बलिउड अभिनेता रणवीर सिंहले एक पार्टीमा डिजे गरेका छन्।
उनले गतबिहीबार अभिनेता शाहरूख खानको ५८ औं जन्मदिनको पार्टीमा डिजे गरेका हुन्। पार्टीमा उनले शाहरूखकै फिल्मका चर्चित गीत बजाएका थिए। उनले 'चलेया, जिन्दा बन्दा, लुंगी डान्स' जस्ता शाहरूखका हिट गीत बजाएका हुन्।
उनले गीत बजाउँदा दीपिका पादुकोण पनि नाचेकी थिइन्। रणवीरलाई भारतीय चर्चित गायक मिका सिंहले साथ दिएका थिए।
यतिबेला सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भइरहेको छ। डिजे मनिष खत्रीले आफ्नो इन्स्टाग्राममा रणवीरले डिजे गरेको भिडिओ सार्वजनिक गरेका थिए।
शाहरूखको जन्मदिनको पार्टीमा अभिनेता रणवीर कपूर, आलिया भट्ट, करीना कपूर खान, करिश्मा कपूर, दीपिका पादुकोणलगायत उपस्थित थिए।
अभिनेता रणवीर सिंह आगामी फिल्म 'सिंघम अगेन' र 'डन ३' मा देखिँदैछन्। 'सिंघम अगेन' मा दीपिका पादुकोण, टाइगर श्राफ, अजय देवगन, अक्षय कुमारलगायत कलाकारको अभिनय छ।
बलिउडका किंग खान भनेर परिचित हुन शाहरूखले निकै संघर्ष गरेका छन्। उनलाई बाल्यकालमा खेलकुदमा रूचि थियो। उनले फुटबलमा राम्रो प्रदर्शन गरेको भन्दै विभिन्न अवार्ड समेत जितेका छन्। उनी खेलाडी बन्न चाहन्थे तर एक खेलमा उनको काँधमा चोट लागेपछि डाक्टरले उनलाई खेलकुद छाड्न सल्लाह दिएका थिए।
खेल छाडेपछि उनी दिल्लीको एक थिएटरमा आबद्ध भए। उनले सन् १९८९ मा राजकुमार कपूर निर्देशित शो 'फौजी' बाट अभिनय यात्रा सुरू गरेका थिए। शाहरूखले सन् १९९१ मा 'दिवाना' बाट बलिउड फिल्ममा डेब्यू गरेका हुन्।
सन् १९०१ देखि शाहरूखले ७८ वटा फिल्ममा अभिनय गरिसकेका छन्। सन् २०१८ मा उनको फिल्म 'जिरो' बक्स अफिसमा फ्लप भएको थियो। यो फिल्म फ्लप भएपछि उनले ४ वर्षपछि 'पठान' मार्फत कमब्याक गरेका हुन्। यो वर्ष शाहरूखका 'पठान' र 'जवान' बक्स अफिसमा हिट भयो। दुई फिल्मले विश्वभरबाट २२ अर्ब भारू कमाएको छ।
अब उनी फिल्म 'डंकी' प्रदर्शनको पर्खाइमा छन्।