बलिउड अभिनेता शाहरूख खानका फिल्मले यो वर्ष झन्डै २२ अर्ब भारू कमाएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार सन् २०२३ मा रिलिज भएका उनको फिल्म 'पठान' र 'जवान' ले विश्वभरबाट २१ अर्ब ९६ करोड कमाएको हो। 'पठान' ले १० अर्ब ५० करोड भारू कमाएको थियो भने 'जवान' ले ११ अर्ब ४६ करोड भारू कमाएको छ।
७ सेक्टेम्बरदेखि प्रदर्शन भइरहेको फिल्म 'जवान' ले हलमा राम्रो कारोबार गरिरहेको छ। यो फिल्मले ५६ दिनमा भारतीय बक्स अफिसमा ६४२ करोड ५७ लाख भारू कमाएको छ। यो ६०० करोड क्लबमा सामेल हुने पहिलो हिन्दी फिल्म हो।
यी दुवै फिल्म भारतको सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्मको दोस्रो र तेस्रो नम्बरमा छ। पहिलो नम्बरमा आमिर खानको 'दंगल' छ।
यसवर्ष शाहरूखको सम्पत्ति १३ अर्ब भारू बढेको छ। अब उनी ६४ अर्ब ११ करोड भारूका मालिक भएका छन्। गतवर्ष उनको सम्पत्ति ५१ अर्ब १६ करोड भारू थियो। 'जवान' र 'पठान' को सफलताले उनको सम्पत्ति बढेको हो। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार उनले यशराज प्रोडक्सनको फिल्म 'पठान' बाट ६० प्रतिशत नाफा सेयर र १०० करोड भारू पारिश्रमिक लिएका थिए। त्यस्तै उनले 'जवान' बाट पनि ६० प्रतिशत नाफा र १०० करोड भारू पारिश्रमिक लिए।
योसँगै उनी संसारकै धनी अभिनेताहरूको सूचीमा चौथो स्थानमा छन्। टम क्रुज, ज्याकी च्यान र आर्नाेल्ड श्वाजनेगरलाई पछि पार्दै उनी संसारको चौथो धनी अभिनेता बनेका हुन्। शाहरूखभन्दा अगाडि जेरी सिनफिल्ड, टायलर पेरी र ड्वेन जोन्सन छन्।
एटली कुमारले निर्देशन गरेको फिल्म 'जवान' मा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोण, सान्या मल्होत्रा, प्रियमणिलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।
सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म 'पठान' मा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका छ। फिल्ममा सलमान खानको अतिथि भूमिका छन्।
अब उनी राजकुमार हिरानी निर्देशित फिल्म 'डंकी' प्रदर्शनको पर्खाइमा छन्।