झरना थापाको लेखन र निर्देशनमा बनेको फिल्म 'एक भागवत र एक गीता' शुक्रबारदेखि प्रदर्शनमा आएको छ।
प्रदर्शनअघि नै यो फिल्मले निकै चर्चा पाएको थियो। कारण — फिल्ममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथा उठान गर्नु र अभिनेता विपीन कार्की पारलैंगिक महिला (ट्रान्सवुमन) को भूमिकामा देखिनु।
फिल्मको पोस्टर, टिजर र ट्रेलर सार्वजनिक भएसँगै अन्य कलाकारलाई विपीन कार्कीले छायामा पारेको समेत चर्चा भयो। तर हलसम्मको यात्रा तय गर्न यो फिल्मलाई चर्चाजस्तो सहज भएन।
छायांकनमा जानुअघि फिल्मको नाम 'भगवत् गीता' थियो। अन्तरजातीय प्रेमकथामा आधारित फिल्मको नाम 'भगवत् गीता' राख्दा धार्मिक भावनामा चोट पुग्ने बताउँदै केही धार्मिक संगठनले आपत्ति जनाए। अनि फिल्मको नाम 'एक भगवत् गीता' राख्दै छायांकन र प्रचार गरियो।
प्रदर्शन हुनै लाग्दा उही विवाद दोहोरियो। अहिले फिल्म 'एक भागवत र एक गीता (सामाजिक कथा)' नाममा प्रदर्शन भइरहेको छ।
यो फिल्म कुनै धार्मिक आस्था वा ग्रन्थसँग सम्बन्धित भने छैन। भागवत र गीता फिल्मका दुई पात्रको नाम हो। जसमा भागवत पात्रको भूमिकामा जेभिस र जेभिन श्रेष्ठ देखिएका छन्। गीता पात्रको भूमिकामा सुहाना थापा देखिएकी छन्।
निर्देशक झरना थापाले एक बालक भागवत यादवको माध्यमबाट फिल्मको कथा भन्ने प्रयास गरेकी छन्।
विद्यालय पढ्दै गरेका भागवतलाई शृंगारमा रूचि छ। छोराको रूपमा जन्म लिएका भागवतको रूचिलाई न समाजले स्वीकार गर्न सक्छ, न परिवारले।
फिल्मको मुख्य सार यही नै हो।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथा उठान गर्नु यो फिल्मको बलियो र तारिफयोग्य पक्ष हो। नेपाली फिल्महरूमा पारलैंगिक महिला वा पुरूषलाई प्रायः हाँसोको पात्रका रूपमा मात्र चित्रण गरेको पाइन्छ। यसअघि निर्देशक थापाको फिल्म 'ए मेरो हजुर २' र 'ए मेरो हजुर ३' मै पनि पारलैंगिक महिला पात्रलाई मजाकका रूपमा प्रस्तुत गरिएको थियो।
यस फिल्ममार्फत भने थापाले लैंगिक विभेदलाई सुक्ष्म रूपमा हेर्ने प्रयास गरेकी छन्। तर फिल्म त्रुटिरहित हुन सकेको छैन।
फिल्ममा एक दृश्य छ — गुरूङ जातिको मेलामा केही युवकहरूले भागवतलाई चोलो, घलेक र लुंगीमा सजिएको देखेर तिमी केटा हो कि केटी भनेर जिस्क्याउँछन्।
त्यति बेलै धिरज मगर आएर भन्छन्, 'जे भए पनि तिमीहरूलाई के मतलब? तिमीहरूलाई विद्यालयमा शिक्षकले यस्तै सिकाउँछन्?'
यतिसम्म संवाद सन्दर्भमै हुन्छ। तर यही संवाद तन्काउँदै धिरज जातीय समानतामाथि बोल्न थाल्छन्। लैंगिक विभेदको प्रसंग उठिरहँदा, यसै सन्दर्भमा बलिया तर्क र संवाद दिन सकिन्थ्यो। तर त्यो ज्ञान र स्पष्टता दुवै अभाव देखिन्छ। समानताबारे जानकारी दिन लैंगिकतामा केन्द्रित हुन नसकेको जस्तो लाग्छ। फिल्मको उक्त दृश्यसँग मेल नखाएको संवादका कारण दिन खोजिएको सन्देश पनि धमिलो लाग्छ।
फिल्मको कथामा प्रवेश गर्न पनि धेरै समय खर्चिएको छ। पहिलो हाफमा यति धेरै गीत छन् कि, कथा अगाडि नै बढ्दैन। दोस्रो हाफमा भने फिल्म अलि गति लिन्छ तर क्लाइमेक्स सन्तोषजनक छैन।
निर्देशक थापा फिल्म ल्यान्ड गर्न अलमलिएको महसुस हुन्छ। फिल्ममा अन्तरजातीय प्रेमकथा पनि देखाउने प्रयास गरिएको छ। तर बलियो रूपमा प्रस्तुत गर्न सकिएको छैन।
शीर्ष पात्र बनेकी अभिनेत्री सुहाना थापाको भूमिका कमजोर देखिन्छ। फिल्मको नाममै जोडिए भए पनि 'गीता' पात्रको योगदान महत्वपूर्ण छैन। तर उनी पर्दामा भने देखिरहन्छिन्।
कमला माई बनेका अभिनेता विपीन कार्की पनि ट्रेलरमा जति दमदार देखिएका थिए, फिल्ममा त्यति सशक्त देखिँदैनन्। अर्का अभिनेता धिरज मगरको भूमिका छोटो छ। फिल्ममा उनको अभिनय औसत छ।
'लम्फू' र 'गुञ्जन' जस्ता फिल्ममा नायकको रूपमा देखिएका कवीर खड्का यस फिल्ममा खलनायक बनेका छन्। उनले भने खलनायकको भूमिकालाई न्याय गरेका छन्। अनुराग कुँवर र संजोग रसाइलीले पनि खलनायकको भूमिका राम्रोसँग निर्वाह गरेका छन्।
यो फिल्मको अर्को बलियो पक्ष छायांकन हो। जनकपुरधाम परिसरदेखि पहाडी भेगको सुन्दर दृश्य देखाउने राम्रो प्रयास गरिएको छ।
बलियो विषयवस्तु भएपनि कमजोर पटकथाका कारण यो फिल्म औसत बन्न पुगेको छ।