नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकताको प्रारूपमा प्रारम्भिक समझदारी जुटेको छ।
पार्टीको नाम, नीति र नेतृत्वबारे करिब करिब सहमति जुटेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए।
‘नाम, नेतृत्व र नीतिबारे करिब सहमति जुटिसकेको छ,’ ती नेताले भने, ‘चुनाव चिह्न र संगठनात्मक ढाँचाबारे हामी छलफलमै छौं।’
ती नेताले जानकारी दिएअनुसार एकीकृत समाजवादीले कात्तिक १२ देखि १४ गतेसम्म केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। त्यही बैठकले एकताको प्रारूप टुंग्याउने गरी पार्टीभित्र बहस भइरहेको छ।
सुरूमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट घटकबीच एकता गर्ने गरी छलफल सुरू भएको थियो।
विप्लव एकता प्रक्रियाबाट बाहिरिइसकेका छन्।
अब माओवादी केन्द्र, एकीकृत समाजवादी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्ने गरी छलफल निष्कर्ष उन्मुख रहेको एक पदाधिकारीले जानकारी दिए।
‘विप्लव एकता प्रक्रियामा नआउने भएपछि नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी) पार्टीबीच एकता गर्ने गरी छलफल अघि बढेको थियो। अहिले त्यो निष्कर्ष उन्मुख छ,’ ती पदाधिकारीले भने।
ती नेताले जानकारी दिएअनुसार कात्तिक मसान्तभित्रै एकताको टुंगो लागिसकेको छ।
सरकारले प्रतिनिधि सभा निर्वाचनको मिति फागुन २१ लाई तोकेको छ।
निर्वाचनको कार्यतालिका पनि आएको छ। त्यसअनुसार कात्तिक ३० गतेभित्र दर्ता भएका दलले मात्रै निर्वाचनमा भाग लिन पाउनेछन्। निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक प्रावधानले पनि दुई पार्टीलाई एकताको हतारो लगाएको हो।
एकता प्रक्रियामा सामेल रहेका पार्टीहरूले एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्ने तयारी गरेका छन्। यसमा अप्ठ्यारो देखिएको एक नेताले बताए।
उनका अनुसार यो नाम दलका रूपमा पहिले नै निर्वाचन आयोगमा दर्ता छ। राजु कार्की त्यसका अध्यक्ष छन् भने चुनाव चिह्न चाहिँ कार रहेको छ। यो दल २०८२ कात्तिक २ गतेसम्म अद्यावधिककै अवस्थामा छ।
‘कार्की नेतृत्वको नेकपा (समाजवादी) सँग दर्ता गरेर त्यही नाम राख्नेबारे पनि छलफल भइरहेको छ। उनले एकता प्रक्रियामा सामेलन हुन नमाने विकल्पका नामहरू पनि आएका छन्। पहिलो प्राथमिकता त्यही नाममै रहेको छ,’ ती नेताले भने।
पार्टीको मूल नीति (तात्कालीक कार्यक्रम) नेपाली विशेषताको समाजवाद हुनेछ। र, दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद रहने ती नेताले बताए।
‘एकीकृत पार्टीले मार्क्सवाद र लेनिनवादलाई मान्छ। शान्तिपूर्ण राजनीतिक संघर्षमा विश्वास गर्छ। तर यसमा जनविद्रोह हुन सक्ने कुरालाई कहीँ न कहीँ ठाउँ दिनुपर्ने कुरा पनि बहसमा छ। यो विचारलाई पनि एकीकृत पार्टीले वहन गर्ने छ। पार्टीको कार्यक्रम नेपाली विशेषताको समाजवाद हुनेछ र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद स्थापना गर्नु हुनेछ,’ ती नेताले भने।
एकीकृत पार्टीको नेतृत्व पनि टुंगो लागिसकेको छ। एकीकृत पार्टीको नेतृत्व माओवादी केन्द्रका महाधिवेशन आयोजक कमिटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्। माधवकुमार नेपालको सहसंयोजकका रूपमा हुने कि, अरू विकल्पमा जाने भनेर पनि छलफल भइरहेको ती नेताले बताए।
‘सहसंयोजकभन्दा अरू नै भूमिका खोजौं भनेर छलफल भइरहेको छ। यसमा चाहिँ टुंगो लागिसकेको छैन,’ ती नेताले भने।
चुनाव चिह्नबारे पनि छलफल भइरहेको दुवै पार्टीका नेताहरूले बताएका छन्। अहिले माओवादी केन्द्रले गोलाकार भित्र हँसिया हथौडा प्रयोग गरिरहेको छ। एकीकृत समाजवादीले कलम चिह्न प्रयोग गर्दै आएको छ।
तर यी दुवै चिह्न नराख्ने पक्कापक्की भएको ती नेताले बताए।
‘दुई अक्षरको उच्चारण गर्न सजिलो हुने र छरितो चिह्न खोजिरहेका छौं,’ एकीकृत सामाजवादीको जोड कलम नै राखौं भन्ने छ। तर उहाँहरूले मानिराख्नुभएको छैन। गोलाकारभित्र हँसिया हथौडा नाम नै लामो भएकाले चुनाव चिह्नको विकल्प खोजौं भनेर छलफल भइरहेको हो।’
सांगठनिक संरचनाबारे पनि टुंगो लागिसकेको छैन। दुवै पार्टीका नेताहरूले बताएअनुसार केन्द्रीय कमिटीको आकार भीमकाय हुने देखिएको छ।
अहिलेसम्मको समझदारीअनुसार दुवै पार्टीका केन्द्रीय सदस्यहरूलाई एकीकृत पार्टीको केन्द्रीय कमिटीमा स्थान दिने तयारी भएको छ। माओवादी केन्द्रको केन्द्रीय समिति ४०८ सदस्यीय छ। एकीकृत समाजवादीको ३४१ सदस्य हाराहारी छ। सुरूआती केन्द्रीय कमिटी ३४१ सदस्यीय थियो। पछि केही सदस्यहरू थपिएका थिए। यसबीचमा केही नेताले पार्टी छाडेकाले उक्त संख्या बराबरजस्तै हुन पुगेको छ। महिन्द्र राय यादव समेतको पार्टी मिसिँदा केन्द्रीय कमिटीको आकार आठ सय पनि नाघ्ने देखिएको ती नेताले बताए।
‘एकीकृत प्रक्रियामा सामेल पार्टीको केन्द्रीय सदस्य कसैले पनि अपमानित महसुस गर्नु नपरोस् भनेर सबैलाई अटाउने तयारी गरेका छौं,’ ती नेताले भने, ‘पछि महाधिवेशनमा प्रतिस्पर्धा भयो भने त्यहाँबाट आकार घट्छ।’
माओवादी केन्द्रसँग एकता गर्ने भएपछि एकीकृत समाजवादीभित्र असन्तुष्टि चुलिएको छ।
एकीकृत समाजवादीभित्र समाजवादी मोर्चा घटक दलसँग एकता होइन पहिले पार्टी पुनःगठनको बहस पनि बाक्लिइरहेको छ। असोजको अन्तिम साता बसेको स्थायी कमिटी बैठकमा ७ जनाले माधवकुमार नेपालको राजीनामा नै माग गरेका थिए।
पत्नीको उपचारका लागि भारत रहेका पार्टीका सम्मानित नेता झलनाथ खनालले बेला न कुबेला एकताको सहनाइँ नबजाउन चेतनावनी दिएका थिए।
उनले पार्टी भित्रका युवाहरूले उठाएको पुनःगठनको आवाजलाई सुन्न पनि भनेका थिए।
‘हाम्रै पार्टी भित्रका युवाहरूको आवाज अनुरूप समेत पार्टीलाई सहि वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तका आधारमा पुनर्गठन गरौं, पार्टीलाई आमूल परिवर्तनकारी र नेपाली विशेषताको सामजवादका निम्ति दृढ संकल्पित पार्टीमा रूपान्तरण गरौं, यही दिशाका आधारमा सकेसम्म सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरूलाई गोलबन्द गरौं। एउटा बृहत् राष्ट्रिय मोर्चाको निर्माण गरौं र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा बृहत् योजनाका साथ अघि बढौं। मेरो विचारमा आजको सही मार्ग यही हो। कुबेलाको सहनाई बजाउनतिर कोही पनि नलागौं। सिंगो पार्टीलाई एकताबद्ध बनाएर पुनर्गठन र रूपान्तरणको ऐतिहासिक मार्गतिर अघि बढौं,’ उनले भनेका थिए।
पछिल्लो समय पार्टी एकता गर्नुहुँदैन भन्ने आवाज साँघुरिएको एकीकृत समाजवादीका माधवकुमार नेपालनिकट एक नेताले बताए।
‘सम्मानित नेतासँग कुरा भइसकेको छ। बृहत् वाम ध्रुवीकरणबिना आन्दोलन समृद्ध बनाउन सकिँदैन भन्ने उहाँहरूले पनि बुझ्नुभएको छ,’ ती नेताले भने।
सम्मानित खनालले पनि आफू बृहत् वाम एकताकै पक्षमा रहेको बताएका छन्। तर त्योभन्दा पहिले पार्टी पुनःगठन हुनुपर्ने उनको भनाइ छ।