सन् १९३८ मा इटाली र सन् १९६२ मा ब्राजिलले लगातार दुई पटक विश्वकपको उपाधि जितेपश्चात हालसम्म कुनै पनि टिमले लगातार उपाधि जित्न सकेका छैनन्।
गएराति मोरक्कोलाई २-० ले हराउँदै चौथो पटक फाइनलमा पुगेको फ्रान्सलाई ६० वर्षअघि इटाली र ब्राजिलले बनाएको कीर्तिमान बराबरी गर्ने अवसर आएको छ।
सन् १९३४ मा इटालीमा भएको दोस्रो विश्वकपमा उपाधि जितेको इटालीले फ्रान्समा सन् १९३८ मा भएको तेस्रो विश्वकप जितेर लगातार दुई पटक उपाधि जितेको थियो।
सन् १९५८ मा स्वीडेनमा भएको छैठौं विश्वकप फुटबलको फाइनलमा घरेलु टोलीलाई ५-२ गोल अन्तरमा हराउँदै ब्राजिलले पहिलो पटक उपाधि जितेको थियो।
त्यसको चार वर्षपछि चिलीमा भएको सातौं संस्करणको विश्वकपमा ब्राजिलले चेकोस्लोभाकियालाई फाइनलमा ३-१ गोल अन्तरमा हराउँदै लगातार दोस्रो पटक विश्व च्याम्पियन बन्दै २४ वर्षअघि इटालीले बनाएको रेकर्डसँग बराबरी गर्यो।
त्यसयता ६० वर्षसम्म यो कीर्तिमान कसैले बनाउन सकेका थिएनन्। तर साविक विजेता फ्रान्सलाई ब्राजिलले बनाएको त्यो कीर्तिमान बराबरी गर्ने मौका आएको छ।
स्वभाविक लयमा रहेको फ्रान्सले कतार विश्वकपमा समूह चरणको अन्तिम खेलमा ट्यूनिसियासँग १-० गोल अन्तरले हार्नुअघि पहिलो खेलमा अष्ट्रेलियालाई ४-१ ले हरायो। यस्तै दोस्रो खेलमा डेनमार्कलाई २-१ गोल अन्तरमा हराउँदै नकआउटमा प्रवेश गरेको थियो।
नकआउटको पहिलो खेलमा पोल्याण्डलाई ३-१ ले हराएको फ्रान्सले क्वार्टरफाइनलमा इङ्ल्याण्डको चुनौती २-१ ले पन्छाउँदै सेमिफाइनलमा प्रवेश गरेको हो।
सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरमा हराउँदै फ्रान्स ब्राजिलको ६० वर्ष अघिको कीर्तिमान नजिक पुगेको छ।
सन् २०१८ को विश्वकपमा फ्रान्सले नकआउट चरणमा अर्जेन्टिना, उरूग्वे र बेल्जियमलाई हराएको थियो भने डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो।
यस्तै अन्तिम १६ मै अर्जेन्टिनालाई ४-३ ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको फ्रान्सले उरूग्वेलाई हराएर सेमिफाइनल पुगेको थियो। सेमिफाइनलमा बेल्जियमलाई १-० ले स्तब्ध पार्दै फाइनलमा प्रवेश गरेको थियो। क्रोएसियालाई फाइनलमा ४–२ ले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो।
त्यो फ्रान्सको दोस्रो उपाधि थियो । त्यसअघि फ्रान्स आफैंले सन् १९९८ मा आयोजना गरेको विश्वकपको उपाधि जितेको थियो।
सन् १९९८ मै उपाधि जित्दाको कप्तान डेसच्याम्प हाल फ्रान्सका प्रशिक्षक छन्। सन् २०१२ देखि टोली सम्हाल्दै आएका डेसच्याम्पकै प्रशिक्षणमा फ्रान्सले चार वर्षअघि उपाधि जितेको थियो।
आइतबार कतारको लुसैल रङ्गशालामा अर्जेन्टिनासँग फाइनल खेल्ने फ्रान्स ६० वर्षपछि पुरूषतर्फको विश्वकपको उपाधि दोहोर्याउने तेस्रो राष्ट्र बन्न सक्छ।
यसअघि लगातार दुई पटक विश्वकपको फाइनलमा इटाली, ब्राजिल, अर्जेन्टिना, नेदरल्याण्ड्स र जर्मनीले पनि लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुग्ने कीर्तिमान राखिसकेका छन्। लगातार दुईपटक विश्वकपको उपाधि जित्ने कीर्तिमान भने इटाली र ब्राजिलको नाममा मात्र छ।