यतिबेला दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना चर्चामा छिन्। उनी 'डिपफेक' भिडिओका कारण चर्चामा आएकी हुन्।
सन् २०१६ बाट कन्नड फिल्म 'किरिक पार्टी' बाट अभिनय सुरू गरेकी रश्मिकाले हालसम्म २० वटा फिल्ममा काम गरेकी छन्। जसमा उनको १३ फिल्म हिट छन्।
उनको डेब्यू फिल्म 'किरिक पार्टी' ले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। ४ करोडमा बनेको फिल्मले ५० करोड भारू कमाएको थियो। यो फिल्म सन् २०१६ मा सबैभन्दा धेरै कमाउने कन्नड फिल्म बनेको थियो।
यसपछि उनी 'अञ्जनीपुत्र, चमक, चलो, गीता गोविन्दम, यजमान, सरिलेरू निकेवरू, भीष्म, पोगारू, सुल्तान, सीता रामम र वरिसु' जस्ता फिल्ममा देखिन्।
उनको दक्षिण भारतीय फिल्म 'गीता गोविन्दम' र 'डियर कमरेड' खुब रूचाइएको थियो। उनी फिल्म 'पुष्पाः द राइज' पछि निकै चर्चामा आइन्। टलिउडमा जमेकी उनको चर्चा 'पुष्पा' ले पूरा भारतभर फैलायो।
उनले सन् २०२२ मा फिल्म 'गुडबाय' बाट बलिउडमा डेब्यू गरिन्। यो फिल्मले भने व्यापारिक सफलता पाउन सकेन
रश्मिकालाई नेशनल क्रश पनि भनिन्छ। उनलाई २०२० मा गुगलले नेशनल क्रश घोषित गरेको थियो। उनी छोटो समयमै चर्चा पाउने अभिनेत्री पनि हुन्। उनै रश्मिका एक फिल्मबाट ३ देखि ४ करोड भारू पारिश्रमिक लिन्छिन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनको कुल सम्पत्ति ४३ करोड भारू छ। उनको कर्नाटक, मुम्बई, हैदराबाद र गोवामा घर छन्। साथै उनीसँग १ करोड भारूसम्मका ४ वटा गाडी समेत छन्। उनले फिल्म क्षेत्रबाटै ४३ करोड भारू कमाएकी हुन्।
रश्मिका आगामी फिल्म 'एनिमल' प्रदर्शनको पर्खाइमा छिन्। फिल्म डिसेम्बर १ देखि प्रदर्शन हुँदैछ।