कृष्ण तिवारीको नेतृत्वमा अष्ट्रेलियामा रहेका सक्रिय पत्रकारको संस्था अस्ट्रेलियन नेप्लिज जर्नलिष्ट एशोसिएशन (एन्जा) मा नयाँ कार्यसमिति चयन भएको छ।
राजधानी क्यानबेरामा भएको अधिवेशनले उपाध्यक्षमा माधव गैरे, महासचिवमा गणेश भट्ट, कोषाध्यक्षमा खगेन्द्र सत्याल, सचिवमा तक्दीर अधिकारी, प्रवक्तामा मिलन दाहाल र पब्लिक अफिसरमा कोम खत्रीलाई चयन गरेको छ।
४३ मताधिकार सदस्य रहेको एञ्जाको निर्वाचनमा अध्यक्षमा नर्वाचित तिवारीले २५ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नारायण खड्काले १८ मत पाए।
यस्तै उपाध्यक्षमा निर्वाचित माधवप्रसाद गैरेले २२ मत ल्याउँदा प्रकाश हुमागाइँले १९ र सीताकुमारी विश्वकर्माले दुई मत प्राप्त गरे।
यस्तै महासचिव, कोषाध्यक्ष, सचिव, पब्लिक अफिसर र प्रवक्ता सर्वसम्मत चयन भएका थिए।
४ जना सदस्यका लागि छ जनाले उम्मेदवारी दिएका थिए जसमा सरल गुरुङ (४० मत), विनायक अधिकारी (३४ मत), गोपाल छन्त्याल (३३ मत) र केदार रायमाझी (२७ मत) निर्वाचित भएको निर्वाचनमा समितिका संयोजक राजु अधिकारीले जानकारी दिए।
क्यानबेराबाट राजु अधिकारी, भिक्टोरियाबाट प्रकाश आचार्य र आईटीमा आशिष सापकोटा सम्मिलित निर्वाचन कमिटीले अनलाईन मतदान गराएको थियो।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, एनआरएनए अध्यक्ष अनिल पोखरेल, एनआरएनए क्षेत्रीय संयोजक दिनेश पोखरेल, तराई समाज अष्ट्रेलियाका अध्यक्ष रञ्जित शाह, नारी निकुञ्जकी राष्ट्रिय संयोजक संगीता चापागाईं लगायतले नयाँ कार्यसमितिलाई बधाई दिदै प्रवाशमा पत्रकारिता गर्दा आचारसंहिताको विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
अधिवेशनकै अवसर पारेर एन्जाले प्रत्येक वर्ष वितरण गर्दै आएको १ हजार डलर अस्ट्रेलियन डलर राशिको ‘स्वर्गीय टिका कार्की सक्रिय पत्रकारिता पुरस्कार’ पत्रकार सरल गुरुङलाई प्रदान गरिएको छ। नेपाल ट्युबका सम्पादक गुरुङ प्रवासी नेपाली समुदायका गतिविधि र कथाहरू सम्प्रेषण गर्दै आएका छन्।
नवनिर्वाचित एन्जा अध्यक्ष तिवारीले यो जित सबै पत्रकारको जित भएको बताउदै सबै पत्रकारसँग सहकार्य गरी अगाडि बढ्ने बताए।
‘सक्रिय र क्रियाशिल टिम नेतृत्वमा आएको छ। अझै बढी क्रियाशिल बनाउँदै शसक्त भएर काम गर्नेछु’, उनले भने। उनले निवर्तमान अध्यक्ष चिरन्जिवी देवकोटालाई सफल कार्यकालको लागि धन्यवाद दिँदै अघिल्लो कार्यकालमा पुरा हुन नपाएका योजनाहरुलाई पनि निरन्तरता दिदै अगाडि बढ्ने बताए।
अधिवेशनपछि आयोजना गरिएको कार्यक्रममा निवर्तमान अध्यक्ष चिरञ्जीवी देवकोटाले नव निर्वाचित अध्यक्ष तिवारीलाई कार्यभार हस्तान्तरण गरेका थिए। तिवारीले संस्थाको तर्फबाट गएको कार्यकालमा संस्थालाई दिएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दै मायाको चिनो प्रदान गरेका थिए।