गुड फ्राइडे सिनेमा
त्यो बेला भारतीय सिनेमामा रंगीन दुनियाँ सुरू भएकै थिएन। जमाना श्यामश्वेतको थियो। आजको दिनसँग तुलना गर्दा त्यो समयका फिल्मको सिनेमाटोग्राफी, संवाद, अभिनय लगायत सबै पक्ष कमसल लाग्न सक्छ।
तर केही फिल्मका यस्ता विशेषता हुन्छन् जुन जति वर्ष पुराना भए पनि कालजयी बनेर दर्शकको मन जित्छन्, उत्कृष्टमा दर्ज हुन्छन्।
यस्तै फिल्म हो 'चलती का नाम गाडी'।
६५ वर्षअघि बनेको यो फिल्म श्यामश्वेत भए पनि यसका पात्र, संवाद, गीत, संगीत र कहानी सबै रंगीन छन्। कतिपय समीक्षकले यो फिल्मलाई बलिउडको पहिलो वास्तविक कमेडी फिल्मको दर्जा दिएका छन्।
फिल्मका मुख्य कलाकार हुन् अशोक कुमार, अनुप कुमार र किशोर कुमार। उनीहरू वास्तविक जीवनमा दाजुभाइ हुन्। उनीहरूलाई अभिनेत्री मधुबालाको साथ छ। मधुबाला किशोर कुमारकी श्रीमती हुन्।
अशोक, अनुप र किशोर फिल्ममा पनि दाजुभाइकै भूमिकामा छन्। 'गांगुली ब्रदर्स' भनेर चिनिने यी तीन भाइले एक साथ आधा दर्जनजति फिल्म खेलेका छन्। तीमध्ये चल्तीका नाम गाडी चर्चितको सूचीमा पर्छ।
चर्चित गायक समेत रहेका किशोर कुमारको आज वार्षिकी हो। संयोग, उनका दाजु अशोक कुमारको भने आज जन्मोत्सव हो। यिनै दाजुभाइको सम्झनामा आज गुड फ्राइडे सिनेमामा हामीले यो फिल्म सिफारिस गरेका छौं।
फिल्ममा बृजमोहन (अशोक कुमार) आफ्ना भाइहरू जगमोहन (अनुप कुमार) र मनमोहन (किशोर कुमार) सँग मिलेर अटोमोबाइल ग्यारेज चलाउँछन्। अतीतको खास घटनाका कारण बृजमोहन महिलालाई घृणा गर्छन्। उनी आफ्ना भाइहरू पनि महिलासँग टाढै बसून् भन्ने चाहन्छन्।
तर यो चाहना फिल्ममा रेणु (मधुबाला) को प्रवेशअघिसम्म मात्रै कायम हुन्छ। आधा रातमा ग्यारेजमा गाडी बनाउन आएकी रेणुले आफ्नो पर्स ग्यारेजमै छोडेर जान्छिन्। तर पर्समा पैसा नभएर एउटा कार्यक्रमको पास मात्रै हुन्छ।
आफ्नो मजदुरीको पाँच रूपैयाँ बाह्र आना लिन मनमोहन अर्थात् मनु रेणुको घरसम्मै पुग्छन्। लुकीछुपी पर्स फिर्ता दिए पनि आफ्नो पैसा लिन नपाई उनी रेणुको घरबाट भाग्नुपर्ने स्थिति आउँछ।
त्यही बेला उनले कसैले एउटा शव गाडीबाट निकालिरहेको दृश्य देख्छन्। यसपछि कथाले रोचक मोड लिन्छ।
धेरै कलाकारको भिडमा किशोर कुमार र मधुबालाबीचको नोकझोंकवाला प्रेम विशेष लाग्छ। त्यो पर्दाभित्रको प्रेम यही फिल्मको सिलसिलामा वास्तविक प्रेममा बदलिएपछि उनीहरूले बिहे गरेका थिए।
अशोक, अनुप र किशोर पर्दामा पनि दाजुभाइका रूपमा देखिनु आफैंमा फिल्मको विशेषता हो। पात्रलाई झैं गाडीको नाम क्रेडिट लाइनमै दिइएको यो फिल्ममा तीन दाजुभाइ चढ्ने गाडी उनीहरूका बुबाको हो।
फिल्ममा बम्बईका सडकमा यो गाडी चालकबिनै गुड्छ। अन्य महत्वपूर्ण घटनामा पनि गाडी छुट्दैन।
एसडी बर्मनको संगीत मजरुह सुल्तानपुरीको शब्दमा किशोरकुमार र आशा भोसलेको स्वरका गीत सुमधुर छन्।
'इक लड्की भोलीभाली सी', 'चलती की नाम गाडी', 'हाल कैसा है जनाबका', 'पाँच रूपैयाँ बाह्र आना' सदाबहार गीत हुन्।
पात्रबीचको रोचक द्वन्द्व र चट्पटा संवादका कारण सत्येन बोसको निर्देशनको 'चलती का नाम गाडी' ६५ वर्षपछि हेर्दा पनि पुरानो लाग्दैन।