समीक्षा
देवी खड्का अब एउटा नाम मात्र रहिनन्। द्वन्द्वकालमा बलात्कारबाट पीडित भएका महिलाहरूको नेतृत्व गर्न थालेपछि उनी एउटा आन्दोलन बनिन्। अभियान बनिन्। वेग बनिन्। संवेग बनिन्। उनीहरूको आशाको केन्द्र बनिन्। देवीको वास्तविक जीवनमा आधारित रहेर वृत्तचित्र ‘देवी’ बनेको छ।
उक्त वृत्तचित्र सुविना श्रेष्ठले निर्देशन गरेकी हुन्। मिति २०८२, जेठ २ गते विराटनरमा उक्त वृत्तचित्र ‘देवी’ प्रदर्शन भएको थियो।
१९४ जना क्षमता भएको क्युएफएक्सको हलमा २२० हाराहारीको उपस्थिति रहेको थियो। वृत्तचित्र हेर्नको लागि राजनीतीकर्मी, प्राध्यापक, अभियन्ता, विद्यार्थी, प्राज्ञिक वर्ग लगायतको उपस्थिति रहेको थियो।
वृत्तचित्र हेरिरहँदा मनमा निकै उथलपुथल ल्याउँछ। महिला शरीर विरूद्धको अपराधको क्रुरता र बर्बता कुन हद सम्मको हुन सक्छ? राज्य जब युद्ध अवस्थामा हुन्छ शासक र विद्रोहीको निशानामा महिलाको योनी कसरी पर्छ? महिलाको शरीरमाथि, अझ योनी माथिको आक्रमणले निम्त्याउने शारीरिक, मानसिक, सामाजिक क्षय र यसको परिणाम पीडित एक्लैले भोग्नुपर्ने तीतो र कहालिलाग्दो यथार्थ बुझ्न हामी बाँचेको समाज काफी रहेछ।
हाम्रा परिवार र हाम्रा घरकै मानिसहरू काफी रहेछन्। संकिर्ण मानसिकता बोकेर हिँड्ने हामी नै काफी रहेछौं। बलात्कार जो माथि हुन्छ उसैले मात्रै समाजले थोपर्ने सम्पूर्ण बोझ बोक्नुपर्ने क्रुर र कठोर परिदृश्य नै यस वृत्तचित्रको मुख्य सन्देश हो। यो वृत्तचित्र हेरिरहँदा यस्तो लाग्छ, हामी कुनै सभ्य समाजमा बाँचेका छैनौं। यदि बाँचेको ठान्छौं भने मात्रै भ्रम सिवाय केही हैन।
युद्धको विश्व इतिहासलाई अध्ययन गर्दा विभिन्न गृह तथा सैन्य युद्धमा महिला तथा किशोरीहरूमाथि चरम यातना सहित पाशविक यौनहिंसा भएको भेट्न सकिन्छ।
जस्तैः सन् १९९४ मा रुवाण्डामा भएको नरसंहार जो हुस्तु र तुत्सी समुदाय बीचमा भएको जातीय युद्ध थियो। लगभग चार महिना चलेको यस युद्धमा करिब ८ लाख मानिसको ज्यान गएको थियो। यसमा करिब ५ लाख महिला तथा किशोरीमाथि यौनजन्य हिंसा भएको थियो। जसमा सामूहिक बलात्कार,आफन्तको सामु गरिएको गरिएको बलात्कार, यौन दासत्व र जानीजानी एचआइभी संक्रमित बनाउनका लागि गरेको बलात्कार आदि रहेका छन्।
त्यसैगरी, दोस्रो विश्व युद्धमा जापानी सेनाले कब्जा गरेका देशहरूमा ‘कम्फर्ट स्टेसन’ स्थापना गरेर कोरिया, म्यान्मार, ताइवान, फिलिपिन्स लगायतका देशहरूबाट महिला तथा किशोरीहरू अपहरण गरी, जबर्जस्ती प्रलोभनमा पारेर जापानी सैनिक शिविरमा राखेर दैनिक रुपमा यौन दाषी बनाइएको घटना पढ्न पाइन्छ।
किम हाक सुन दक्षिण कोरियाली महिला हुन्। उनले सन् १९९१ मा सार्वजनिक रूपमा पत्रकार सम्मेलन गरेर आफू जापानी सेनाबाट यौन दाष बनाइएकी पीडित र कम्फर्ट वुमन भएको स्वीकारेकी थिइन्। उनले जापान सरकारविरूद्ध मुद्दा हालेकी थिइन्। यो कदमले धेरै महिलाहरूलाई आवाज उठाउनको लागि प्रेरणा पनि मिलेको थियो।
अब, ‘देवी’ तिर फर्कौं, वृत्तचित्रको प्रधान भूमिकामा स्वयम् देवी छिन्। उनी कतिकति बेला ‘फ्ल्यासब्याक’मा जान्छिन्। युद्ध सम्झन्छिन्। के तागतले रातो क्रान्तिमा हिँड्यौ होला सम्झन्छिन्। सयौं महिला कमाण्डर बने। लडाकु बने। घरपरिवार छाडे। छोराछोरी अर्काको घरमा राखेर देश परिवर्तनको गहै भारी बोकेर युद्धमा होमिए। यो योगदानले के/कति प्राप्ति भयो त्यो हिसाबको पाटो भयो। तर, सँगसँगै युद्धले अमापनीय घाउ पनि दिएर गयो। जसको पुष्ट्याइको एउटा रूपमा ‘देवी’ वृत्तचित्रलाई लिन सकिन्छ।
उक्त वृत्तचित्रमा झलमल्ल तिहार छ। औंसीको कालो रात पनि छ। देवी कहिले शालिन, सौम्य देखिन्छिन्। कहिले अवाक र स्तब्ध देखिन्छिन्। कतिकति बेला विगतमा पुग्छिन्। जहाँ क्रान्तिप्रतिको कठोर रूझान थियो। कयौं महिलाहरू छापामार भएर युद्धमा सामेर भएर हिँडेका थिए। बम, बारूद बोकेर विद्रोही राज्यसत्तासँग लड्न सक्ने अदम्य साहस बोकेर हिँडेका तमाम लडाकु महिलाहरू कति ‘देवी’ बनाइएका छन्। त्यसको लेखाजोखा गर्न राज्यलाई शान्ति सम्झौता भएको १७ वर्ष बित्दा पनि खासै चासो छैन। ती तमाम ‘देवी’हरू का पीडा र आर्तनादले शासकहरूको हृदयलाई कतै हल्लाउँदैन। यी पीडालाई सबै पीडित/प्रभावितको समानुभूति र न्यायको लडाइँमा ऐक्यवद्धताका लागि द्वन्द्व प्रभाव परेको धेरै ठाउँमा पुग्छिन् देवी। पीडितका साना–साना कुरा सुन्छिन्। सबैका भोगाइलाई आवाजको माध्यमबाट अनुहार नदेखाई वृत्तचित्रमा समेटिएको छ। एकसाथ सबैले आँसु साझा बनाउँदा, र आफ्नो न्यायको लागि लड्न तयार बनेको दृश्य हेर्दा वृत्तचित्र हेर्नेले एकपटक आफैले आफैलाई छाम्न बाध्य बनिन्छ।
बलात्कारीको घिनलाग्दो स्वरूप अनि पाशविक र दानवीय घटनाक्रमले ती बलात्कारीहरूको चित्र दर्शकको अनुहारमा आएर उभिन्छ।
अनि, तिनिहरू पनि मान्छे हुन् भन्ने सम्झँदा मन अमिलो बन्छ। वमव आउँछ। यी सबै दृश्यले, धेरै कुरा सोच्न बाध्य पनि बनाउँछ। तिनका पनि आफन्त होलान्। आमा, श्रीमती, छोरी, बहिनी आदि नातागोता होलान्। कुन अनुहारले ती बलात्कारी उनीहरू सामु पर्दा हुन्? याचनाको सानो झिल्को कतै अनुहारमा देखिन्छ देखिन्न होला? आत्मग्लानि र अपराधबोधले हृदय पोल्छ कि पोल्दैन होला? आदि आदि।
आफूलाई बलात्कार गर्नेहरू खुलेआम हिँडिरहेको देख्दा, व्यवस्था बदल्न हिँडेकाप्रति, शासकहरूप्रति, वर्तमान नेतृत्वप्रति वृत्तचित्रको माध्यमबाट निर्मम प्रश्न गरेका छन् ‘देवी’हरूले। आफूहरूले सहेको पीडा, यातना र सामाजिक लान्छनाको फेहरिस्त बताउँदा, ती सबै हाम्रो अनुमानभन्दा परको लाग्छ। अड्कलभन्दा निक्कै भयानक लाग्छ। शान्ति सम्झौतापछि सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग बन्यो। यसले न्यायको आशा जगायो। तर, उक्त वृत्तचित्रमा अब आशावादी हुने ठाउँ नरहेको पीडित/प्रभावितको अनुभव पनि देखाइन्छ।
लेखक युग पाठक आफ्नो लेख एक लज्जित पुरूषको बकपत्र यसो भन्छन्- ‘पुरूषवादी व्यवस्था रहेसम्म प्रत्येक नारीले पाएको एकएक यातनाको हिसाब पुरूषले दिनैपर्छ। पुरूष भएकै कारण लज्जित छु म। लज्जित हुनका लागि मसँग जति कारणहरू छन्, त्यति त लज्जित नहुनका लागि स्पष्टीकरणका बुँदा पनि छैनन्। पुरूष भएर जन्मेकैले लज्जित हुनु नपर्ने हो। तर नारी भएर जन्मेकैले पाइला–पाइलामा बलात्कार र हत्याको सिकार हुनुपर्ने कारण के छ?’
लेखक केदार शर्माको लेख बलात्कारको विसवृक्षमा महिलामाथि हुने जघन्य अपराध ‘बलात्कार’ को विषयमा यस्तो लेख्छन्- ‘कुनै पनि उमेरका महिला (र, बालकहरू) लाई बलात्कारबाट जोगाउने ‘भाग्य’ भन्दा ठूलो रक्षक अहिलेसम्म देखिएको छैन। हामी कुनै पनि महिला कुनै पनि किसिमले कुनै पनि बेला बलात्कृत हुनसक्ने संसार र समाजमा बाँचेका छौं।’
अर्को लेख आमान्टिसाइज मा लेखक श्रेजस सुवेदी लेख्छन् ‘अगाडि बढ्नका लागि सन्तानको मायाले आमाहरूलाई एक चौथाइ रोक्यो होला। तर, बाँकी भाग त समाजको मान्यता र घेराहरूले बन्धक बनाएको हो।
यी तीन लेखमा उद्धित गरिएका भावाशं को सारांश पनि पुरूष प्रधान समाजमा महिलालाई कसरी हेरिन्छ? महिलाको सामाजिक, आर्थिक, राजनीतिक दायरा कसरी संकुचित बनाइन्छ? महिलाको गतिशिलताको अधिकार कसरी कुण्ठित पारिन्छ? र बलात्कार जस्तो जघन्य अपराध (द्वन्द्वकाल वा वर्तमान) मा समेत सामान्यीकरणको लेपन लाएर कसरी कमजोर पार्ने कोसिस गरिन्छ? त्यसमा किन राज्य र राज्य संयन्त्र सधैं अहम् भूमिकामा रहन्छ? पितृसत्ताले समाजका अवयवहरूमा कसरी जरा गाडेर बसेको छ? लगायतका प्रश्नको जबाफ पनि माथिका बुँदाले दिएको छ।
यही समाजमा युग पाठक, केदार शर्मा र श्रेजस सुवेदी जस्ता लेखक (पुरूष) पनि छन्। र नै समाज कहीँ कतै सुन्दर पनि छ भन्ने अनुभूति गराउँछ। जसको कलमले महिलाको पक्षमा बोलिरहन्छन्। लेखिरहन्छन्। अनि, सबै पुरूषको तर्फबाट लज्जाबोध पनि गरिरहन्छन्।
संक्रमणकालीन न्याय प्रक्रियाले यौन हिंसाका घटनालाई कम ग्राह्य ठानेको छ। अरू प्रकारका गम्भीर घटनाको कित्तामा यौन हिंसा नपर्नुले राज्यले कसरी घटनाको पूर्वाग्रही ढंगले वर्गीकरण गर्दछ भन्ने देखिन्छ। साथै, स्वतस्फूर्त रूपमा द्वन्द्वकालमा घटेका यौन हिंसाका घटनाको उजुरी लिने वातावरण निर्माण समेत नगरेको ‘देवी’ मा देखाइएको छ।
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमा जति उजुरी परेका छन् त्यो भन्दा धेरै गुणा बढी वास्तविक घटना छन्। उनीहरू न्यायको पर्खाइमा छन्। छानबिन तथा उजुरीको उचित वातावरण पाउने हो भने धेरै पीडित/प्रभावित न्यायको लडाइँ लड्नेमा दुई मत छैन। उचित क्षतिपूर्ति, सत्यतथ्यको सार्वजनीकरण,परिपूरण सहितको न्यायको माग नै ‘देवी’ हरूको माग हो। जुन कुरालाई यस वृत्तचित्रले समग्रतामा उठाएको छ।
र यो वृत्तचित्र राज्यप्रतिको प्रतिरोध हो। सत्ता सञ्चालकलाई एउटा गतिलो झापड समेत हो।
(लेखक महिला अधिकारकर्मी/अधिवक्ता हुन्।)