खर्पनमा पुस्तक ‘ज्ञ’ अनि ह्विस्की।
शनिबार कुमार नगरकोटीको पुस्तकको लोकार्पण केही भिन्न किसिमको थियो। बुकअहोलिक्स समूहकी संस्थापक सगुना शाहले पुस्तकको लोकार्पण गरिन्। ह्विस्की भने पञ्चपुरुप भनिएका नगरकोटीका प्रिय पाचँ पुरुषले पिए। पञ्चपुरुषमा लेखक तथा समिक्षक राजकुमार बानियाँ, रगंकर्मी युवराज घिमिरे, लेखक गणेश पौडेल, राजन गोदार र कवि विप्लव प्रतीक थिए।
‘ह्विस्की नगरकोटीकी भुतपूर्व प्रेमिका। ह्विस्कीलाई नगरकोटी न माया गर्छन् न घृणा नै,’ बुकहिलका भुपेन्द्र खडकाले भने, ‘यो पञ्चपुरुषसँग सेयर गर्नुहुनेछ।’
यसपश्चात पञ्चपुरुषहरू ह्विस्कीमा रमाउँदा नगरकोटी ‘एसप्रेसो’मा रमाएँ। सगुनाले भने मक्टेल पिइन्। भनिन्, ‘मेरो लुगाको कलरसँगै मिलाएर राखिदिनुभएको रहेछ।’
पञ्चपुरुषले पुस्तक ‘ज्ञ’ का केही हरफ पनि सुनाए। नगरकोटीले भने पुस्तकका केही हरफ, कविता अनि हिन्दी तथा अंग्रेजी गीतहरू सुनाए। नगरकोटीले ३ वर्ष लगाएर लेखेको भनिएको ‘ज्ञ’ अघिल्लो पुस्तक ‘दोचा’ प्रकाशन भएको ९ महिनापछि प्रकाशन गरिएको छ।
यसअघि नगरकोटीको ‘मोक्षान्तः काठमाडौं फिभर’, ‘फोसिल’, ‘मिस्टिका’, ‘अक्षरगन्ज’ र ‘दोचा नामक कृति प्रकाशन भइसकेका छन्। १७३ पृष्ठ रहेको ‘ज्ञ’लाई बुकहिलले प्रकाशन गरको हो।
‘मलाई कुनै पनि पुस्तक पढ्न समय लाग्छ। भर्खरै नगरकोटीको दोचाको आधाआधी भाग पुगेको छु,’ सगुनाले भनिन्, ‘यो पुस्तक पनि म छिटो सक्ने वाला छैन्।‘
सबै तस्बिरहरू : निशा भण्डारी/सेतोपाटी