फिल्म 'होस्टेल–३' शुक्रबारदेखि देशभरका हलहरूमा प्रदर्शनरत छ। आइतबारसम्म फिल्मले राम्रै व्यापार गरेको छ।
यो फिल्म के कस्तो छ भन्नेबारे चर्चा गर्नुअगाडि 'होस्टेल' का अघिल्ला शृंखलाबारे थोरै चर्चा गरौं।
सन् २०१३ मा होस्टेल रिलिज हुँदा त्यति बेला दर्शकका लागि नयाँ थिए, अनमोल केसी। अघिल्ला पुस्ताका कलाकारहरूलाई हेर्दै आएका दर्शकले त्यसमा नयाँ अनुहार पाएका थिए। जब फिल्म रिलिज भयो, यसको कथामा पनि दर्शकले नयाँ स्वाद पाए।
विशेषगरी प्लस–टु र स्नातकका नयाँ विद्यार्थीको उमेर समूहले आफ्नो स्वादको कथा भेटेको थियो।
अभिनेताका रूपमा अनमोलले पहिलो फिल्मबाटै लोभलाग्दो स्टारडम कमाए। उनी मात्र होइन, यो फिल्मबाट सलोन बस्नेत, गौरव पहारी, प्रकृति श्रेष्ठ लगायत कलाकारहरू पनि रूचाइए।
फिल्म सफल भएपछि सन् २०१५ मा दोस्रो शृंखला आयो — होस्टेल रिटर्न्स।
यो पनि त्यस बेला अधिकांश नयाँ अनुहारहरू लिएर बनाइएको थियो। जसमध्ये स्वस्तिमा खड्का अहिलेकी सर्वाधिक व्यस्तमध्येकी कलाकारमा पर्छिन्। नाजिर हुसेन, सुशील श्रेष्ठ र सुशील सिटौलाले पनि यही पहिलो फिल्मबाटै चर्चा पाएका थिए।
यसरी हेर्दा होस्टेल स्टार कलाकारहरू जन्माउने फिल्म शृंखला बनेको छ भन्दा फरक पर्दैन। हुन पनि होस्टेल शृंखलाको सबभन्दा सकारात्मक पक्ष नै नयाँ कलाकारहरू लिएर फिल्म बनाउने देखिएको छ।
यसपालि होस्टेल–३ मा पनि शीर्ष भूमिकामा सबैजसो अनुहारहरू नयाँ छन्। यसका कलाकार मात्र नभएर निर्देशक सशान कँडेल पनि नयाँ हुन्।
नयाँ निर्देशक, नयाँ अनुहारहरूको अभिनय रहेको होस्टेल-३ कस्तो छ त? यो अघिल्ला शृंखलाभन्दा कति भिन्न छ? यसबाट उदाएका कलाकारहरूले अभिनयमा कत्तिको सम्भावना देखाए?
होस्टेल मेडिकल पढ्ने विद्यार्थीहरूको होस्टेल जीवनको कथामा बनेको थियो। होस्टेल रिटर्न्स इन्जिनियरिङ कलेजका विद्यार्थीको कथामा बनाइयो।
होस्टेल–३ आइटी कलेज पढ्ने विद्यार्थीहरूको होस्टेल जीवनको कथामा बनेको छ। यसको 'फ्लेवर' होस्टेलका अघिल्ला शृंखलाजस्तै लाग्छ। साथीहरूबीचको मित्रता, झगडा, प्रेम, बिछोड र उतारचढावकै कथा छ।

कलेजका अघिल्लो र पछिल्लो ब्याचका विद्यार्थीबीचको द्वन्द्वको कथा यसमा पनि निरन्तरता दिइएको छ। कथावाचन भने यसपालि वर्तमान र विगतलाई समेट्दै अगाडि बढाइएको छ।
विभिन्न ठाउँबाट आएका विद्यार्थीहरू होस्टेल बसेर कलेज पढ्छन्।
सत्यप्रकाश (पारस बम ठकुरी –कुल ब्वाइ), जितहाङ (पदम तामाङ), शिव (आशिष घिमिरे) र मानव (रिहान गिरी) सुरूबाटै साथी बन्छन्। उनीहरूकै ब्याचमा हुन्छन् निशा (सिम्रन पन्त), सहाना (हेना नगरकोटी) र दीया (समा पराजुली)।
पढाइमा तेज, निडर, सहयोगी भावनाका सत्यप्रकाश प्रेमको सन्दर्भमा टाढै रहन चाहन्छन्। कलेज आएपछि निशाले उनलाई देख्नेबित्तिकै मन पराउँछिन्। म्यासेज गर्न थाल्छिन्, कलेजमा पछ्याउँछिन्। बिस्तारै उनले सत्यप्रकाशको मन जित्छिन्।
कथा अगाडि बढ्दै जाँदा एउटा यस्तो घटना हुन्छ, जसले मोड नै बदलिदिन्छ। त्यसपछि विभिन्न रहस्य खोतल्दै कथा अगाडि बढ्छ।
मध्यान्तर अगाडिको भागलाई 'इन्टरटेनिङ' बनाउन बढी समय दिइएको जस्तो लाग्छ। मध्यान्तरपछि 'ट्विस्ट एन्ड टर्न' लाई प्राथमिकता दिइएको छ।
कलेज र होस्टेल जीवनको कथा दर्शकका लागि नयाँ होइन। यस्ता विषयवस्तुमा थुप्रै फिल्म बनिरहेका छन्। त्यसैले पनि होस्टेल-३ हेरिरहँदा धेरैलाई अन्य फिल्मको झल्को समेत आउन सक्छ। तैपनि फिल्म र कथालाई रोचक बनाउन केही नयाँपन र सस्पेन्सले काम गरेको छ।
तर फिल्म अलि तन्काइएको छ। सायद, 'ह्याप्पी इन्डिङ' मै पुर्याएर छाड्ने निर्देशकको जबर्जस्त प्रयत्नले फिल्म लामो बनेको हुन सक्छ।
कलाकारहरू नयाँ भए पनि अभिनयमा खोट लगाउने त्यस्तो ठाउँ देखिँदैन। सबैजसो कलाकारले अभिनयमा सम्भावना देखाएका छन्। पारस बम ठकुरी (कुल ब्वाइ), सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, रिहान गिरी, हेना नगरकोटी सबैको अभिनय नराम्रो छैन।
खलपात्रको भूमिकामा सन्तोष बानियाँको काम पनि राम्रो छ। अन्तरनिहित पात्रको भूमिकामा उमर खान सुहाएका छन्। थोरै बोल्ने तर अनुहारबाटै धेरै कुरा भन्ने उनको अभिनय गज्जब लाग्छ।
कथावस्तुमा केही कमजोरी नभएको होइन। सिनियर भएकै आधारमा जुनियर विद्यार्थीलाई हेप्ने, नमस्कार गर्न लगाउने जस्ता गतिविधि अलि अतिरञ्जित जस्तो लाग्छ।
पछिल्लो समय फिल्ममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथा आउन थालेका छन्। यो आफैमा सुखद कुरा हो। होस्टेल ३ मा समलिंगी पुरूषको एकोहोरो प्रेम देखाइएको छ। यद्यपि सो पात्रको कथा समापन सही तरिकाले प्रस्तुत गर्नमा निर्देशक चुकेको देखिन्छ।
फिल्ममा अर्को एउटा दृश्य छ, जहाँ एक पात्रको मृत्यु हुन्छ। उक्त घटना देखाउँदा लेखक तथा निर्देशकले कानुनको राम्रो अध्ययन नगरेझैं लाग्छ।
खिचाइ, लोकेसन, फ्रेमिङ, लाइट, कलर, ब्याकग्राउन्ड स्कोर पक्ष राम्रै छ। संगीत आकर्षक नलागे पनि खराब लाग्दैनन्। तर संगीतले कथालाई अगाडि बढाउन मद्दत गरेको देखिँदैन।

होस्टेल नयाँ–नयाँ सम्भावना बोकेका कलाकार भित्र्याउनमा यसपालि पनि सक्षम देखिएको छ। यसलाई फिल्मकै सबभन्दा सबल पक्षका रूपमा लिन सकिन्छ।
यसमा नयाँ कलाकार लिँदा पनि निर्माता/निर्देशकले राम्रै सोचविचार गरेको देखिन्छ।
पश्चिम क्षेत्रबाट टिकटकमा चर्चित पारस बम ठकुरी (कुल ब्वाइ), सिक्किमका चर्चित कलाकार पदम तामाङ, भ्वाइस अफ नेपालबाट चम्किएका भुटानका रिहान गिरीलाई डेब्यु गराउनुमा निर्माता/निर्देशकको राम्रै तयारी देखिन्छ। फरक फरक भूगोल र क्षेत्रबाट कलाकार लिँदा फरक क्षेत्रका दर्शकमा पनि फिल्मप्रतिको आकर्षण बढ्न सक्छ। त्यसको प्रभाव पनि हलमा देखिएको हुनुपर्छ।
पछिल्ला वर्ष सम्भावना बोकेका नयाँ कलाकारको खडेरी देखिएको समयमा होस्टल–३ बाट उदाएका कलाकारहरूले सम्भावना देखाएका छन्। यद्यपि कति सफल हुन्छन्, त्यो उनीहरूकै आगामी मेहनतमा भर पर्छ।
त्यस्तै होस्टेल–३ बाट फिल्म क्षेत्रले सम्भावना बोकेको नयाँ निर्देशक समेत पाएको छ।
समग्रमा होस्टेल–३ आँखालाई नबिझाउने फिल्म हो। मनोरन्जनका हिसाबले हेरून्जेल रमाइलै लाग्छ। विशेषगरी नवयुवा पुस्ताले यसलाई रूचाएका सामाजिक सञ्जालहरूमा पनि देख्न सकिन्छ। यसर्थ यसलाई पैसा असुल फिल्म मान्न सकिन्छ।
तीन दिन राम्रै व्यापार गरेको होस्टेल–३ का कलाकारहरूको क्रेज पनि बढ्दो छ।
अब आगामी दिनको व्यापार कस्तो हुन्छ, त्यो हेर्न त बाँकी नै छ।