दक्षिण भारतीय फिल्म क्षेत्रका चर्चित अभिनेता हुन् महेश बाबु। उनले आफ्नो बाबु कृष्णको नाममा फाउन्डेसन खोलेका छन्। उनको बाबु कृष्ण तमिल फिल्म क्षेत्रका चर्चित अभिनेता हुन्।
उनले शिक्षाका लागि फाउन्डेसन खोलेका छन्। फाउन्डेसन सञ्जालनमा उनलाई उनकी श्रीमती नम्रता शिरोडकरले साथ दिइरहेकी छन्। उनीहरूले मुटुसम्बन्धी बिरामी भएका बालबालिकाहरूको शिक्षाको लागि यो फाउन्डेसन सञ्चालन गरेका हुन्। महेशको छोरा गौतम पनि मुटुसम्बन्धी बिरामी भएका थिए।
यो फाउन्डेसनमा ४० जना बालबालिकाहरूलाई छात्रवृत्ति दिइनेछ। छात्रवृत्ति पाएका बालबालिकाले स्नातकोत्तरसम्म पढ्न पाउनेछन्। उनले योबाहेक धेरै परोपकारी काम गरिसकेका छन्। उनले आफ्नो पारिश्रमिक ३० प्रतिशत रकम आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्छन्। तर उनी आफूले गरेको परोपकारी सहयोगलाई दर्शकसामू देखाउन रूचाउँदैनन्। यही स्वभावको कारण उनी फिल्ममा मात्र नभई वास्तविक हिरोको रूपमा परिचित छन्।
कृष्णाको सन् २०२२ मा ८० वर्षको उमेरमा निधन भएको थियो। महेशले कृष्णलाई याद गर्दै फोटो सेयर गरेका छन्।
महेश पछिल्लो समय नयाँ फिल्मको तयारीमा रहेका छन्। उनी त्रिविक्रम श्रीनिवास र एसएस राजामौलीसँग नयाँ प्रोजेक्टमा देखिँदैछन्। उनले अभिनय गरेका थुप्रै फिल्महरू हिट छन्।
महेश 'नीडा' बाट बालकलाकारका रूपमा फिल्मी दुनियाँमा प्रवेश गरेका थिए। आठ वटा फिल्ममा बालकलाकारकै रूपमा अभिनय गरेका उनले 'राजाकुमारुडू' बाट जीवनकै पहिलो अवार्ड पनि जिते।
महेश बाबुले सन् २००३ को फिल्म 'ओक्काडू' मा कबड्डी खेलाडीको भूमिका निर्वाह गरेका थिए। यसलाई तेलुगूको सबभन्दा हिट फिल्ममध्ये मानिन्छ।
यसको दुई वर्षपछि 'अथाडु' ले पनि कमाइको सबै रेकर्ड तोडदियो। यसपछि उनले लगातार हिट फिल्म दिइराखे। 'मुरारी', 'पोकिरी', 'ननेक्कोडाइन', 'सरिमंथुडू', 'व्यापारी', 'सीथम्मा वकितलो सरिमल्ले चेट्टू' जस्ता फिल्मपछि महेश बाबुले अन्तर्राष्ट्रिय चर्चा पाए।