भारतीय टेलिशृंखला अभिनेत्री उर्फी जावेदलाई ज्यान मार्ने धम्की आएको छ। सामाजिक सञ्जालमा स्टाटस लेख्दै उर्फीले आफूलाई ज्यान मार्ने धम्की आएको जानकारी दिएकी हुन्।
सन् २००७ मा फिल्म 'भूलभूलैया' मा अभिनेता राजपाल यादवले पण्डितको भूमिका निभाएका थिए। यादवले यही भूमिकाबाट विभिन्न अर्वाड पनि पाएका थिए। उर्फीले पनि राजपालको पण्डित पात्रलाई नक्कल गरेकी थिइन्।
राजपालले जस्तै उर्फीले कानमा अगरबत्ती राखेकी छन् भने घाँटीमा माला लगाएकी छन्। साथै पहेँलो लुगामा सजिएकी उनले नाकको मुनि कालो धर्कोले जुँगा जस्तै बनाएकी छन्। पण्डितको गेटअपमा सजिएको उक्त भिडिओ उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। यसपछि उनलाई विभिन्न प्रकारको मजाक गरिएको प्रतिक्रिया आयो। साथै उनलाई इमेलमा एक अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन्।
पछिल्लो समय उर्फी पहिरनको कारण चर्चामा आउँछिन्। अतरंगी पहिरनका कारण उनको चर्चासँगै ट्रोल पनि हुने गरेको छ। पहिरनको कारण सामाजिक सञ्जालमा ट्रोल बन्दै आएकी उनलाई पहिलोपटक ज्यान मार्ने धम्की आएको हो।
उनलाई इमेल मार्फत अपरिचित व्यक्तिले 'हिन्दु भगवानको मजाक गरेकोले भिडिओ डिलिट गर्ने भए गर नत्र तलाई मारिदिन धेरै समय लाग्दैन' भन्दै म्यासेज पठाएका छन्।
उक्त म्यासेजपछि उर्फी डराएकी छन्। यसबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, 'म यो देश महान देखेर स्तब्ध छु, मैले फिल्मको एउटा पात्रलाई पुन:निर्माण गर्दा ज्यान मार्ने धम्कीहरू पाइरहेकी छु।'
सन् २०१६ मा ‘बडे भैयाकी दुल्हन’ बाट डेब्यु गरेकी उर्फीले चन्द्र नन्दनी, मेरी दुर्गा, बेपनहा, जीजी माँ, ए रिस्ता क्या कहलाता हे, कसौटी जिन्दगीकी जस्ता टेलिशृंखलामा काम गरेकी छन्।