नेपालका भूपेन्द्र गुरुङले आईएमएसी खुला प्रतियोगितामा २ स्वर्ण पदक जितेका छन्।
इन्टरनेसनल मार्सल आर्ट्स कोर्पोरेसन (आईएमएसी) मुख्यालयद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले २ फरक स्पर्धामा स्वर्ण जितेका हुन्।
भूपेन्द्रले युकेमा भएको प्रतियोगिताको नान् छ्वान र ताइची स्पर्धामा स्वर्ण जिते। उनले नान् छ्वानमा २७.३ तथा ताइचीमा २७ अंक जोडे। दुवै स्पर्धा ३० पूर्णाङ्कको थियो।
तीन महिनाको अवधिमा भूपेन्द्रले जितेको योसहित ८ पदक हो। यसअघि अमेरिकाको विभिन्न शहरमा भएका ३ प्रतियोगितामा भूपेन्द्रले ६ पदक जितेका थिए । व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा २ स्वर्ण, १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा २ रजत र छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत जितेका थिए।
भूपेन्द्र आईएमएसी खुला प्रतियोगिता खेल्न अमेरिकाबाटै युके पुगेका हुन् । युकेमै उनले उमा नेपालको चौथो डान पनि प्राप्त गरेका छन् । वल्र्ड युनाइटेड मार्सल आर्ट्स (उमा) का अध्यक्ष ग्रान्ड मास्टर रिचर्ड होप्किन्सले भूपेन्द्रलाई प्रमाण पत्र प्रदान गरे।
नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईलाई पनि नेपालका लागि आईएमएसीको महासचिवको जिम्मेवारी दिइएको छ।