सामान्यतया मनसुन बाहिरिएपछि हिउँद यामसम्म ठूलो पानी पर्दैन। तर कहिलेकाहीँ यो क्रम बिथोलिन्छ।
यसरी नै मौसमी क्रम बिथोलिएको थियो, २०७८ असोज मसान्तमा।
त्यति बेला अरब सागर र बंगालको खाडीबाट उत्पन्न भएका दुई छुट्टाछुट्टै मौसमी प्रणालीले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भीषण वर्षा गरायो। मधेस प्रदेशका केही जिल्लामा समेत भारी वर्षाले अनाज डुबायो। बाँकेमा मात्र ४० हजार किसानको खेतमा लगाएको धानबालीमा क्षति पुग्यो।
त्यो वर्षाले देशभर झन्डै ६८ हजार हेक्टर क्षेत्रफलको धानबाली नष्ट तुल्याएको थियो।
यसपटक पनि अरब सागर र बंगालको खाडीबाट ठूलो पानी पार्ने प्रणाली नेपाल भित्रिँदैछ। अरब सागरको न्यूनचापीय प्रणालीको प्रभाव त देखिन थालिसकेकै छ।
अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश भागको आकाशमा बादल लागेको छ। काठमाडौंमा सोमबार दिउँसो घाम लाग्ने र बादल लाग्ने क्रम चलिरह्यो। अपराह्नपछि त काठमाडौं उपत्यकाको आकाशमा डम्म बादल लागेको छ। पानी भने कतै परेको छैन।
मौसमविदका अनुसार बंगालको खाडीमा मोन्था चक्रवात उत्पन्न भएको छ। त्यसले अहिले भारतको पूर्वी तटलाई गम्भीर असर पारिरहेको छ। यो चक्रवात आइतबार चक्रवाती तुफानमा परिणत भएको थियो। मंगलबार भारतको आन्ध्रप्रदेशको काकिनाडा नजिक आइपुग्ने अनुमान गरिएको छ।
यो चक्रवात ९०–१०० किलोमिटर प्रतिघन्टाको वेगमा रहेको भारतीय सञ्चार माध्यमहरूले जानकारी दिएका छन्।
यसले भारतको आन्ध्रप्रदेश, उडिशा, तमिलनाडु, तेलंगना, केरला, छत्तीसगढ, पश्चिम बंगाल मात्र होइन, नेपालका कोशीदेखि गण्डकी प्रदेशसम्मै असर पुर्याउने देखिएको छ।
अहिले नेपालको मौसम प्रणालीमा बंगालको खाडीमा रहेको मोन्था चक्रवात र अरब सागरमा रहेको तल्लो वायुमण्डलले नेपालभरी बादल ल्याइरहेको मौसमविद विनोद पोखरेलले जानकारी दिए। तर अहिलेसम्म वर्षा भएको छैन।
उनका अनुसार भोलिदेखि पश्चिमी नेपालमा वर्षा हुने र बिहीबारदेखि शनिबारसम्म पूर्वी भागमा भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ।
विपदविद धर्मराज उप्रेतीले समुद्रमा उत्पन्न नयाँ प्रणालीले भारतको आन्ध्रप्रदेश, उडिसा लगायत तटीय क्षेत्र र गुजरात क्षेत्रमा सोमबारदेखि भारी र अतिभारी वर्षा गराइरहेको छ। नेपालमा यसको प्रभाव देखिने नै छ।
मंगलबार र बुधबार अरब सागरमा बनेको पानी पार्ने प्रणालीले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीको तराई भेगमा हल्का असर पुर्याउने छ। पहाडी र हिमाली भेगमा बाक्लै हिमपात गराउने सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पनि हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताएको छ।
यो प्रणालीको प्रभावले सोमबार रातिदेखि बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।
अरब सागरमा विकास भएको पानी पार्ने प्रणालीको तुलनामा बंगालको खाडीका विकास हुन लागेको प्रणाली शक्तिशाली देखिएको छ। त्यो अहिले उत्तरतिर क्रमशः सरिरहेको छ। त्यो प्रणालीले आउँदो शुक्रबार र शनिबार बागमती, मधेस र कोशी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि भारी वर्षा गराउने सम्भावना देखाएको विपदविद उप्रेतीले बताए।
'अहिलेसम्मको आकलनले यो प्रणालीको असर सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा कम हुने देखिन्छ,' उनले भने, 'पानी पार्ने दुइटा प्रणाली आइरहेकाले धान, परालको सुरक्षामा ध्यान दिनुपर्ने देखिन्छ। आइतबार पछाडि मात्र बाली भित्र्याउनु उपयुक्त हुन्छ।'
आगामी शुक्रबार र शनिबार काठमाडौं लगायत देशको पूर्वी भेगको हवाई तथा स्थलमार्ग प्रभावित हुन सक्ने देखिएको पनि उनले बताए।
जल तथा मौसम विज्ञान विभागले भने मोन्था चक्रवातको प्रभावबारे पूर्वानुमान गरिसकेको छैन। यसबारे अर्को बुलेटिनमा जानकारी गराउने विभागले बताएको छ।
मौसमविदहरूले भने यी दुवै प्रणालीका कारण मधेस तथा कोशी प्रदेशमा भारी वर्षाको प्रक्षेपण गरेका छन्। मंगलबारदेखि शनिबारसम्म महोत्तरीमा २०६.४, वीरगन्जमा २१५.२, विराटनगरमा १४२.४, खाँदबारीमा १३२.७, काठमाडौंमा ८६.२, पोखरामा २३, घोराहीमा १०.५, जाजरकोटमा ११.९, धनगढीमा १.६ मिलिमिटरसम्म वर्षाको प्रक्षेपण गरेका छन्।
***