नीरज घायवान निर्देशित फिल्म 'होमबाउन्ड' यसपटक अस्करका लागि भारतको आधिकारिक प्रवेशका रूपमा छानिएको छ।
सन् २०२६ को एकेडेमी अवार्डमा 'उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर' विधातर्फ यो फिल्म मनोनयनमा परेको हो।
निर्माता कम्पनी धर्मा प्रोडक्सनले यसको पुष्टि गर्दै भनेको छ, 'यो फिल्मले भारतको प्रतिनिधित्व गर्ने कुरामा हामीलाई गर्व छ।'
'होमबाउन्ड' मा जाह्नवी कपुर, इशान खट्टर र विशाल जेठवा मुख्य भूमिकामा छन्। यो फिल्म यसअघि पनि थुप्रै फेस्टिभलमा पुगेको छ। जसमध्ये कान्स फिल्म फेस्टिभलमा यसले ९ मिनेटसम्म ताली पाएको थियो।
फिल्मका निर्देशक नीरज घायवानको पनि खुब प्रशंसा भइरहेको छ।
भारतका तर्फबाट अस्करमा प्रवेशका लागि फिल्म फेडेरेसन अफ इन्डियालाई कुल २४ फिल्मका आवेदन प्राप्त भएका थिए। जसमा १० हिन्दी, ६ मराठी, ५ तेलुगु, १ कन्नड, १ मणिपुरी र १ साइलेन्ट फिल्म प्रतिस्पर्धामा थिए।
'होमबाउन्ड' उत्तर भारतका ग्रामीण इलाकाहरूमा छायांकन गरिएको हो। यसमा मुस्लिम र दलित पात्रहरूको दैनिक संघर्ष र साना–साना खुसीहरूलाई सूक्ष्म रूपमा देखाइएको जनाइएको छ।