फिल्म समीक्षा
यहाँ जो आउँछन्
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्
यहाँ जो बस्छन्
हत्केलाभरि खरानी र आँखाभरि धुँवा बोकेर बस्छन्
र यहाँबाट जो जान्छन्
पोल्टाभरि निभेका विश्वासहरू र ठुटा सपनाहरू सोहोरेर जान्छन्
यस्तो छ चार भञ्ज्याङ खाल्डो
एउटा चिसो एस्ट्रेजस्तो छ
यो चार भञ्ज्याङ खाल्डो।
भूपी शेरचनको यही 'चिसो एस्ट्रे' कवितामा आधारित भएर यही नामको फिल्म बनाएका हुन् निर्देशक दिनेश पाल्पालीले। उनका अनुसार यो फिल्मले उनलाई फनफनी घुमायो, बनिसक्न सात वर्ष लाग्यो।
यसका कलाकार तथा निर्माण टिमले फिल्म बनाउन लामो प्रतीक्षा गरेको प्रस्टै हुन्छ। यति धेरै प्रतीक्षापछि फिल्म गत शुक्रबारबाट हलमा रिलिज भएको छ।
काठमाडौंमा मान्छेहरूका सपना कसरी धुँवामा उड्छन् भनेर फिल्ममा देखाउन खोजिएको छ। खाल्डोका रूपमा देखाइएको काठमाडौंमा एक युवाको प्रवेश हुन्छ। उसको सपना धेरै छैन, मात्र 'पाखे' बाट सहरिया ठिटो बन्नु छ।
उसले यहीँ दुई साथीहरू भेट्छ। तीमध्ये एउटालाई गल्लीको डन बन्नु छ। अर्कोलाई संगीतको ट्र्याक बनाएर म्युजिक भिडिओमा काम गर्नु छ।
तीन साथी सँगै अघि बढ्छन्, म्युजिक भिडिओ बनाउनेदेखि लिएर सुकुलगुण्डाहरूसँग लड्नेसम्म।
विभिन्न सोच भएका उनीहरूबीच मतभेद सुरू हुन्छ। विवाद बढ्दै जान्छ। अनि त्यही विवादले निम्त्याउने कथामा बाँकी फिल्म घुमेको छ।
काठमाडौंमा वा अन्य कुनै सहरमा गाँउबाट आएकाहरूले चिसो एस्ट्रेको कथासँग भावना स्थापित गर्न सक्छन्।
यो फिल्मको सबभन्दा राम्रो पक्ष कलाकारको अभिनय हो। रंगमञ्च पृष्ठभूमिबाट आएका दिव्यदेवको अभिनयले फिल्मलाई जबर्जस्त बनाएको छ। उनी फिल्मको खम्बा हुन् भन्दा फरक पर्दैन।
पहिलो रिलिज फिल्म चिसो एस्ट्रेबाट दिव्यदेवले उत्कृष्ट अभिनेता हुने सम्भावना भरपुर उजागर गरेका छन्। उनको अर्को फिल्म ‘रूदाने’ आउँदैछ। चिसो एस्ट्रेको दमदार अभिनयबाट दिव्यदेवले रूदानेको प्रतीक्षा गराउन र अपेक्षा बढाउन सफल भएका छन्।
अभिनयकै पक्षमा रविन तामाङ तथा सुशीलराज पाण्डेले पनि तारिफयोग्य काम गरेका छन्।
बबी दाइको भूमिकामा रविन उम्दा ठहरिएका छन्। यस्तो भूमिकामा आफूलाई प्रमाणित गरिसकेका कलाकार हुन् रविन। 'नाका', 'मुखौटा' र 'छड्के' फिल्ममा 'गुण्डा दाइ' झल्किने भूमिकामा जमेका उनले चिसो एस्ट्रेको पर्दामा धेरै समय पाएका छैनन्। तर त्यतिमै आफ्नो अभिनयबाट दर्शकको मनमा छुट्टै स्थान बनाउन सफल देखिन्छन्।
सुशीलराजले पनि आफ्नो भूमिकालाई भरपुर न्याय गरेका छन्। फिल्ममा अनावश्यकजस्तो लाग्ने पात्रको भूमिका उनले यसरी निर्वाह गरेका छन् कि, उनको अभिनयले नै त्यो पात्रलाई महत्वपूर्ण बनाएको छ।
चिसो एस्ट्रेका अन्य कलाकारको अभिनयमा पनि खोट लगाउने ठाउँ देखिँदैन। सबैको काम तारिफयोग्य छ।
फिल्मको ब्याकग्राउन्ड स्कोर र रङ संयोजन उत्कृष्ट छ। यस फिल्मका कलरिस्ट कपिल पराजुली हुन् भने ब्याकग्राउन्ड स्कोर नोबल फ्रिक्सको हो।
चिसो एस्ट्रे फिल्म कस्तो छ भनेर एक वाक्यमा भन्नुपर्दा यो एउटा क्यानभासमा चित्रकारले रङ छरेर बनाएको एब्सट्र्याक्ट पेन्टिङ हो। एब्सट्र्याक्ट पेन्टिङ भन्नुको कारण, यसले आफ्नो कुनै धारणा दर्शकसामु थोपर्दैन। मात्र आफ्ना परिस्थिति र विचारहरू पोख्छ। त्यसबाटै दर्शकलाई आफ्नो धारणा बनाउने जिम्मेवारी दिन्छ।
निर्देशकले काठमाडौं आएका धेरै युवा आफ्नो सपना पूरा गर्ने क्रममा कसरी फनफनी घुम्छन् र यहाँका गल्ली तथा रक्सी पसलले कसरी उनीहरूलाई तान्छ भन्ने फिल्ममा देखाउन खोजेका छन्।
पात्रहरू राम्रा वा नराम्रा भनेर दर्शकलाई मूल्यांकन गर्न नदिन निर्देशकले ध्यान दिएको देखिन्छ। यसको प्रभाव क्लाइमेक्समा भएको द्वन्द्वमा देखिन्छ। त्यो द्वन्द्वमा दर्शकको कुनै प्रतिक्रिया उत्पन्न हुँदैन। दुई अपरिचित मान्छे एकआपसमा लडेजस्तो अनुभव हुन्छ।
द्वन्द्व सिर्जनाको कारक पात्रको भूमिकामा अभिनेत्री सृष्टि श्रेष्ठ छिन्। तर यो भूमिका र पात्र यति कमजोर तरिकाले देखाइएको छ कि, उसलाई हुने अन्यायमा पनि दर्शकमा भावनात्मक परिवर्तन आउँदैन। त्यस्तै उमाथि अन्याय भएको कुरा गोप्य किन राख्न खोजिएको हो भन्ने पनि स्पस्ट हुँदैन। सृष्टिको पात्र बलियो र दर्शकसँग थप जोडिन सक्ने भएको भए फिल्मको अन्तिम द्वन्द्व महत्वपूर्ण हुन्थ्यो।
त्यस्तै फिल्ममा राखिएका सस्पेन्सले दर्शकमा कौतुहलता उत्पन्न गर्दैन। बरू ती राज खोलेर अगाडि बढेको भए फिल्ममा दर्शक बढी बाँधिन्थे होला।
मुख्य पात्रमध्येकी शालिनताले भनेका 'सहरको आत्मा' जस्ता संवादले पनि दर्शकमा कुनै भावना उत्पन्न गर्न सक्दैनन्।
भूपीको कविताको नाममा फितलो फिल्म हुन नहुने दबाव निर्देशकमा पक्कै थियो। यही दबावका कारण निर्देशक प्रस्तुतिमा केही चुकेजस्तो भान हुन्छ। पात्रहरूप्रति दर्शकमा रोष प्रकट नहोस् भन्ने भावना र फिल्मलाई पात्रको भन्दा सहरको कथा बनाउन खोजेको देखिन्छ। मुख्य पात्रको बलियो कथा र ठूलो सपना नहुनुले पनि यसलाई प्रमाणित गर्छ।
मुख्य पात्रको भूमिकामा दिव्यदेवलाई बिनाकारण सहरको ठिटो बन्ने रहर छ। फिल्म भनिएजस्तो 'कुन गाउँले युवालाई सहरिया ठिटो बन्ने रहर हुँदैन र' भन्ने कुरा प्रस्ट्याउन फिल्म चुकेको छ। मुख्य पात्रलाई कुनै बलियो सपना दिएको भए सायद अझै मझबुत पात्र बन्न सक्थ्यो।
फिल्मका अर्का प्रमुख पात्र मदनले भूपी गल्ली खोजेको भनिएको छ। त्यो गल्ली किन खोजिएको हो भन्ने फिल्मले भन्दैन। मात्र भूपीको कविताको दबावले त्यो कुरा फिल्ममा राख्न निर्देशक तथा लेखक पाल्पालीमा परेको देखिन्छ।
पात्रहरूको सम्बन्ध स्थापनामा फिल्म कमजोर छ। पात्रहरू भेटिनेभन्दा पनि भेट्ने समय खोजी गरिरहेकाझैं लाग्छ। फिल्मको अन्त्यमा हुने रेप्लिका सिनेम्याटिक रूपमा राम्रो लाग्छ तर यसले कथामा कुनै फरक पारेको देखिँदेन।
केही कमीकमजोरीका बाबजुद चिसो एस्ट्रे समग्रमा राम्रो फिल्म हो, सबल पक्षले जितेको फिल्म हो। निर्देशक पाल्पालीले आफू राम्रो फिल्म बनाउन सक्छु भन्ने चिसो एस्ट्रेबाट प्रमाणित गरेका छन्।
एब्सट्र्याक्ट पेन्टिङका रङ छुट्टाउन, फिल्मको कथा आफैं बुझ्न र अनुमान गर्न मनपर्ने दर्शकलाई चिसो एस्ट्रेले निराश बनाउँदैन। कथा खुलस्त भएको, बुझ्न मानसिक मेहनत गर्न नपर्ने, मनोरञ्जनले भरिपूर्ण फिल्म हेर्न चाहनेका लागि भने नामजस्तै चिसो लाग्न सक्छ। तर फरक स्वादको फिल्म हेर्न चाहनुहुन्छ भने चिसो एस्ट्रे राम्रो विकल्प हुनेछ।