बलिउड अभिनेता शाहरूख खानको जन्मदिनको अवसर पारेर फिल्म 'जवान' ओटिटीमा रिलिज गरिएको छ।
बुधबार राति १२ बजे ओटिटी प्लेटफर्म नेटफ्लिक्समा फिल्म रिलिज गरिएको हो। ७ सेक्टेम्बरदेखि प्रदर्शन भएको फिल्मले हलमा पनि राम्रो कारोबार गरिरहेको छ।
यो फिल्मले ५६ दिनमा भारतीय बक्स अफिसमा ६४२ करोड ५७ लाख भारू कमाएको छ। यो ६०० करोड क्लबमा सामेल हुने पहिलो हिन्दी फिल्म हो। फिल्मले विश्वभरबाट ११४६ करोड भारू कमाएको छ।
यो फिल्मको बजेट ३०० करोड भारू बताइएको छ।
एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोण, सान्या मल्होत्रा, प्रियमणिलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।
फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन्। जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।