बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म 'टाइगर ३' को कमाइ लगातार घटिरहेको छ।
सुरूवातमा राम्रो कमाइ गरेपनि पाँचौं दिनमा आइपुग्दा फिल्म घरेलु बक्स अफिसमा कमजोर देखिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले पाँच दिनमा १८४ करोड ५० लाख भारू कमाएको छ।
नोभेम्बर १२ मा प्रदर्शन भएको फिल्मले पहिलो दिन ४४ करोड ५० लाख भारू कमाएको थियो। दोस्रो दिन ५८ करोड कमाएको फिल्मले तेस्रो दिन ४३ करोड ५० लाख, चौथो दिन २० करोड र पाँचौ दिन १८ करोड ५० लाख भारू कमाएको हो। यो हिन्दी संस्करणको मात्रै कमाइ हो।
'टाइगर ३' ले तमिल र तेलुगु संस्करणमा पहिलो दिन १ करोड ५० लाख, दोस्रो दिन १ करोड २५ लाख, तेस्रो दिन १ करोड २५ लाख र चौथो दिन ७५ लाख भारू कमाएको छ।
भारतमा चलिरहेको आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको कारण फिल्मको कमाइमा गिरावट आएको फिल्मकर्मीले बताएका छन्।
यो यशराज फिल्म्सको स्पाइ युनिभर्सको फिल्म हो।
आदित्य चोपडाको लगानी रहेको फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन्। फिल्ममा सलमान खान, कट्रिना कैफ र इमरान हासमीको मुख्य भूमिका छ। फिल्ममा इमरान खलनायकको भूमिकामा देखिएका छन्। फिल्मको कथा आदित्य चोपडाले तयार पारेका हुन्।