मान्छे जन्मन्छ, मर्छ। जन्मँदै कोही मान्छे बुढो भएर जन्मेको हुँदैन र बुढो हुँदैमा मरिहाल्दैन। मान्छे मात्र होइन, प्रकृतिका सबै सिर्जना नश्वर छन्। नित्य छैनन्, अनित्य छन्। त्यसैले जन्मको नियमलाई स्वीकार गर्नेले मृत्युको नियमलाई पनि स्विकार्नु पर्दछ।
भौतिक रूपमा जीवितै रहे पनि कतिपय अवस्थामा मान्छे पलपलमा मरिरहेको हुन्छ। अझ कसैले अब तँ मर्छस् भनेको क्षण उसको मनमा कस्तो मनोवाद जन्मेला? त्यसमाथि त्यो पात्रले जवानीमा वैभवपूर्ण जीवन बाँचेर बुढेसकालमा सन्तानबाट टाढा कसैको आश्रयमा बाँच्नु परेको होस्। सन्तानप्रति उसको दृष्टिकोण के हुन्छ होला त्यति बेला? कस्तो अपेक्षा गर्ला उसले टाढा रहेका सन्तानसँग?
उपन्यासकार झम्क तिमल्सिनाको उपन्यास विमुक्तिले यी यावत मानवीय पक्षलाई केस्रा केस्रा उजागर गरेको छ। खासमा यो उपन्यास वर्तमान नेपाली समाजको वास्तविक तस्बिर चित्रण गर्ने फरक साहित्यिक ऐना हो। नचाहेरै पनि अधिकांश सन्तानहरू अहिले वृद्ध बाबुआमाबाट टाढिनु परेको छ।
उनीहरूको मनमा आमा बाबुप्रति माया हुँदैन भन्ने होइन। देश छोडेर विदेश जानेहरूले त्यहाँको सम्पन्नतामा डुबेर देशलाई चटक्कै बिर्सन्छन् भन्ने पनि होइन। वृद्ध बाबुआमाको ज्यान स्वदेशमा र मन सदा विदेशमा भौँतारिइरहन्छ जहाँ उनीहरूका सन्तान बसेका छन्। ठिक त्यसै गरी विदेशमा हुनेहरूको ज्यान परदेशमा भए पनि मन स्वदेशमै हुन्छ। खै के पर्छ पर्छ? विदेश पुगेकाहरू स्वदेश फर्कँदैनन्।
कथा सहरको मात्र होइन। गाउँबाट पढाइ लेखाइ सकेर सहर पसेका युवा आफू जन्मे हुर्केको गाउँ फर्कँदैनन्। सहरी सम्पन्नताले चुम्बकले फलामलाई ताने झैँ तानेर राखिरहन्छ। त्यसैले अहिले सहरभन्दा गाउँ अझ बढी वृद्धाश्रम बनेको छ। रित्तिएको छ गाउँ।
वास्तवमा ‘विमुक्ति’ शीर्षक नै गज्जब छ। उपन्यासको कथाले शीर्षकको सार्थकता पुष्टि गरेको छ। किताब पूरै नसक्दासम्म कुन पात्रलाई विमुक्ति दिन चाहेको हो जस्तो लाग्छ। त्यही वृद्धको जो क्यान्सरले ग्रस्त भएर मृत्युको आडैमा उभिएको छ, उसैको विमुक्ति? या त्यो वृद्धको सेवा टहलका लागि राखिएकी उनाउ महिलाको विमुक्ति? वा अरू कसैको? निकै रहस्यमय ढंगले शीर्षक सार्थकतामा पुगेको छ।
कथाको सुरुवात नै एक गम्भीर दृश्यबाट हुन्छ। दिनमै धेरैलाई मृत घोषणा गर्ने डाक्टरले सात समुन्द्रपारि आफ्नो पिताको मृत्युको खबर सुन्छ र किरिया गर्न स्वास्नी र छोरीसहित घर फर्कन्छ। विधि पुर्याएरै किरिया सक्छ छोराले। जब किरिया सकिन्छ उसले पिताको नामको सम्पत्ति आफ्नो नाममा नामसारी गर्नुपर्ने हुन्छ।
सम्भ्रान्त छ परिवार। राणाकालीन जिम्मावालको खलक, जर्नेलबाट अवकाश पाएको व्यक्ति, छोरा-बुहारी दुवै डाक्टर। यति धेरै सम्पत्ति छ मृतक बाबुका नाममा कि छोरालाई कहाँ-कहाँ कति छ जग्गा जमिन, कुन-कुन बैंकमा छन् खाता, थाहै छैन। त्यही विवरण बुझ्न बाबु मरेपछि दराजका घर्रा- घर्रा खोतल्छ। कपडाका चाङ चाङ खोतल्छ।
उसलाई त जसरी भए पनि सम्पत्तिको नामसारी गर्नु छ र सकेसम्म चाँडै अमेरिका नै फर्कनु छ। दराजलाई उरलधुरल गर्दा उसले पिताले मृत्युअघि लेखेको डायरी भेट्छ। त्यही डायरी नै वास्तवमा उपन्यास हो। यही डायरीभित्र कथा कहिले निकै भावुक, कहिले दार्शनिक र कहिले कहिले सामान्य बन्दै अघि बढ्छ।
उपन्यासमा थप केही पात्रहरू पनि आउँछन्। पशुपति वृद्धाश्रममा आश्रय लिइरहेका ती धेरैजसो वृद्ध अवस्थाकै छन्। सबैको कथा उस्तै छ। हुन त वृद्धाश्रममा भेटिने उस्तै उस्तै हुन्। स्कुलमा गए विद्यार्थी नै विद्यार्थी भेटिए जस्तै त हो। वृद्धाश्रमभित्र गज्जबको वास्तविक र कारुणिक पक्ष के छ भने, सन्तानकै कारण आफैँले जोडेको सम्पत्ति त्यागेर वृद्धाश्रम आएकाहरू पनि त्यही सन्तान सम्झेर काल पर्खिरहन्छन्। बुढ्यौलीमा सबैले सम्झने भनेको टाढिएका सन्तानहरू नै हुँदा रहेछन्। भेट हुँदा एक आपसमा गर्ने कुराकानी पनि आफ्नै सन्तानको।
फरक फरक स्थानबाट एकै स्थान भेट भएका पात्रहरूको समान मनोदशालाई हेर्दा यो समस्या भूगोल विशेषको समस्या होइन रहेछ भन्ने प्रतीत हुन्छ। जताततै व्याप्त हुँदै गएको सामाजिक समस्या। यसैलाई चित्रण गर्न होला, धेरै स्थानका पात्रहरू उभ्याइएको छ। नत्र भने यति धेरै तिरका मान्छे जोड्नुपर्ने जस्तो देखिँदैन।
हाम्रो समाजको अर्को तितो यथार्थ हो कि, माता पिताप्रति कसैले जिउँदो छँदा वा मरेपछि केही गरोस् वा नगरोस् सम्पत्ति त सन्तानले पाउने हो। त्यो निमुखा महिला, जसले अर्काको बालाई एक दशकभन्दा बढी हेरचाह गरी। त्यो बुढो उसैको काखमा मर्यो। उसले केही पाउँदिन। कानुन बुझेर होला वा समाज देखेर होला, ऊ केही आशा पनि गर्दिन र घरबाट निस्कन्छे। कति पाउने सर्तमा बसेकी थिई, पाई कि पाइन त्यो पनि खुल्दैन। अन्तिमसम्म पनि भेटिएकी छैन त्यो।
उपन्यासमा अर्की एक पात्र हो माकुरी बजै। कथाको मूल पात्रका रूपमा रहेको तेजमान जो डायरीको लेखक छ, ऊ सहर पढ्न बस्दा स्याहारकै लागि ल्याइएकी थिई। त्यो बाल विधवाको जवानी नसकिएसम्म डायरी लेखकको हजुरबा (जो राणाकालीन समयमा चिसापानीको जिम्मावाल थियो) ले सहर छोडेन। स्पष्ट लेखिएको त छैन उपन्यासमा तर शंका गर्ने ठाउँ पर्याप्त दिएको छ, रखेलकै रूपमा राख्यो जिम्मावालले।
एउटा दर्दनाक मृत्यु भयो माकुरीको पनि। डाक्टर भएर अमेरिका पुगेकी महिला पात्र, दम्भ घमन्ड केही छैन। ससुरा वा पतिप्रति पनि कहिल्यै नकारात्मक छैन, तथापि लोग्ने चाहिँ कुनै घर सल्लाह गर्दैन। के लेखेका थिए बाबुले डायरीमा? केही भन्दैन। स्वास्नी मनले लोग्नेमाथि शंका गर्छ। लोग्ने मन केवल चुपचाप बस्छ। बरु झगडा गर्न तम्सिन्छ। उल्लिखित महिला पात्रमाथि समाजसँगै लागेर उपन्यासले पनि न्याय गरेन कि भन्ने लाग्छ। डाक्टर पत्नी प्रारम्भमा विद्रोह गर्न त खोज्छे तर कसो कसो त्यो कमजोर देखिन्छ र सहनशील सुशीला भएरै सकिन्छ।
सत्य यही हो, प्रत्येक जीवन अरूले नदेखेका अनगिन्ती संघर्षहरूको कथा हो। छोडिदिऔँ उमेर र सम्भ्रान्त वर्गका कुरा। यो नश्वर देह देवलोकमा नपुगेसम्म कसलाई कति हर्ष र कति दुःख छ? त्यसको हिसाब गर्न आवश्यक नै रहेनछ। त्यसैले धनीलाई कम र गरिबलाई बढी दुःख होला भनी गरिने सामान्य अनुमानलाई ‘विमुक्ति’ ले मिथ्या ठहर गरेको छ। नत्र जन्मँदै त्यत्रो आर्थिक वैभव लिएर जन्मेको, छोरा-बुहारी र नातिनीसम्म भएको उपन्यासको पात्र तेजमान सिंहले किन एक्लै घिटीघिटी गर्नुपर्थ्यो र? किन घरको बार्दलीसँग एक्लै भलाकुसारी गर्नुपर्थ्यो र?
हुन त, जन्मदेखि मृत्युसम्मको यात्रामा हजारौँ हजारको सहारा र साथ चाहिन्छ। तर कसैले कसैको यात्रामा सधैँभरि चाहेर पनि साथ दिन सक्दैन। जीवनका सहयात्रा गर्न आउनेहरूले पनि न अर्काको रोग बोक्न सक्छन्, न भोक र शोक नै बोक्न सक्छन्। बोक्ने त आफैँ आफैँले हो। सत्य यही हो। सन्तान भए पनि नभए पनि, नजिक भए पनि, टाढा भए पनि। मर्नुभन्दा केही अघि कथाको मुख्य पात्र तेजमान सिंह यो सत्य ओकल्छ। अर्कोतर्फ दिनमा सयौँ पटक मरेकी पत्नी सम्झन्छ, आमा सम्झन्छ र टाढा रहेका सन्तान सम्झन्छ।
अन्तरमनका विरोधाभासपूर्ण गुनगुनाहटलाई उपन्यासमा मनैभित्र छिरेर लेखिएको छ- बुढ्यौली जिन्दगीलाई घिसार्न अर्कैको सहारा लिनुपर्दा कहिलेकाहीँ मृत्यु चाँडै आइदियोस् जस्तो लाग्दो रहेछ। बिमारले च्याप्नै लगेपछि मर्छु कि भन्ने पिर। कस्तो अचम्म! बाँच्छु कि जस्तो लाग्दा मर्न मन लाग्ने र मर्छु कि जस्तो लाग्दा बाँच्न मन लाग्ने। न मर्न सकेको छु न म बाँचेकै छु। मैले आफैँलाई सयौँ पटक मर्न पाए हुन्थ्यो भनेर मारेँ हुँला। हजारौँ पटक मर्ने भएँ भन्ने चिन्ताले आत्तिएँ होला।
केही केही स्थानमा मुख्य पात्रको मनोवादबिचमै अन्तर्विरोध, केही नारी पात्रमाथि राखिएको पुरातन दृष्टिकोण र कथामा कतै कतै उल्लिखित निबन्धात्मक शैली जस्ता झिना मसिना कमजोरीको बाबजुद उपन्यास एक उम्दा कृतिको रूपमा देखिन्छ। उपन्यासमा भित्तामा लेखेर टाँसौँ लाग्ने धेरै पङ्क्तिहरू छन्। जसलाई पढेर एकछिन रोकिन र सोच्न मन लाग्छ।
साँच्चै विमुक्ति ज्येष्ठ नागरिकको मनोभावनामा लेखिएको जब्बर सिर्जनाको रूपमा रहेको छ। वृद्धावस्थाको अध्ययन र अनुसन्धान गर्न चाहने व्यक्तिका लागि विमुक्ति एक गतिलो सन्दर्भ ग्रन्थ हुनसक्छ। विदेशमा रहेकाहरूले एक पटक पढ्न पाए भने, उनीहरूको मनमा पनि हँ भन्ने अर्को मनोभाव पैदा गर्छ यसले। दश पन्ध्र सेकेन्डको रिलको जमानामा कस कसले कति किताब पढ्छन् त्यो भन्न सकिन्न। यति चाहिँ भन्न सकिन्छ, जसले यो किताब पढ्छ, कुनै कोणबाट पनि उसले पछुताउनु पर्दैन।
