चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा नेपाली खेलाडीले निराशाजनक प्रदर्शन गरेका छन्।
प्रतियोगितामा नेपालका तर्फबाट कुल चार खेलाडीको सहभागिता रहेको थियो। त्यसमध्ये स्कीको पुरुष स्लालममा सफलराम श्रेष्ठ २९औं स्थानमा रहे।
उनले दुवै रन एक मिनेट ५८.८६ सेकेन्डमा पूरा गरे। त्यसमा कुल ५८ खेलाडीले प्रतिस्पर्धा गरे। रन–टुमा दुई खेलाडीले प्रतिस्पर्धा नै पूरा गर्न सकेनन् भने थप चार खेलाडी छनोट भएनन्। यस्तै रन–वान ११ खेलाडीले पूरा गर्न सकेनन्। त्यसमा नेपाली खेलाडी चोवाङ मिङग्युर तामाङ पनि रहे।
यस्तै रन–वानमा अन्य दुई खेलाडी छनोट हुन सकेनन् । महिलातर्फ सहभागी दुवै खेलाडीले स्पर्धा पूरा गरेका छन् । त्यसमध्ये देबोरा तिमल्सिना ३४ र लक्ष्मी राई ३५ औं स्थानमा रहिन । देबोराले दुवै रन तीन मिनेट ७.०६ सेकेन्डमा पूरा गरिन् । यस्तै लक्ष्मीले तीन मिनेट २२.१३ सेकेन्डको समय निकालिन् ।
स्पर्धा पूरा गर्ने कुल खेलाडी पनि ३५ नै रहेको थियो । उनीहरूको पछाडि रन–टु पूरा नगर्ने तीन र रन–टुमा छनोट हुन नसक्ने तीन खेलाडी रहे । रन–वानमा भने दुई खेलाडीले स्पर्धा पूरा गर्न सकेनन् भने दुई खेलाडी छनोट नै हुन सकेनन्।