अन्तर्राष्ट्रिय बजारमा 'पूजा, सर' का नाममा प्रदर्शन भएको र चर्चा पाएको फिल्म 'राजागंज' गत शुक्रबारदेखि नेपालका हलमा प्रदर्शन भइरहेको छ।
भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठूला फिल्म महोत्सवमा आफ्नो प्रभाव छाडेको यो फिल्मले भेनिस फिल्म फेस्टिभलमा १० मिनेटको 'स्ट्यान्डिङ ओभेसन' पाएको थियो।
नेपालमा प्रदर्शनमा आएसँगै फिल्म हेरेका दर्शकहरूले पनि यसको खुब तारिफ गरिरहेका छन्।
चर्चित भारतीय निर्देशक, निर्माता तथा अभिनेता अनुराग कश्यपले समेत राजागंजको प्रशंसा गरेका छन्। यो फिल्म मनपरेकै कारण उनी यसमा कार्यकारी निर्माताका रूपमा समेत जोडिएका छन्।
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगेको, भारतीय निर्देशक समेत जोडिएको र अहिले नेपाल प्रदर्शनमा समेत तारिफ पाइरहेको फिल्म कस्तो छ त?
फिल्मको कथा सरल शैलीमा प्रस्तुत गरिएको छ। नेपालको सीमावर्ती गाउँ मधेसको राजागंजमा दुई जना बच्चाको अपहरण हुन्छ।
यो त्यति बेलाको घटना हो, जति बेला त्यहाँ आन्दोलन चर्किरहेको छ।
घटनाको छानबिन र समाधान गर्न काठमाडौंबाट खटिएकी हुन्छिन् इन्स्पेक्टर पूजा थापा (आशा मगराती)।
अपहरणमा परेका दुई बालक फरक वर्गका हुन्छन्। आलोक नामका बालक सभासद प्रविण यादवका छोरा हुन् भने अर्का बालक अमृतकी आमा सर्वसाधारण हुन्।
अपहरित दुई बालकको उद्धारका लागि पूरा राजागंज पुगेकी हुन्छिन्। फिल्मको कथा त्यही वरिपरि घुम्छ।
फिल्ममा वर्ग विभेद, लैंगिक विभेद, राजनीतिक पक्षलाई सुक्ष्म तरिकाले देखाइएको छ। निर्देशक दीपक रौनियार आफूले फिल्ममा जे देखाउन चाहेको हो, त्यसमा स्पष्ट छन्।
मधेस आन्दोलनको पृष्ठभूमिमा रहेर उनले थुप्रै मुद्दालाई समेटेका छन्। हरेक मुद्दालाई उनले न्यायपूर्ण तरिकाले उठाएका छन्।
फिल्म हेरिरहँदा कतिपय कुराहरूले दर्शकलाई सोचमग्न बनाउन सक्छ।
एक दृश्य छ – आफ्नो जिम्मेवारीको भार सम्हाल्दै गर्दा पूजा थापाले आफूलाई 'पूजा सर' भन्न अनुरोध गर्छिन्।
किन उनले आफूलाई सर सम्बोधन गर्न भनिन्? के ठूलो जिम्मेवारी बहन गर्न पुरूषसरह हुनुपर्ने हो?
पूजाले आफ्नो हुलिया पनि पुरूषको जस्तै बनाएकी छन्। छोटो कपाल राखेर उनी आफूलाई दरिलो देखाउन सक्दो प्रयास गरिरहेकी हुन्छिन्।
कार्यक्षेत्रमा उनले आफूलाई बारम्बार सावित गरिरहनुपर्छ। कतिपय अवस्थामा उनको कुरा समेत सुनिँदैन।
त्यस्तै आफ्नो स्थान बनाउन लडिरहेकी अर्की पात्र हुन् इन्स्पेक्टर ममता गुप्ता (निकिता चाण्डक)।
ममता मधेसी मूलकी हुन्। उनलाई बिना कारण नै निलम्बन गरिन्छ। ममताले आफ्नो लागि आवाज नउठाएको पूजाको गुनासो छ। लैंगिक विभेदविरूद्ध बलियो रूपमा प्रस्तुत भइरहन्छिन् पूजा। उनी आफू लड्दै अरूलाई पनि विभेदविरूद्ध लड्न प्रोत्साहन गरिरहेकी हुन्छिन्।
फिल्मले मधेस मुद्दालाई पनि सशक्त ढंगमा देखाएको छ। मधेसमा जन्मिएका अमर (विजय बराल) मधेसी भनेर चिनिन चाहँदैनन्। अनुसन्धानको क्रममा उनी नेपाली भाषामा बोलिरहेका हुन्छन्। तर स्थानीयले मैथिली भाषामा जबाफ दिइरहेका हुन्छन्। जसले भाषागत विभेदलाई पनि उजागर गरेको छ।
अपहरणमा परेका बालक आलोकका बुबा मधेसी मूलका हुन्। उनकी आमा (ऋचा शर्मा) पहाडकी मूलकी हुन्। उनी स्थानीय विद्यालयकी हेडमास्टर समेत हुन्। कतै यो अपहरण मधेसी र पहाडीबीचको विभेदको कारण भएको त होइन भन्ने पनि प्रश्न उठिरहन्छ। दर्शकमा यो जिज्ञासा उब्जाउँदै फिल्म अगाडि बढ्छ।
जुन कारणले दुई बालक अपहरणमा परेका हुन्छन्, त्यसलाई भने फिल्ममा बलियो रूपमा प्रस्तुत नगरिएको हो कि भन्ने लाग्छ।
क्राइम–थ्रिलर फिल्म भए पनि यसमा तडकभडक दृश्य छैन। फिल्मको छायांकन पक्ष सशक्त छ। कलाकारको अभिनयमा खोट लगाउने ठाउँ भेटिँदैन। कतिपय दृश्यमा संवादबिनै पात्रको मनोभाव झल्किन्छ।
ममता पात्रको भूमिकामा पूर्वमिस नेपाल निकिता चाण्डक बलियो रूपमा प्रस्तुत भएकी छन्। मधेसको पात्रमा उनी जम्न सफल देखिन्छिन्। त्यस्तै इन्स्पेक्टर अमरको भूमिकामा विजय बराल पनि सशक्त देखिन्छन्।
पूजा सरको भूमिकामा देखिएकी आशा आफूभित्रको कठोर र जटिलता देखाउन सफल छिन्। मदन राईको भूमिकामा देखिएका दयाहाङ राई आफूलाई 'सुपेरियर' सम्झिन्छन्। त्यो भूमिकामा उनी पनि उत्तिकै बलियो रूपमा प्रस्तुत भएका छन्। अन्य कलाकार ऋचा शर्मा, पशुपति राई, गौमाया गुरूङ, आरती मण्डल लगायत सबैजसोको अभिनय राम्रो छ।
यो फिल्ममा महिला कलाकारलाई मुख्य स्थान दिइएको छ। त्यस्तै फिल्ममा महिला कलाकारकै बहुल्यता देखिन्छ जुन राजागंजको एकदमै राम्रो पक्ष मान्न सकिन्छ।
समग्रमा भन्दा, राजागंज मधेसको परिवेशमा रहेर हाम्रो समाजका मुद्दाहरू पस्किन सफल फिल्म हो।