तिलक समलिंगी पुरूष हुन्। उनलाई महिलाप्रति आकर्षण छैन। तर उनको बिहे परिवारको करकापमा महिलासँग हुन्छ।
कसैलाई आफ्नो कुरा भन्न नसकेका उनले बिहेपछि एकदिन श्रीमतीलाई भन्छन्, 'मलाई महिलाप्रति आकर्षण छैन। मेरो यौन चाहना पुरूषप्रति मात्र छ।'
उनले यति भनेपछि उनीहरू अलग सुत्छन्।
तिलक आफ्नो वास्तविक पहिचान आफैंभित्र गुम्स्याएर बसेका छन्। छोराको उमेर पुग्यो भनेर परिवारले बारम्बार बिहे गरिदिन खोज्छन्। उनी दुईपटक त जग्गेबाटै भागिसकेका हुन्छन्।
तेस्रो पटक उनकी आमाले कसम खुवाउँछिन्। कसम तोड्न नसकेर तिलक बिहेका लागि राजी हुन्छन्।
'म पुरूष भए पनि महिलासँग होइन, पुरूषसँगै बिहे गर्न चाहन्छु' भन्न नसक्दा तिलकले आफू र श्रीमतीको जीवनमा दुःख ओइर्याउँछन्।
परिवार, आफन्त र छरछिमेकले उनकी श्रीमतीलाई बच्चा किन नजन्माएको भनेर बारम्बार सोध्छन्। बच्चा जन्माउन उत्तिकै भूमिका निर्वाह गर्ने तिलकलाई भने यो प्रश्न सोधिँदैन।
यो कथा लघु फिल्म 'नीलो फूल' को हो। सुनीलबाबु पन्त र प्रद्युम्न मिश्रको संयुक्त निर्देशनमा बनेको ३९ मिनेटको नीलो फूल गत माघ २६ गते प्रिमियर भएको थियो। यसले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलजिबिटीक्युआइए-प्लस) का सदस्यको र पितृसत्तात्मक सोचले महिलामाथि हुने हिंसाको कथा देखाएको छ।
तिलकका आफ्नै बाध्यता हुन्छन्। ती बाध्यताले उनमा पनि पितृसत्तात्मक झल्काउँछ। समाज र परिवारले झुन्डाइदिएको यो पितृसत्तात्मक सोच तिलकमा फिल्मको सुरूदेखि अन्तिमसम्म देख्न सकिन्छ।
उनले आफ्नो मनको कुरा नभने पनि उनमा पुरूष हुनुको घमन्ड कहीँ न कहीँ हुन्छ। महिलासँग बिहे गरेपछि समुदायमा उनको स्वागत हुन्छ। फिल्मले सहज र नरम तरिकामा महिलामाथि कसरी पुरूषको शासन हुन्छ भनेर देखाएको छ।
समाज र परिवारले छोराबाट गर्ने मानक आशा पनि नीलो फूलको कथा हो। परिवारले आफ्नो छोरालाई महिलासँग नभएर पुरूषसँग बिहे गर्न मन भएको कुरा बुझ्न सक्दैन। पुर्खाले कमाएको इज्जत जोगाउनुपर्छ, छोरा भएपछि बिहे गर्नुपर्छ, बच्चा जन्माउनुपर्छ, श्रीमतीलाई आफ्नो हातमा राख्नुपर्छ, कमजोर बन्नु हुँदैन, पुरूषशासन कायम राख्नुपर्छ भन्छ। तिलकजस्ता धेरै पुरूषलाई समाज र परिवारले सानैदेखि यस्तै सिकाउँदै आएका छन्।
बिहे भएपछि बुहारीले सन्तान जन्माउनुपर्छ। आमा बन्ने कि नबन्ने भन्ने मातृत्वको नियन्त्रण महिलाले होइन श्रीमान, उसको परिवार र छिमेकीले गर्छन्। बिहे भएपछि बच्चा नजन्मनुको दोष पनि तिलककी श्रीमतीकै थाप्लोमा पर्छ।
बुहारीले बच्चा जन्माइदिए, घरको काम सबै गरिदिए, श्रीमानको सबै गल्ती स्वीकार गरे पवित्र हुने मान्यता हुन्छ। यी सबै मान्यतामा तिलककी श्रीमती असफल हुँदा उनी लच्छिनकी नभएको भन्न समेत परिवार पछि पर्दैन।
शिक्षित भए पनि तिलककी श्रीमती सासू र श्रीमानले भनेका कुराहरू मान्नुपर्छ मान्यता राख्छिन्। त्यसैले तिलकको पहिचान बुझेकी उनी सुरूदेखि नै अन्यायमा पर्छिन्। उनी श्रीमानको वास्तविकता थाहा पाएर पनि चुप बस्छिन्। आफ्ना रहर मार्छिन्। श्रीमानको कारण नभएका कुराहरूको दोष आफ्नै काँधमा लिइरहन्छिन्। स्वाभिमान र आत्मसम्मान पन्छाएर बच्चाकै लागि परपुरूषसँग शारीरिक सम्बन्ध राख्न राजी हुन्छिन्। यी कदमहरू चाल्न मन नभए पनि उनी बच्चा जन्माउनुपर्छ भन्ने मान्यताको भूमरीमा पर्छिन्।
बच्चा नजन्माएको दोष नआओस् भन्ने बहाना दिँदै तिलकले श्रीमतीलाई परपुरूषसँग शारीरिक सम्बन्ध राख्ने उपाय खोजेका हुन्छन्। माया दर्शाएर तिलकले उनकी श्रीमतीलाई यी सबै काम गराउँछन्।
'तिमी मेरो साथीसँग शारीरिक सम्बन्ध राख। बच्चा भयो भने हामीलाई कसैले औंला उठाउन सक्दैन,' उनी श्रीमतीलाई भन्छन्।
तिलक आफ्नो इच्छाअनुसार समलिंगी पुरूषसँग सम्बन्ध राख्छन्। श्रीमतीलाई बच्चाका लागि अर्का पुरूषसँग शारीरिक सम्बन्ध राख्न भन्छन्। उनले महिलाको यौनिकता पनि नियन्त्रण गर्छन्। उनको बिहे जबर्जस्ती भए पनि उनीभन्दा उनकी श्रीमतीले धेरै लडाइँ लड्नुपर्छ।
समलिंगी पुरूषको एउटा बाध्यता हुन्छ। तर पितृसत्ताले हुर्काएको तिलकले आफ्नो बाध्यताको खाडलमा महिलालाई पनि पार्छन्। तिलकको सट्टा उनकी श्रीमती समलिंगी भएको भए उनले स्वीकार गर्थे? 'मेरो यौन चाहना केटीसँग मात्र छ' भन्दा उनले बुझ्थे?
यो प्रश्नको जवाफ तिलकको व्यवहारमा भेटिन्छ।
फिल्मले समलिंगीको पहिचानलाई फराकिलो बनाउन सकेको छैन। समलिंगी पुरूषको कथालाई यौनिकतासँग दाँजेर देखाएको छ। समलिंगी पुरूष भनेको कुनै अर्को पुरूषको यौनिकतासँग मात्र नभएर मानसिक, भावनात्मक र प्रणयात्मक रूपमा आकर्षण हुनु हो।
मुख्य पात्र तिलकले आफ्नो पहिचानका लागि लडेको पनि देखिँदैन। बिहे हुदाँसम्म पनि उनको पहिचान खुलेको हुँदैन। श्रीमतीसँग शारीरिक सम्बन्धको कुरा आउँदा र पुरूषसँगै शारीरिक सम्बन्ध गर्दाको दृश्यले मात्र उनी समलिंगी हुन् भन्ने थाहा हुन्छ।
बिहे नगर्ने भनेर भागेको र बच्चा नजन्माएको भनेर मात्र उनीसँग परिवार रिसाएको हुन्छ। यसको कारण भने कसैले खोज्दैन। त्यसैले तिलक बिहेदेखि बच्चासम्मको संघर्षमा घोत्लिनुपर्छ। उनको संघर्षमा उनकी श्रीमती धेरै भागीदार हुनुपर्छ।
नेपाली समाजले अझै पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सहजै स्वीकार गर्न सकेको छैन। फिल्मले समलिंगी पुरूषको कथा भन्न खोजेको छ। तर मुख्य पात्र (तिलक) लाई न्याय गर्दा सहायक पात्र ( उनकी श्रीमती) माथि अन्याय भएको छ।
नीलो फूलका निर्देशक सुनीलबाबु पन्त भन्छन्, 'यौनिकताको चस्मा लगाएर यो फिल्म हेरियो भने बुझिँदैन। छोराले पुर्खाले कमाएको इज्जत जोगाउनुपर्छ, बिहे गर्नुपर्छ, बच्चा जन्माउनुपर्छ भन्ने पितृसत्तात्मक सोच भएको परिवारले महिला र पुरूषबाहेकका यौनिक पहिचान पनि हुन सक्छन् भन्ने नबुझ्दा के हुन्छ भन्ने कथा फिल्मले समेट्न खोजेको हो।'
नीलहिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) का संस्थापक हुन् पन्त। यहाँ काम गर्ने क्रममा उनले केही समलिंगी पुरूषहरू भेटेका थिए। तिनैमध्ये एक समलिंगी पुरूषले बताएको वास्तविक कथा हो यो।
'मसँग यो पुरानो कथा थियो। त्यहीँबाट भन्न सुरू गरौं भनेर यो कथा फिल्ममा ल्याएका हौं,' संविधान सभाका पूर्वसदस्य समेत रहेका उनले भने।
लोकतन्त्र, संविधान दुवै आए पनि सीमान्तकृत वर्गका समस्या अझै सम्बोधन नभएका बेला यो फिल्मले केही हदसम्म मुद्दा समेटेको उनको भनाइ छ।
करिब एक दशक पुरानो भए पनि यो कथा आज उत्तिकै सान्दर्भिक छ। आफ्नो यौनिक पहिचान भन्न नसक्ने र परिवारले पनि बुझ्न नसक्ने अवस्था ज्युँकात्युँ छ। यसले दुई मान्छेको जीवनसँगै परिवारलाई नै अँध्यारोमा धकेलिरहेको हुन्छ।
'नेपाली फिल्मले समलिंगीका कथा बोले पनि जबर्जस्ती बिहेबारे बोलेका छैनन्। त्यसैले यो फिल्म त्यसमै केन्द्रित छ। परिवारले जबर्जस्ती बिहे गरिदिँदा समलिंगी पुरूषले कस्तो संघर्ष गर्नुपर्छ भन्नेबारे हो नीलो फूल,' पन्तले भने।