँच दिनदेखि सेयर बजार परिसूचक नेप्सेले २६ सयको विन्दुमा टेको पाइरहेको छ। यसलाई प्राविधिक भाषामा टेवा बिन्दु भनिन्छ।
यो साताको आइतबारदेखि नेप्सेले २६०० मा न्यूनतम बिन्दु बनाइरहेको छ।
बिहीबार पनि कारोबार अवधिमा आधा दर्जन पटक नेप्से यही बिन्दुबाट फर्किने प्रयासमा देखियो।
बिहीबार बजार बन्द हुँदा भने सेयर बजार परिसूचक नेप्से १.६६ अंकले घटेर २६०७ बिन्दुमा आइपुगेको छ।
बिहीबार अन्तिम समयमा नेप्से एकैपटक तीन अंक हाराहारी बढेपनि बजार अघिल्लो दिनको बन्द बिन्दुभन्दा माथि पुग्न सकेन।
बजारको प्रवृत्ति स्पष्ट नहुँदा कारोबार लगातार घट्दै गएको छ।
यस दिन ३ अर्ब ४९ करोड रूपैयाँको कारोबार भएको छ। बुधबार बजारमा ३ अर्ब ७३ करोड रूपैयाँको कारोबार भएको थियो।
यस दिन दुई कम्पनीमा सर्किट ब्रेक लागेको छ।
स्वस्तिक लघुवित्त र एसवाइ प्यानलको सेयर मूल्य करिब १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको छ।
यसदिन कारोबारमा आएका सबै समूहगत परिसूचक एक प्रतिशतभन्दा कमले परिर्वतन भएका छन्।
कारोबारमा आएका तीन सय २६ लगानी उपकरणमध्ये एक सय १७ वटाको मूल्य बढेको छ भने एक सय ८१ वटाको सेयर मूल्य घटेको छ। बाँकीको स्थिर छ।
मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.४२ प्रतिशतले घटेको छ। कम्पनीको सेयर प्रतिकित्ता एक हजार तीन सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।
ङादी पावर कम्पनीको सबैभन्दा धेरै रकमको कारोबार भएको छ। कम्पनीको १८ करोड ९७ लाख रूपैयाँ बराबरको कारोबार भएको हो।
कम्पनीको प्रतिकित्ता सेयर ०.१५ प्रतिशतले घटेर चार सय दुई रूपैयाँमा कारोबार भइरहेको छ।