मध्यम कदको यो व्यक्ति निकै चलाख छ। छाँटकाट मिलेको व्यक्तित्व छ उसको। चश्माभित्र चलमलाउने उसका आँखा सिसिटिभि क्यामराका लेन्स जस्ता लाग्छन्। बिस्फारित उसका आँखा झट्ट हेर्दा ज्ञानी महात्माका जस्ता लाग्न सक्छन्।
कवि हुनु पर्ने हो यो मानिस। पेशाले भने ऊ दलाल हो। कसैको भित्री मनको रहस्य थाहा पाएपछि जसरी झिँगाले मिठाइबाट गुलियो चुसेर बिस्टा गर्छ, यो दलाल पनि उसले चुसेका मानिसहरुको जीवनलाई त्यस्तै गर्छ। आपतमा परेका व्यक्तिबिच ऊ यसरी पुग्छ मानौँ ऊ देवदुत हो। महिला मित्रलाई प्रयोग गर्छ। अनि प्रयोग गरिसकेपछि तिनलाई आत्महत्या गर्न छोडिदिन्छ।
बाठा भन्दा बाठा नेताहरूको पनि ऊ मन छाम्न सक्छ। सुरा र सुन्दरी आपूर्ति गर्छ। सेवक भएर उसलाई पनि चुस्न सफल हुन्छ। ऊ साँच्चिकै बाघचालको खेलाडि हो। पसलअगाडि सडकको छेऊमा समय काट्न अनि रमाइलो गर्दै बाघचाल खेल्ने साधारण मनुवाहरु उसको गोटि भएको तिनलाई नै थाहा हुँदैन।
यो देशमा चलायमान बामपन्थि राजनीतिको प्रभाव परेको थियो उसलाई कुनै बेला। आमुल परिवर्तनका लागि होमिएको थियो, ऊ पनि। त्यहि भएर ऊ नेताहरुका मन र मस्तिष्कसँग परिचित छ। यहि ज्ञानलाई नै ऊ भर्याङ बनाएर माथि चढ्दै आएको छ।
उसको हातमा चुरोट प्रायः सधैं हुन्छ। उसको चुरोट तनाई धित मार्न भन्दा पनि कसैलाई झुक्याउन भएको आभाष दर्शकलाई हुन्छ। एक–दुई सर्को तानेपछि ऊ कुनै कुनामा लगेर चुरोट यसरी निभाउँछ मानौं ऊ त्यहाँ केही लुकाइरहेको छ। यस्तो चलाख र कुटिल मानिस त खासमा नायक हुनुपर्ने हो, तर ऊ भएको छ खलनायक।
यो पात्र को नाम हो, शोभित। कलाकार अनोज पाण्डेले मन्चमा आफ्नो अभिनयले बडो प्रभावकारी ढँगमा उतारेका छन्। नाटक हो ‘ढल्केको सालैजो’। टेकुस्थित कौशी थिएटरको मञ्चमा प्रस्तुत यो नाटक र खासगरी यो पात्रले हाम्रो समयको कथा जोडदार रुपमा बोल्दैछ यही २०२२ मार्च ०५ को साँझदेखि।
वर्तमान समयको यो डरलाग्दो यथार्थ रंगमन्चमा उतार्न सफल भएका छन्, नाटककार आशान्त शर्मा। आफूले लेखेको नाटक आफैँले निर्देशन गरेका उनले मन्चलाई ताजा कथा दिएका छन्। दुई वर्षअघि महामारीको प्रकोपले गर्दा काठमाडौंमा मौलाउँदै गरेको रँगमन्च एक्कासी बन्द हुन पुग्यो। अब खुल्दा रंगमन्चले के कथा लिएर आउने होला? कलाकारहरु के सोच्दै होलान्? यी विचारहरु हाम्रो मनमा आइरहनु स्वभाविक थियो। लगभग दुई वर्ष बन्द भएपछि पुनः गति पाइरहेको रंगमन्चमा आशान्तको ‘ढल्केको सलैजो’ ले यही अप्ठ्यारो समयको कथा बोल्छ।
नायक बृहस्पति बडो दुःख र इमानले बनिएको एउटा जीवन्त पात्र हो। हातले बुनेको कार्पेट पर्यटकहरुलाई बेचेरे राम्रो उन्नति गरेको उसको दिन अब अप्ठ्यारोमा पर्न थाल्छन्। नैतिक रुपले ऊ बलियो छ तर आर्थिक समस्याले उसलाई बेचैन बनाइरहेको छ। गण्डकी प्रदेशमा जन्मे हुर्केको ऊ साँस्कृतिक रुपले पनि जीवन्त छ। उसलाई सलैजो गाउन अनि नाच्न औधि मन पर्छ।
नाटकको अन्त्यमा यो पात्र आफ्नो दुःखले आज्र्याको सानो पसल माथि भनिएको छट्टु मित्रलाई सुम्पन विवस हुन्छ। गाँऊमा सलैजो छ। उसको बारी छ। बा–आमा छन्। ऊ भित्रबाट भत्किएको छैन। रोव श्रेष्ठको गतिलो शरिर र नरम आवाजमा यो पात्र जीवन्त भएर प्रफुस्टित हुन्छ। सलैजो भाखा गाँउदा र नाँच्दा श्रेष्ठले प्रदर्शन गर्न सकेको सहजताले दर्शकको मन जित्छ।
अनुप बरालका विद्यार्थी अनि सहयात्री आशान्तले गएको बीस वर्षमा नेपाली रंगमन्चमा दिएको उर्जा सम्मान गर्न लायकको छ। सबिने लेहमानदेखि डेब्राह मेरोलाले निर्देशन गरेका अंग्रेजी नाटकका जटिल भन्दा जटिल पात्र पनि आशान्तले बडो कुशल ढंगमा मन्चमा उतारेका छन्। अनुप बरालका नाटकमा अभिनयदेखि सह–निर्देशन गरेका छन्, उनले।
पछिल्ला वर्षहरुमा आफैँ नाटक लेख्दै अनि निर्देशन गर्दे पनि आइरहेका छन्। साना गाँठीका यी कलाकार बेजोड प्रतिभाका धनी हुन् भन्नेमा कसैको दुई मत नहोला। आशान्तको अभिनय हेर्दा रंगमन्चको सुन्दरता र अनुशासन झनै बलियोसँग बाचाल भएको आभाष हुन्छ। आँखा, ओठ, बोली र अनुहारले चर्चिने क्यानभास एउटा सघन संगती बनाएर देखा पर्न थाल्छन् उनको अभिनयमा।
उनी शब्द मुखबाट मात्र छोड्दैनन्। सम्पूर्ण अनुहारले चर्चेको क्यान्भासमा आफ्ना आकार र कम्पन छोडेर निस्कन्छन् उनका शब्दहरु। त्यस अर्थमा उनी संवादलाई ज्यादै नियन्त्रण पनि गर्दैनन्। न त ज्यादै खुला छोड्छन्। यही शैली उनले यो नाटकको प्रस्तुतिमा प्रत्यारोपण गर्ने कोशिस गरेका छन्। अभिनयको हिसाबले अब्बल दर्जाको यी कलाकारले निर्देशन क्षेत्रमा जमाउन लागेको यो पकड उनको व्यक्तिगत चाख मात्र रहेन, समालोचकहरूले चर्चा गर्नुपर्ने विषय पनि भएको छ।
यो प्रस्तुतिमा आशान्तले गएको बीसौं वर्षदेखि आज्र्याको सीप र कौशलताको प्रयोग भएको पाइन्छ। नृत्य विधामा अति नै अब्बल गुरुको रुपमा चिनिने आशान्तले योभन्दा अगाडि गरेका निर्देशन र रचनामा महानगरिय परिवेश बाचाल भएको देखिएको थियो। हिपहप र पप जनिन नृत्य भंगिमाको रंगमन्चिय प्रयोग गरेका थिए ती प्रस्तुतिहरुमा। यसपाली भने उनले सलैजो भाखाका गीत र नृत्य प्रयोग गरेर पात्रहरुले बोकेको कोमल मन र असल हृदय पस्कन सफल भएका छन्।
प्रत्यक्ष संगीत र गीतले मन्चमा थप ताजगी थपेको छ। आँचलिक परिवेशका यी पात्रहरु एक आपसमा सहजै विश्वास गरिहाल्छन्। उनीहरु ढुक्क भएर स्थानिय लयमा वार्तालाप गर्न थाल्छन्। शायद, नेपाली जनजाति सँस्कृतिको यो एउटा प्रमुख चरित्र हो।
बृहस्पती र शान्ता दम्पतीबिच उत्पन्न हुने बिमती एकैछिनमा सहमतिमा परिवर्तन हुन्छ। एउटै लय अनि एकै प्रकारका वाक्य बिन्यासमा संवाद गर्न थाल्छन्। यो सबै हेर्दा आशान्त एउटा नाटककारको रुपमा संवाद बिन्यासमा सफल भएको आभाष हुन्छ दर्शकलाई। उनीजस्तो चमात्कारी अभिनय र कोरियोग्राफी गर्ने क्षमता भएको निर्देशकलाई मन्चमा दृश्यात्मक रुपले घनिभुत संरचना निकाल्नु गाह्रो विषय नहोला।
एकाध घन्टाको प्रस्तुति बनाउनु त्यति गाह्रो काम होइन उनीजस्ता कलाकारका लागि। तर उनी संवादलाई पनि मन्चमा सम्मानजनक स्थान दिन रूचाउँछन्। यो शब्द अनुशासनले आशन्तलाई झनै बलियो नाटककार र निर्देशक बनाउनेछ भन्ने अनुमान हामी गर्न सक्छौँ।
खलनायकले जितेको यो कथा पस्केर आशन्तले हामी माथि छाउन आएको राजनैतिक र आर्थिक समयमाथि चोटिलो प्रहार गर्न सफल भएका छन्। खलनायकको जितसँगै नाटक अन्त हुँदा बजेको तालि हामी आशान्त शर्माको सृजना शक्तिलाई अर्पण गछौँँ।
त्यसो त नाटकमा प्रयोग गरिएको प्रेम प्रसंगले कथालाई चुस्त हुन त्यति सहयोग गरेको छैन कि भन्ने लाग्छ। बेलाबेलामा पात्रहरुको मनमा सलैजोको मात चढेको भान त्यति स्वभाविक लाग्दैन। शान्ता पात्र अझै मुखरित हुन सकेको भए हुन्थ्यो कि भन्ने पनि बेलाबेला लागिरहन्छ। तर पनि नाटकले समसामयिक विषयमाथि बलियो पकड बनाएको छ।
निर्देशकको रुपमा आशान्तले मन्च विधान सुन्दर ढंगले गरेका छन्। टुर गाइड (टुगा) र रमनले खेलिरहने बाघचाल, चरम आर्थिक अभावले गर्दा आफ्नै दराजको साडी बजारमा बेच्नु पर्दाको लक्ष्मीको विवशता झल्काउने दृश्य विधान, आगन्तुक मल्टिन्याश्नल कम्पनीका स्थानिय एजेन्टको भाव भंगिमा, उसको लवाई, हिँडाई र बोलाई आदिलाई रंगमन्चिय हिसाबले उत्कृष्ट स्तरको सम्पादित अंशको रुपमा लिन सकिन्छ। छोटो भुमिकामा आउने पात्रहरुलाई जीवन्त ढँगमा प्रस्तुति गराउन पनि निर्देशक सफल भएका छन्।
अन्तमा, अब्बल दर्जाका गुरुहरु अनि प्रतिभाशाली देशी–विदेशी निर्देशकसँग काम गरिसकेका आशान्तसँग भएको श्रोत र साधन भनेको उनको शब्द र अभिनय कौशलता हो। आफ्नो नाट्य समुहको नीजि नाटक केन्द्र नहुँदा पनि कसरी अब्बल दर्जाको कलाकार आफैँमा एउटा केन्द्र हनु सक्छ अनि लामो समयसम्म साधनारत यस्ता कलाकारको सम्मान किन गर्नुपर्छ भन्ने यो प्रस्ट बताउँछ आशान्तको ‘ढल्केको सलैजोले’।