बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म 'टाइगर ३' ले घरेलु बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ।
हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले घरेलु बक्स अफिसमा तीन दिनमा १४४ करोड ५० लाख भारू कमाएको छ।
नोभेम्बर १२ मा प्रदर्शन भएको फिल्मले पहिलो दिन ४४ करोड ५० लाख भारू कमाएको थियो। दोस्रो दिन ५८ करोड कमाएको फिल्मले तेस्रो दिन ४३ करोड ५० लाख भारू कमाएको हो।
योसँगै 'टाइगर ३' तीन दिनमा सर्वाधिक कमाइ गर्ने तेस्रो हिन्दी फिल्म बनेको छ। शाहरूख खानको 'जवान' ले तीन दिनमा १८० करोड ४५ लाख भारू कमाएको थियो भने 'पठान' ले १६१ करोड कमाएको थियो। यो हिन्दी संस्करणको मात्रै कमाइ हो।
'टाइगर ३' ले तमिल र तेलुगु संस्करणमा पहिलो दिन १ करोड ५० लाख, दोस्रो दिन १ करोड २५ लाख र तेस्रो दिन १ करोड २५ लाख भारू कमाएको छ।
यो यशराज फिल्म्सको स्पाइ युनिभर्सको फिल्म हो।
आदित्य चोपडाको लगानी रहेको फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन्। फिल्ममा सलमान खान, कट्रिना कैफ र इमरान हासमीको मुख्य भूमिका छ। फिल्ममा इमरान खलनायकको भूमिकामा देखिएका छन्। फिल्मको कथा आदित्य चोपडाले तयार पारेका हुन्।