करण जोहर बलिउड फिल्म क्षेत्रका चर्चित निर्माता तथा निर्देशक हुन्।
उनले थुप्रै स्टार किड्सलाई लन्च गरेका छन्। जसमा आलिया भट्ट, वरूण धवन, जान्हवी कपूर, अनन्या पाण्डेलगायत सामेल छन्। करणमाथि नेपोटिज्मको आरोप पनि लागिरहन्छ।
अब उनी अर्का स्टार किडलाई लन्च गर्दैछन्। ती हुन् सैफ अली खानका छोरा इब्राहिम अली खान।
करणले आफ्नो सामाजिक सञ्जालमा इब्राहिम अली खानको केही तस्बिर सार्वजनिक गर्दै उनको डेब्यूको घोषणा गरेका हुन्।
'इब्राहिम अली खान तपाईहरूको दिलमा आफ्नो खास ठाउँ बनाउन छिट्टै आउँदैछन्,' करणले लेखेका छन्।
इब्राहिम सैफ र उनकी पूर्व पत्नी तथा अभिनेत्री अमृता सिंहका छोरा हुन्। सारा अली खान इब्राहिमकी दिदी हुन्। साराले बलिउडमा प्रवेश गरेर आफ्नो ठाउँ बनाइसकेकी छन्।
इब्राहिम आफ्ना बुवा सैफ जस्तै देखिन्छन्। सामाजिक सञ्जालमा बेलाबेला जवान सैफका तस्बिरसँग इब्राहिमको तस्बिर राखेर उनीहरूको समान अनुहारको चर्चा पनि हुन्छ।