आशिका तामाङलाई धेरैले 'आशिका दिदी' भनेर बोलाउँछन्।
उनीभन्दा साना भाइबहिनीले त भन्ने नै भए। उनकै उमेर समूह र अझ उनीभन्दा ठूलो उमेरकाले पनि यही नामले सम्बोधन गर्छन्।
यसरी सम्बोधन गर्नुका पछाडि कारण छ —
अचेल उनी जेन–जी आन्दोलनमा घाइते भएकाहरूको घरदैलो चहार्दै आर्थिक र जिन्सी सहयोग गरिरहेकी छन्। कसैलाई 'भाइ' त कसैलाई 'कान्छा' भन्दै आफन्तको अनुभूति गराइरहेकी छन्। उनीहरूको दुःख सुनिरहेकी छन्, समस्या बुझेर सहानुभूति दिइरहेकी छन्।
यस्तो विषम परिस्थितिमा पनि घाइतेहरूको साथ नछाडेकी उनलाई कतिले त 'आशिका देवी' नै भन्न थालेका छन्। कतिपयले 'हाम्रा लागि मिस नेपाल भनेका आशिका नै हुन्' पनि भन्छन्।
आफ्ना शुभेच्छुक र शुभचिन्तकहरूबाट पाइरहेको अथाह मायामा प्रतिक्रिया जनाउँदै उनले सेतोपाटीसँगको भिडिओ कुराकानीमा भनिन्, 'म मिस नेपाल त हुँ तर समाजका लागि। आशिका तामाङ समाजकै लागि जन्मिएको हो। समाजमा जति पनि दुःख–पीडामा भएका मानिस हुनुहुन्छ, उहाँहरूको घाउमा मह्लम लगाउने मै हुँ भन्ने सोचेर काम गरिरहेकी छु।'
जेन–जी आन्दोलनको सुरूकै दिन प्रदर्शनीमा सरिक उनी त्यसको दुई दिनअघि मात्र जनकपुरबाट फर्किएकी थिइन्।
जनकपुरमा उनले चलाएको फोहोरमैला विरूद्धको अभियान खुब चर्चित भएको थियो। उनी त्यहाँबाट रौतहट जाने तयारीमा थिइन्, तर सँगै गएका भाइ बिरामी परेपछि काठमाडौं फर्किनुपरेको उनी बताउँछिन्।
'म खासमा देशका ७७ जिल्ला घुमेर त्यहाँका बेथिति र भ्रष्टाचारविरूद्ध आवाज उठाउने अभियानमा हिँडेकी थिएँ,' आशिकाले भनिन्, 'तर भाइको कारण बीचमै काठमाडौं फर्किनुपर्यो। अहिले सम्झिँदा यस्तो लाग्छ, मेरो खाँचो रहेछ काठमाडौंलाई। त्यही भएर म समयमै यहाँ आइपुगेछु।'
उनले अगाडि भनिन्, 'मैले केही पैसा जम्मा गरेको थिएँ। घाइते र मृतकका परिवारलाई तत्काल सहयोग गर्न मसँग बजेट थियो। त्यही भएर आन्दोलनमा घाइते भएकाहरूलाई पानी र रगत बन्दोबस्त गर्न लागिपरेँ। जति पनि पीडित हुनुहुन्छ, उनीहरू सबै मलाई आफ्नै भाइबहिनी जस्तो लाग्छ। उहाँहरूको अवस्था एकदम नाजुक छ। त्यही देख्न नसकेर म यो अभियानमा लागेकी हुँ।'
उनी घाइतेहरूका घर–घर पुगेर दालचामल, लत्ताकपडासहित आर्थिक सहयोग गरिरहेकी छन्। घाइतेहरूको अवस्था हेरेर २५ हजारदेखि ७५ हजार रूपैयाँसम्म सहयोग गरिरहेको उनी बताउँछिन्।
यसरी आर्थिक सहयोग गर्दा रकम हिनामिनाको आरोप नलागोस् भन्नेमा उनी सतर्क छिन्। त्यही भएर आर्थिक पारदर्शिताका लागि सामाजिक सञ्जालमा भिडिओ बनाएर हालिरहेको उनले जानकारी दिइन्।
'मैले को–कोबाट कति रूपैयाँ लिएँ र क–कसलाई कति रूपैयाँ दिएँ, ती सबैको हिसाब राखेकी छु,' उनले भनिन्, 'सबैलाई सहयोग गरेपछि पूरा हिसाब सार्वजनिक गर्छु।'
यसरी पीडितहरूलाई सहयोग गर्न आफूले सन् २०१९ मै 'ग्रिन एन्ड क्लिन आशिका फाउन्डेसन' खोलेको उनी बताउँछिन्।
यो संस्थाको स्थापना फोहोर व्यवस्थापन निम्ति भएको थियो। बिस्तारै अन्य सामाजिक काममा पनि सरिक हुन थाल्यो। यसअघि उनले यही संस्थामार्फत भुइँचालो, बाढी लगायत विभिन्न प्रकोपका पीडितलाई सहयोग गर्दै आएकी थिइन्।
'म आफै सबै पीडितहरूकहाँ पुग्न नसके पनि मेरो फाउन्डेसन पुगेको छ,' उनले भनिन्, 'मैले सामाजिक कामका लागि भनेर केही बजेट छुट्याएको छु। त्यसबाट ब्याज आउँछ र त्यही रकम सामाजिक काममा लगाउँछु।'
आफ्नो एकल प्रयासबाट यो अभियान सुरू गरेको भए पनि अहिले धेरै व्यक्तिको सहयोग पाइरहेको उनी बताउँछिन्।

जेन–जी आन्दोलनअघि पनि आशिका सधैं चर्चामा रहिन्। कहिले समाजमा भएका बेथितिविरूद्ध खरो रूपमा बोल्थिन्, कहिले बाटोमा फालिएका बोतल वा प्लास्टिकका खोल टिप्दै हिँड्थिन्।
फोहोर फाल्नेहरूलाई हप्काउँथिन् पनि। कतै फोहोर देखिन् भने त्यसबारे बोलिहाल्थिन्।
आशिकाको यो शैलीको आलोचना पनि खुब भयो। कतिले उनको रूखो स्वभावको आलोचना गरे, कतिले यस्तो काम गर्ने अधिकार उनलाई कसले दियो भन्दै प्रश्न गरे।
सामाजिक सञ्जालमा उनी 'ट्रोल' पनि भइन्। त्यसरी ट्रोल गर्नेहरू अहिले माफी माग्दै भनिरहेका छन्, 'सरी दिदी, तपाईंलाई राम्ररी चिन्न सकेका रहेनछौं।'
आफ्नो आलोचनाबारे आशिका भन्छिन्, 'मलाई नौनीजस्तो नरम बोल्न आउँदैन। कसैले नराम्रो काम गर्दागर्दै हजुर भनेर भन्न सक्दिनँ। अत्याचार देखेपछि म शान्त भइरहन सक्दिनँ।'
एक समय आशिकालाई फिल्मको हिरोइन बन्ने रहर थियो। उनले एउटा फिल्म पनि बनाइन् तर फ्लप भयो। संयोग कस्तो भने, अहिले उनलाई धेरैले 'वास्तविक जीवनकी हिरोइन' भनिरहेका छन्।
'सबै जना आफ्नो जीवनका हिरो–हिरोइन नै हुन्। सबैमा त्यो शक्ति हुन्छ, जुन आशिका तामाङमा छ,' उनले भनिन्, 'सबैले आफ्नो शक्ति चिन्न सक्नुपर्यो। सत्य बोल्नुपर्यो। काम गर्ने ठाउँमा काम गर्नुपर्यो। त्यो बुझ्नुभयो भने तपाईंको जीवन सुन्दर हुन्छ।'
हेर्नुहोस् आशिका तामाङसँगको भिडिओ कुराकानी —