एका बिहानै मोबाइलमा बजेको घण्टीले आँखा खुल्यो। उठेर घडी हेर्दा बिहानको ४:३० बजेको रहेछ।
‘ओहो! आज त हुम्ला जान नेपालगन्ज आई बसेको पनि तेश्रो दिन भयो,’ मनमनै भन्दै थिए।
भनिन्छ नि बिहानै मुख धुनेबेला केहि कुरा सम्झिए पूरा हुन्छ, हो म आज मुख धुदै फ्लाइट होस् भन्दै कामना गरिरहेको छु।
शनिबार बिहानै हुम्ला उड्न शुक्रबार साँझ हाम्रो टोली नेपालगन्ज पुगेको थियो। सोमबार बिहान फ्लाइट हुने भरोसामा पुनः राँझा एयरपोर्ट गयौं।
हरेक दिन बिहानै एयरपोर्टमा झोलाको जाँच गराएर बोर्डिङ पास लिन्थ्यौं। त्यसपछि छट्पटिँदै चिया त खाजा खान निस्किन्थ्यौं। एयरपोर्ट भित्रै डबलभन्दा धेरै मूल्य तिरी चिसो पिउँन्थ्यौं।
खानपानको कुनै समय थिएन। बाहिर खाँदा निस्किँदा मौसम खुली पो हाल्ने हो कि भन्दै दिनभर कक्षाकोठामा बसेको विद्यार्थीझैं बस्थ्यौं।
‘कृपया ध्यान दिनुहोला फलानो एयरबाट हुम्ला जानुहुने महानुभावहरू सुरक्षा जाँच गरी बोर्डिङ लिई डिपार्चरतर्फ प्रस्थान गरिदिनुहोला,’ भनेर माइकिङ हुन्थ्यो। हामी भित्र जान्थ्यौं।
सुरक्षा जाँच गरी भित्र छिर्दै दुई बजिसकेको हुन्थ्यो। मौसम खुल्दै गएपनि हावा लाग्ने कुराले प्लेन उड्लाझैं हुन्थ्यो। नलाग्दा पनि कतै उडिहाल्छ कि भन्ने झिनो आशा हुन्थ्यो। नेपालगन्जबाट काठमाडौं जाने यात्रुहरू आउनेजाने क्रम चलिरहन्थ्यो।
अस्पतालमा डाक्टरले बिरामी कुरूवासँग भन्छ नि, ‘माफ गर्नुहोला हामीले लाख प्रयास गर्दा पनि तपाईको बिरामीलाई बचाउन सकेनौं।’
हो त्यस्तै दुःख लाग्थ्यो जब माइकिङमा ‘कृपया ध्यान दिनुहोला, फलानो एयरबाट हुम्ला, जुम्ला, रारा, डोल्पा जानुहुने सबै महानुभावहरू! मौसमको कारणले गर्दा उडान रद्द गरिएको छ, यसबाट यात्रु महानुभावहरूमा पर्न गएको असुविधाप्रति फलानो एयर क्षमाप्राथी छ, धन्यवाद।’
फेरि आफ्नो झोला समात्यो अनि लाग्यो नेपालगञ्जर्फ, भोलि त उडान पक्कै होला भन्ने आशामा।
हरेक दिन बिहानै जाने गर्थ्यौं। अनि दिनभरी प्लेन उड्ने आशामा एयरपोर्ट धाउँथ्यौ। एयरपोर्ट धाएर त्यहाँका सुरक्षाकर्मी र कर्मचारीको अनुहार पनि चिनिसकेका थियौं। यसरी प्लेन बुक गरेर एयरपोर्ट धाउनु मेरो लागि नौलो कुरा थिएन।
केहि महिना अघि रारा घुम्न जाँदा पनि यस्तै भएको थियो। दिनभर एयरपोर्टमै बसेर भोलिपल्ट मात्रै प्लेन उडेको थियो। हिमाली जिल्लामा केहि फ्लाइटले मात्रै उडान गर्ने भएका कारण मौसम प्रतिकुल नहुँदा उडान रद्द भइहाल्थ्यो। यस्तै मौसम खुलिहाले पनि १२ बजेपछि हिमाली जिल्लामा हावा धेरै चल्ने हुँदा उडान रद्द भइरहन्छ।
नेपालमा हिमाली उडानहरू कति हेपिएका छन् भने अर्को ठाउँमा व्यवस्थापन कमजोर छ। तर वायुसेवा आफैंले सुधार, स्याहार-सम्भार गर्न सक्ने कुरामा पनि महत्व नदिएको देखिन्छ। प्लेनभित्र सिट नम्बर नै छैन। टुटेफुटेका ठाउँमा डोरीले बाँधेर काम चलाइएको छ। एयर होस्टेज जिन्स पाइन्ट लगाएर बसेका हुन्छन्। जसले गर्दा यात्री हो वा चालक दल चिन्न सकिँदैन।
पहिलोपटक हिमाली उडानमा प्लेन उडेदेखि ल्याण्ड नभएसम्म मुटुले ठाउँ छोडेको थियो। धेरै पहाडको खोंचहरू पार गनुपर्ने हुँदा बढि हल्लाएको महशुस भएको थियो।
पाइलटलाई प्रत्यक्ष देखिँदा त्रासको विन्दुले पहाड छोएको थियो। कतै पाइलटले केहि काम बिर्सिने हुन् कि भन्ने मनमा आशंका पैदा हुन्थ्यो। प्लेनबाट झरेपछि ठूलै युद्ध जितेर आएझैं महशुस भएको थियो। बिस्तारै हिमाली उडान अभ्यस्त हुँदै गएपछि यी कुरा सामान्य भएका छन्।
प्लेन टिकटमा राजनीति
नेपालका हिमाली जिल्लाका उडानको लागि अझैसम्म व्यवस्थित टिकट तथा अनलाइन बुकिङ सञ्चालनमा छैन। केहि समयअघि तारा एयरले सुरूवात गरेको थियो। तर हाललाई उक्त व्यवस्था हटाएको छ। अझै पनि फोन गरी वा भौतिक रूपमा एयरपोर्ट गएरै टिकट काट्नुपर्ने परम्परा छ। समयतालिका अनुसारको फ्लाइट सुविधा उपलब्ध नभएको हो कि झैं देखिन्छ। किनकी मैले धेरैपटक चार्टर फ्लाइटमा यात्रा गर्नुपरेको छ। चार्टर फ्लाइट भनिसकेपछि साधारणभन्दा केहि महँगो रकम तिर्नुपर्ने हुन्छ।
चार्टर फ्लाइट बुक गर्न पनि चिनेजानेकासँग सम्पर्क गर्नुपर्ने हुन्छ। सिधै एयरलाइन्सलाई फोन गर्दा नपाइने हुँदो रहेछ। चार-पाँचपटक हिमाली जिल्लामा मुस्किलले फ्लाइट मिलाएर गई फर्किदाँ अहिले मोबाइलमा फलानो एयर, नेपालगञ्ज एयरपोर्ट भनी लेखेर सेभ गरेका नम्बरहरू दर्जन कटिसकेका छन्। सिधै बुक गर्न नसकिने, फ्लाइट एजेन्ट वा ट्राभल एजेन्टबाट बुक गर्नुपर्ने भएर सधैंजसो गाह्रो हुन्छ।
चार्टर फ्लाइट बुक गराएपछि प्लेनमा हुने १७-१८ सिटको बोर्डिङ पास एजेन्टसँग पुग्ने रहेछ। मुगु जानलाई भनेर एकाबिहानै एयरपोर्ट पुगेको थिएँ। बिहान हुम्ला उड्ने उडानका लागि दुईजना एजेन्टहरू, हातमा १७-१८ सिटको बोर्डिङ पास बोकी कसको ग्राहक पहिला जाने भन्दै तँछाडमछाड गरिरहेका थिएँ।
कस्तो अव्यवस्थित प्रणाली, ट्राभल एजेन्टअगाडी एयरलाइन्सहरू आफैंले ठोस निर्णय गर्न नसकेको देखिन्छ। एउटैले नेपालगञ्जदेखि हुने सबैजसो हिमाली उडान गनुपर्ने हुँदा कथमकदापी एउटा उडानमा प्राविधिक समस्या आए अन्य उडानको तालिकामा सोझै असर पर्ने रहेछ।
बल्लतल्ल कताकता सम्पर्क गरेर, कति दिन कुरेर जानलाई सम्म उडान मिलायो, फर्किँदा उस्तै सास्ती। फोन गरेर नाम टिपायो। यदि प्लेनमा यात्रु नपाउने मेसो भए फोन गरिगरि बोलाउछन्। जब यात्रु अलि बढी हुन्छन् तब दोश्रो कल उठाउँदैनन्।
मुगुको ताल्चा एयरपोर्टमा नेपालगञ्ज फर्किनलाई टिकट नपाएर चार रात पर्खेर आएको उदाहरण आफैंले देखेको छु। अर्को समस्या के भने यति खर्चले पुग्ला भनेर छुट्याएको बजेटले नपुग्ने मात्रै होइन। भौतिक नगदको समेत संकट परेर कतिपय अवस्थामा सकेसम्मको उपाय अपनाएको पनि छ।
रारा गएर ताल्चादेखि फर्किनलाई लोकल एजेन्टमार्फत हामी तीनजनालाई टिकट भनेको थिएँ। एकाबिहानै उठेर तालदेखि हिँडेर ताल्चा आएर एजेन्टलाई पैसा बुझाएर टिकट निश्चित भयो भनी ढुक्क मानी बसेको थिएँ। नेपालगञ्जदेखि काठमाडौंसम्मको टिकट काटेको थिएँ। केहि समयपछि एजेन्टले तीनवटा बोर्डिङ मेरो हातमा थमाइदिँदै गर्दा एकजना लोकल मान्छेले एउटा बोर्डिङ पास हातबाट खोसेको तितो अनुभव पनि छ। चार्टर फ्लाइट भएको हुँदा पासमा नाम नहुने भएपछि बोर्डिङ पास खोसिइँदा लाचार बनेर सँगै यात्रा गरेको साथीहरूलाई त्यहिदिन पठाएर अर्को दिन फर्केको उदाहरण पनि छ।
यात्रा जतिसुकै रमाइलो किन नहोस्, फर्किदाँ घटेका त्यस्ता नमिठो अनुभवले पुरै यात्रालाई खल्लो महशुस गराइदिने रहेछ। जति अनुरोध गर्दा पनि नमानेपछि क्याप्टेनलाई अनुरोध गर्नुस्, दिन सक्छन् भनेर रनवेसम्म पुगेर फर्किएको छु। दुईजना सँगैको साथीलाई प्लेन चढाएर फर्किनुपर्दा गोडाहरू गह्रौं हुन्छन्, एक पल स्तब्ध भएर फेरि अर्को दिन प्लेन आओस्, अनि आफूपनि उड्न पाइयोस् भनेर कामना गर्नुबाहेक अरू उपाय हुँदैन।
त्यहाँका स्थानीयले एयरपोर्टबाट फर्किसकेपछिको लाचार अनुहार देखेर भनेका थिए, ‘सर, यो विमानस्थल होइन, बेइमानस्थल हो।’
साँच्चै मलाई त्यो दिन यो बेइमानस्थल नै रहेछ भन्ने लागेको थियो। म जस्तै कर्णाली पहिलोपटक घुम्न आउने मान्छेले कर्णालीको यो किसिमको छाप लिएर जाँदा यहाँको पर्यटनलाई निकै असर पर्ने देखिन्छ।
पर्यटकीय आँखा
कर्णाली प्रदेश भौगोलिक रूपमा विकट भएपनि पर्यटकीय सम्भावना धेरै बोकेको ठाउँ हो। यहाँका दसौं जिल्लाले केहि न केहि पर्यटकीय महत्व बोकेका छन्। सुर्खेतमा बुलबुले ताल, काँक्रेविहार, देउती बज्यै, सल्यानमा खलंगा, कुपिण्डे दह, दैलेख दुल्लु क्षेत्र, पञ्चकोशी (श्रीस्थान, नाभिस्थान, कोटिला, पादुका, धुलेश्वर), जाजरकोटमा खलंगा बजार, रूकुम पश्चिम मुसिकोट बजार, स्यार्पु दह, कालीकोटमा मान्मा, पचाल झरना, जुम्ला सिँजा, तातोपानी, जुम्लाबजार, गुठीचौर, आकाशे ताल, मुगुमा राराताल, मुर्माटप, गमगढी बजार डोल्पामा से-फोक्सुण्डो, कान्जीरोवा हिमाल, जगदुल्ला ताल, सुलीगढ झरणा, हुम्लामा सिमिकोट, लिमि, मानसरोवरको ढोकासम्म सबै स्थान पर्यटनको उच्च सम्भावनाभित्र पर्छन्।
पर्यटकको गन्तव्यको हिसाबले केहि स्थान पछि परेको भएपनि हरेकको छुट्टै महत्व छ। पर्यटनलाई मुख्य पेशाको रूपमा अँगाल्ने हो भने कर्णालीमा प्रशस्त सम्भावना छ। यति सम्भावना हुँदाहुँदै पनि यात्रामा बटुलेको नमिठो अनुभवले एकपटक आफू पुगीसकेको ठाँउ अरू कसैलाई घुम्न जानुस् भनेर खुलेर भन्न सक्ने अवस्था छैन। यातायातकै सुविधा पनि केहि सहज हुँदो होस् त प्लेन नपाएपनि गाडीमा यात्रा गरौं भन्ने हुन्थ्यो। तर त्यो यात्रा झनै कठिन छ। नेपालको इतिहास, सभ्यता बुझ्न मात्रै भएपनि समय लिएर घुम्नैपर्ने ठाउँ हो कर्णाली। तर हामी पर्यटन प्रवद्धनमा अझै पछाडी छौं।
कर्णाली प्रदेशमा भौतिक पूर्वाधारले यातायात क्षेत्रलाई केहि महत्व दिई व्यवस्थापन गर्न सक्ने हो भने पनि यस क्षेत्रले पर्यटनमा फड्को मार्ने देखिन्छ। यस प्रदेशको राजधानी सुर्खेतबाट कम्तीमा प्रदेशभित्रका एयरपोर्टमा उडान संचालन गर्न सकेमा हाल भोगिरहेको उडानको समस्या कम हुन सक्छ। कर्णाली प्रदेशले अहिले घुम्न आउने पर्यटकहरूले अरूलाई घुम्न जान सिफारिस गर्न सक्ने वातावरण बनाउनुपर्छ।
यस प्रदेशमा आन्तरीक पर्यटक अहिलेको मुख्य सम्भावना हो। पर्यटन प्रवद्धनको रूपमा केहि धार्मिक, साहसिक पर्यटनलाई जोड दिनुपर्छ। हाल भइरहेको परम्परागत टिकट बुकिङ शैलीलाई थप व्यवस्थित गर्न अनलाइन माध्यमबाटै टिकट लिने व्यवस्था मिलाउन सक्ने हो भने आन्तरीक पर्यटन केहि हदसम्म बढ्न सक्छ। हाल कर्णाली एकपटक आएर टिकटको समस्या भोगिसकेकाले अरू पर्यटकलाई सिफारिस गर्न सक्ने बलियो आधार छैन।
कर्णाली प्रदेशका दस जिल्लामा सबै गरेर हाल ८ (सिमिकोट, जुफाल, ताल्चा, जुम्ला, मुसीकोट, चौरजहारी, सुनथराली र सुर्खेत) एयरपोर्ट भएपनि हाल कालकोटको सुनथराली एयरपोर्ट संचालनमा छैन। कर्णालीको राजधानी बिरेन्द्रनगरबाट सोझै फ्लाइट नहुँदा माथिका ६ वटै स्थानको यात्रालाई प्लेन चढ्नका लागि गाडी चढेर नेपालगञ्ज विमानस्थल पुग्नुपर्ने बाध्यता कर्णाली बासीमा छ। त्यसो त सुर्खेतबाट काठमाडौं जान पनि यहाँबाट एउटामात्रै फ्लाइट छ। उक्त फ्लाइट केहि महँगो भएकोले अधिकांश मानिस काठमाडौं जाँदा पनि नेपालगञ्ज धाउने गरेको पाइन्छ। सुर्खेतबाट हुम्ला, डोल्पा कार्गो फ्लाइटहरू भैरहने भएपनि यात्रुबाहक उडान नहुने हुँदा गाडी सुविधा भएको ठाउँमा गाडीबाट पुग्न सकिन्छ। गाडी पुग्न नसक्ने हुम्लाजस्तो जिल्लामा यात्रा धेरै कठिन छ।
मैले देखेको कर्णाली प्राकृतिक हिसाबले धनी प्रदेश हो। यहाँको प्रकृतिले मात्रै पनि कयौं पर्यटक मोहित हुन सक्छ। थोरै सिप र धेरै जोश अनि फोटोग्राफिमा चाहाना भएको हुँदा तस्बिरमा जस्तो कर्णाली देखाउँछु, कर्णाली सधैँ यस्तै हराभरा होस् भन्ने चाहान्छु। पीडाबीच, अभावबीच, उपेक्षाबीच अल्मलिएको कर्णाली बिलकुल होइन, यो जे छ, आफैंमा प्रकृतिको सुन्दर उपमा हो। वर्षौंदेखि आफ्नो छुट्टै पहिचान अनि इतिहास बनाउन सफल ग्रन्थ कर्णाली मैले बिगत एक-डेढ वर्षदेखि केही पाना पढ्दै छु।