हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तिलगाउँमा पुनः भेलबाढी आएको छ। सोमबार अपराह्नतिर भेलबाढी आएको खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद शिव बास्कोटाले जानकारी दिए।
अपराह्नतिर ठूलो भेलबाढी आएको भए पनि क्षतिको विवरण प्राप्त भइसकेको छैन।
'आज नाम्खा–६ मा पुनः भेल–बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यसपटकको घटना जेठ १ गते राति तिल्जुङ खोलामा आएको भन्दा फरक ठाँउबाट आएको देखिएको छ। प्रारम्भिक रूपमा प्राप्त फोटो तथा भिडियो सामग्रीको विश्लेषणबाट यस पटकको भेल गाउँको उत्तर–पश्चिम दिशाबाट बग्ने स्योगान खोलाबाट आएको सम्भावना देखिएको छ,' बास्कोटाले भनेका छन्।
स्योगान खोलाको माथिल्लो तटीय क्षेत्रमा समेत हिमतालहरू रहेको नक्सा तथा भू-उपग्रहको तस्बिरमा देखिने उनले बताएका छन्।
गत जेठ १ गते तिल्जुङ खोलाको माथिल्लो जलाधारमा दुई वटा हिमतालको पानी चुहिएर भेलबाढी आएको निष्कर्ष निकालिएको थियो। वैज्ञानिक भाषामा त्यसरी हिमतालको पानी चुहिनुलाई थर्मोकार्स्ट भनिन्छ।
'यस घटनाले हिमाली क्षेत्रका बस्तीहरू जलवायु परिवर्तन, हिउँ पग्लिने दरमा भएको तीव्रता, तथा उच्च भेगका अस्थिर भू–भौगोलिक अवस्थाहरूका कारण अझ बढी जोखिममा रहेको संकेत गर्छ। यस्ता घटनाले त्यहाँको भौगोलिक संवेदनशीलता मात्र होइन, जनजीवन, संरचना र दीर्घकालीन बसोबासको सम्भावनालाई समेत प्रश्नमा ल्याएको छ,' उनले भनेका छन्।
उनले यस्ता उच्च जोखिमयुक्त क्षेत्रमा वैज्ञानिक अध्ययन, स्थानीय चेतनामूलक कार्यक्रम तथा दीर्घकालीन पूर्वतयारीलाई थप सशक्त बनाउनु अपरिहार्य देखिने बताएका छन्।