चलचित्रले कहिलेकाहीँ हाम्रो जीवनको गहिरो पीडा, स्नेह र संघर्षलाई उति नै गहिरो रूपमा देखाउँछ कि त्यो कला मात्र नभएर आफ्नै आवाज जस्तो लाग्छ।
लाग्छ—यो कथा पर्दामा बनेको मात्र होइन, यो त हामीले कतै देखेका छौँ, कतै महसुस गरेका छौँ।
‘के घर के डेराः घर नं २’ त्यस्तै एउटा कथा हो, —जहाँ बुवा र छोरीबीचको सम्बन्ध कुनै पारिवारिक संरचना मात्र होइन, एउटा भावनात्मक दीपझैँ झल्किन्छ। जुन हाम्रो समाजका धेरै नारीहरूको जीवनसँग गाँसिएको छ। यो चलचित्र हेर्दा आँखा रसाउँछ, मन गह्रौँ हुन्छ, र छोरीको मौन प्रेमप्रति मनभित्र श्रद्धा जाग्छ।
कोभिड महामारीको कठोर समय चित्रित चलचित्रमा एउटा बुबा, जो प्याजको व्यापार गर्थे, सिमाना बन्द भएपछि उनका आयातित मालहरू कुहिए, ऋणले थिचियो, घर गुम्यो, जीवन गुम्सियो। उनी हार्छन्—व्यवसाय, सम्पत्ति, इज्जत अनि अन्ततः आफ्नो आत्मबल।
तर जहाँ जिन्दगीले लडाउँछ, त्यहीँ कतै एउटी छोरी उभिएर भन्छे—म छु, बुवा।
यही छोरी हुन् चलचित्रकी नायिका—शान्त, समर्पित, तर सशक्त। उनी बुबाको सहारा बन्न उठ्छिन्।
अब त्यो ठूलो घर छैन— अब केबल छ एउटा साँघुरो कोठा, जहाँ बाँकी जीवन तन्किन थालेको छ।
यही कोठामा छिन्, उनको छोरी। एक्लो, तर अडिग। एउटा साँघुरो कोठा, जहाँ एउटै कुनामा उनको ओछ्यान छ, अर्को कुनामा भान्सा, अनि एउटा कुनामा उनले सुरू गरेको सानो व्यवसाय—सुगन्धित मैनबत्ती बनाउने। उनको सानो ‘स्टार्टअप’। त्यो कोठा साँघुरो छ, तर त्यहाँ प्रेम छ, आत्मबल छ, र एउटा चेलीको पुनर्निर्माणको कथा छ।
सामान्यतया विलासिताको वस्तु मानिन्छ सुगन्धित मैनबत्ती। तर उनका लागि, यो उज्यालोको प्रतीक हो। त्यो उज्यालो, जसले उनका बुबाको निराश आँखामा फेरि आशाको झिल्को ल्याओस् भन्ने उनको चाहना छ। त्यो सुगन्ध, जसमा बुबाको आन्तरिक पीडालाई केही क्षणका लागि भए पनि बिर्सियोस् भन्ने भाव छ।
अनि त्यसैबाट आफ्नो बुबाको औषधि, दाल चामल, कोठाको भाडा, अनि जीवनको आशा जुटाउँछिन्।
बुबाको स्वास्थ्य अब पहिले जस्तो छैन। दिनदिनै मानसिक पीडाबाट गुज्रिरहेका उनलाई प्यानिक अट्याक आउँछ, हरदिन तनावले सताउँछ। रातभर सुत्न सक्दैनन्। आत्मग्लानिले थिचेको छ। उनी सास फेर्न डराउँछन्। तर त्यहीँ छ त्यो छोरीको हात उनीसँग —कहिले थामेर, कहिले निधार छोएर, कहिले नदेखिने साथ बनेर। शब्दमा भन्दा व्यवहारमा खरो उत्रिन्छिन् उनी।
उनको प्रेम मौन छ, तर उपस्थित छ। उनका आँखामा आँसु छैन, तर पीडा छ।
त्यो छोरीसँग पनि सपना थियो होला। प्रेम थियो होला। बुवाले पनि बारम्बार विवाह गराइदिएर पठाउन चाहन्छन्। तर उनले छोडिनन् —बुबाको साथ। उनी बुबाको ओछ्यानछेउ बसेर औषधिको समय सम्झन्छिन्। उनले बिर्सिइन् —आफ्नो प्रेम, आफ्नो जीवन। किनभने उनको प्रेम केवल व्यक्तिगत थिएन, त्यो त पारिवारिक, गहिरो थियो। उनको त्याग मौन छ। तर त्यो मौनता शब्दभन्दा धेरै बलियो छ।
नेपाली समाज सधैँ भन्छ—छोरा भएपछि बुढेसकालको सहारा पाइन्छ। तर यो चलचित्र भन्छ—सहारा बन्ने सङ्कल्प छोरीको मनभित्र पनि हुन्छ। छोरीले पनि घर सम्हाल्न सक्छे, ऋण तिर्न सक्छे, औषधि किन सक्छे, अनि माया दिन सक्छे। जो निःशब्द, कर्मशील साथ बनेर परिवारसँग सधैँ उभिन्छिन्।
बारम्बार लडेका बुवालाई बारम्बार सम्हाल्दै गरेकी छोरीले कहिल्यै हार मान्दिनन्। त्यहाँ उनको अभिनय यति वास्तविक देखिन्छ लाग्छ त्यो दृश्य केवल अभिनय होइन, त्यो त हजारौँ घरमा दोहोरिइरहेको कहानी हो।
त्यो कोठा साँघुरो छ—तर त्यहाँ एउटी छोरीको जीवन चलिरहेको छ। त्यो कोठा साक्षी छ—कसरी एउटी महिला, जो समाजले ‘कमजोर’ भनेर परिभाषित गर्छ, कसरी बलियो ‘स्तम्भ’ बनिरहेकी छिन्।
कहिलेकाहीँ लाग्छ—किन यस्ता छोरीहरूको कथा धेरैले देख्दैनन्? किनभने उनीहरूले नारा लगाउँदैनन्, तामझाम गर्दैनन्। उनीहरूले केवल प्रेम दिन्छन्, मौन साथ दिन्छन्, र आफ्नो जिन्दगी अरूको लागि समर्पण गर्छन्।
यो चलचित्र त्यो मौन आवाज हो, जुन हामीले सुन्नु जरूरी छ। यो ती सबै छोरीहरूमा समर्पित छ, जसले घरको ढलेका पर्खाल फेरि उभ्याउने आँट गर्छन्। जो आँधीमा समेत मैनबत्ती जलाउन जान्दछन्।
सायद उनले आफूलाई भुलेर बुबालाई सम्झेकी हुन्। तर यही त हो—मायाको उच्चतम रूप। जब तिमी आफ्नो लागि होइन, अर्काको लागि बाँच्न थाल्छौं।
छोरीलाई केवल विवाहयोग्य पात्रको रूपमा नभई, घरको मेरूदण्डको रूपमा बुझ्न जरूरी छ।
‘के घर के डेराः घर नं २’ ले यही चेतना ल्याउँछ—कि छोरीहरू पनि दीप हुन्, जसले अँध्यारोलाई पगाल्न सक्छन्। त्यो मैनबत्ती एउटी छोरीको अभिव्यक्ति हो—जो आफै जलिरहेकी हुन्छे, ताकि अरूको जीवन उज्यालो होस्।
हरेक क्षेत्रको नेतृत्व परिवर्तन भइरहेको आजको समयमा अझै पनि घरभित्र छोरीको योगदान बुझ्ने नजरको कमी छ। ‘के घर के डेराः घर नं २’ ले यही नजरमा प्रश्न उठाउँछ। यो कथा समाजको सोच परिवर्तन गर्ने छोरीहरूको हो ।
चलचित्रले छोरीहरू घरको सिँगार मात्र नभई घरको आधारका रूपमा सम्मान गर्न घचघच्याउँछ । उनीहरूको माया, त्याग र कर्मको कदर गर्न प्रेरित गर्छ ।
यो कथा पर्दामा सकिन्छ। तर मनमा सुरू हुन्छ। जहाँ एउटा उज्यालो बलिरहन्छ—त्यो उज्यालो एउटी छोरीको प्रेमको हो।
त्यो मैनबत्ती अझै बलेको छ— यथार्थ जीवनमा। हाम्रो घरको कुनामा, सायद कुनै न कुनै कोठामा, आज पनि त्यही प्रेम जलिरहेको छ—शान्त, सुगन्धित, अनि अपूर्व।