महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ट्राफिक कन्ट्रोल रूम बनाइदिने भएको छ।
भदौ २४ गते आन्दोलनकारीले ध्वस्त बनाएको ट्राफिक कन्ट्रोल रूम बनाउन आफूहरूले सहयोग गर्ने एनआरएनए अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए।
‘ट्राफिक कन्ट्रोल रूम नभएका कारण सुरक्षा चुनौती समेत बढेको छ भने दुर्घटना घटना पनि बढ्ने खतरा छ। हामीले एक करोडको लागतमा पहिलाको भन्दा सविधासम्पन्न र प्रविधि भएको कन्ट्रोल रूम बनाउन लागेका छौं,’ उनले भने, ‘दसैंअघि नै हामीले कन्ट्रोल रूम तयार पारिसक्छौं। त्यसपछि दोश्रो चरणमा कस्तो सहयोग गर्न सकिन्छ, त्यसका लागि पनि हामी तयार छौं।’
ट्राफिक कन्ट्रोल रूम नभएकै कारण मापसे परीक्षण लगायतका गतिविधिहरूमा अफ्ठ्यारो परेको श्रेष्ठले बताए।
नेपाल प्रहरीका लागि सबैभन्दा जरुरी ट्राफिक कन्ट्रोल रूममा रहेकाले आफूहरूले यसको निर्माणमा सहयोग गरेको उनले बताए।
ट्राफिक प्रहरी प्रमुख एवम प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) नवराज अधिकारीले एनआरएनएले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए।
अहिले कार्यालयको सेवा टेन्टबाट भइरहेको र ट्राफिक कन्ट्रोल रूम सञ्चालनमा आएपछि धेरै सहज हुने उनले बताए।