बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म 'एनिमल' ले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।
फिल्मको चर्चासँगै आलोचना पनि भएको थियो। कतिपय दर्शकले फिल्म खुब रूचाएका थिए भने कतिपयले हिंसात्मक रहेको भन्दै आलोचना गरेका थिए। सन्दीप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा अभिनेता रणवीर कपूर मुख्य भूमिकामा छन्। तर यस फिल्मका लागि रणवीर पहिलो रोजाइ होइनन्।
सन्दीपको पहिलो रोजाइ थिए दक्षिण भारतीय अभिनेता महेश बाबु। सन्दीप यो फिल्म तमिलमा बनाउन चाहन्थे। रणवीरलाई फिल्म अफर गरेपछि मात्रै उनले हिन्दी संस्करणमा फिल्म बनाउने योजना बनाएका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार महेश बाबूले डार्क थिम भएको कारण फिल्म छाडेका हुन्। उनी चक्लेटी ब्वाईको रूपमा परिचित छन्। डार्क फिल्ममा अभिनय गर्दा दर्शकले स्वीकार गर्न नसक्ने उनको अनुमान थियो। उनले फिल्मको स्क्रिप्टमा केही परिवर्तन गर्न सुझाव दिएका थिए।
सन्दीपले फिल्मको स्क्रिप्ट परिवर्तन गर्न अस्वीकार गर्दै रणवीरलाई फिल्म प्रस्ताव गरे। महेश बाबुलाई फिल्म प्रस्ताव गर्दा 'डेविल' नाम राखिएको थियो।
उनले फिल्मको प्रस्ताव अस्वीकार गरेपनि प्रचारप्रसारमा साथ दिएका थिए। फिल्म रिलिजअघि हैदरावादमा गरिएको फिल्मको कार्यक्रममा उनी सहभागी भएका थिए।
फिल्ममा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन्।