जति बेला सरकारले फेसबुकसहित सामाजिक सञ्जालका २६ वटा प्लेटफर्ममा प्रतिबन्ध लगाउँदै थियो, 'नेपोबेबी ट्रेन्ड' खुला सञ्जालहरूमा फैलिँदै थियो।
यो अभियान मूलतः नेता तथा समाजका पहुँचवालाहरूका छोराछोरीप्रति लक्षित थियो। करदाताको पैसामा नेता र पहुँचवालाका सन्तानले विलासी जीवन भोग गरेको भन्दै यो ट्रेन्ड संसारका धेरै देशमा चल्दै आएको थियो। जेन–जी आन्दोलनका क्रममा नेपालमा यो ट्रेन्ड उत्कर्षमा पुग्यो।
नेपालमा चलेको यो ट्रेन्डमा पूर्वमिस नेपाल शृंखला खतिवडाको पनि फोटो–भिडिओ प्रयोग भएको थियो। इन्जिनियरिङ पढेकी शृंखला पूर्वमन्त्री एवं एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी हुन्।
पछिल्लो समय इन्स्टाग्राममा 'अनफलो' अभियान समेत खेपिरहेकी शृंखलाले बिहीबार आफूमाथि लागेका आरोपहरूको प्रतिवाद गर्दै खण्डन गरेकी छन्।
आफूमाथि लागेका आरोपहरूबारे इन्स्टाग्राममा दुइटा भिडिओ बनाउँदै उनले यतिन्जेल आफू नबोल्नुका खास कारण रहेको र अब आफूले मौनता तोडेको बताएकी छन्।
'जेन–जी पुस्ताको आन्दोलन मूलतः एन्टी–करप्सन मुभमेन्टको रूपमा सामाजिक सञ्जालमार्फत सुरू भएको थियो,' उनले भनेकी छन्, 'टिकटकमा नेपो बेबी भनेर ठूलो ट्रेन्ड चलेको थियो जहाँ नेताका छोराछोरीहरूले अत्यन्तै विलासी जीवन बिताइरहेको देखाउँदै करदाताको पैसा खोइ भन्ने प्रश्न उठाइएको थियो। यो प्रश्न उठाउनु जनताको पूर्ण अधिकार र वैध आवाज हो। तर संयोगवश, म त्यो भिडिओको एक प्रमुख पात्र बन्न पुगेँ।'
प्रारम्भमा आफू त्यहाँ किन परेँ भनेर दुःख लागेको उल्लेख गर्दै खतिवडाले भनेकी छन्, 'मेरो जीवन त खुला किताब जस्तै छ। मिस नेपाल हुनुअघि मेरो जीवनमा कुनै विलासिता थिएन, साधारण जीवन बिताइरहेकी केटी थिएँ म।'
उनले आफूले पढेका स्कुल, लगाएका लुगा, जीवनशैली सबै अहिले पनि इन्स्टाग्राममा खुला रहेको बताएकी छन्।
'कुनै विशेष सुविधा या प्रिभिलेज्ड हुर्काइ भएको मलाई लाग्दैन। तर एक कुरा चाहिँ स्वीकार्छु — हामीसँग आफ्नै घर थियो। त्यसैले हेटौंडा वा काठमाडौंमा कहिल्यै भाडा तिर्ने तनाव भएन।'
आफू र दाइलाई आमाबुबाले पुर्ख्यौली सम्पत्ति बेचेर पढाएको बताउँदै उनले भिडिओमा भनेकी छन्, 'बाबाआमाले पुर्ख्यौली सम्पत्ति बेचेर भए पनि मलाई र दाजुलाई राम्रो शिक्षा दिनुभयो। त्यसैले दुःख महसुस भएन। त्यो हिसाबले म वास्तवमै प्रिभिलेज्ड हुँ। तर भिडिओहरूमा देखाएझैं मेरो सफलता वा जीवनशैली करदाताको पैसाले चलाएको भन्ने कुरा भने पूर्ण रूपमा गलत थियो।'
उनले थप भनेकी छन्, 'आन्दोलन क्रममा नेताकी छोरी भनेर सबैले चिनेको पात्र म भएँ। मेरो तस्बिर राख्दा भिडिओहरूले अझ बढी मोमेन्टम पायो, अझ धेरै लाइक र कमेन्ट पायो, आन्दोलन अझै फैलियो। त्यसैले, यदि यस आन्दोलनलाई शक्तिशाली बनाउन मेरो तस्वीर प्रयोग हुनु नै थियो भने र म कोल्याटरल ड्यामेज बन्नुपर्यो भने होस्।'
देश नयाँ दिशातर्फ अघि बढेको र नयाँ सरकार बनेको पनि उनले उल्लेख गरेकी छन्।
उनले थपेकी छन्, 'अब जनताको आवाज चुनावमार्फत सदनमा पुगोस्, तपाईंहरूले मन पराएका नेताहरू विजयी होऊन्, देश अघि बढोस्— यही मेरो सबैभन्दा ठूलो इच्छा हो। व्यक्तिगत जीवन वा सामाजिक चरित्रभन्दा पनि देशको प्रगति धेरै ठूलो कुरा हो।'
उनले आफूले हार्वर्ड पनि आफ्नै कमाइमा पढेको बताएकी छन्।
'मैले बारम्बार भनेकी छु म सेल्फ–मेड पर्सन हुँ। हार्वर्डको पढाइ पनि मैले आफ्नै कमाइबाट गरेकी हुँ,' उनी भन्छिन्, 'मिस नेपाल भएपछि विभिन्न ब्रान्ड एम्बासडर, विज्ञापन, इभेन्ट ओपनिङ र सार्वजनिक कार्यक्रममा सहभागिताबाट कर कटाएरै ३ करोड १२ लाख रूपैयाँ कमाएको प्रमाण छ। मैले ती सबै सम्झौताहरू स्क्यान सहित सार्वजनिक गरेकी छु। त्यसकै आधारमा मैले डेढ करोडभन्दा कम खर्च लाग्ने हार्वर्ड अध्ययन आफै खर्च गरेर पढेकी हुँ।'
'म हार्वर्ड प्रवेश गर्दा मेरा बुबा मन्त्री नै हुनु हुन्न थियो। बुबा मन्त्री हुनुभएको म हार्वर्ड पुगिसकेपछि मात्र हो। त्यसैले मन्त्री बुबा, भ्रष्टाचार वा चन्दाकै भरमा पढ्न गइन् भन्ने हल्ला आधारहीन हो,' शृंखलाले भनेकी छन्।
'यो सबै कुरा मैले राखेँ—मेरा सन्ततिले भोलि तिम्री आमा भ्रष्टाचारी थिइन् भन्ने सुन्न नपरोस्। किनकि एकचोटि झुटो कुरा चिरेन भने त्यो पुस्तौंसम्म सत्यजस्तै फैलिँदो रहेछ,' उनले भनेकी छन्।