आयोजकलाई पन्छाउँदै चर्च व्वाइजको दुधे गोल्डकपमा विजयी सुरूवात


ए डिभिजनका टिम सहभागी सिजनको पहिलो प्रथम टुबर्ग दूधे गोल्ड कप झापाको दूधेमा बुधबारदेखि सुरु भएको छ।

उद्घाटन खेलमा काठमाडौंको चर्च व्वाइजले आयोजक दूधे युथ क्लबलाई ३–० गोल अन्तरले स्तब्ध पार्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

पहिलो हाफको २४ औं मिनेटमा चर्च ब्वाइजका अरुण श्रेष्ठले दूधेका गोल रक्षक बिट भएको मौका पारेर गोल गरे। खेलको २८ औं मिनेटमा आयोजकको आत्मघाती गोल भएपछि चर्च ब्वाइजले २–० को अग्रता लियो।

खेलको ६२ औं मिनेटमा पुनः चर्च ब्वाइजका  खेलाडी भुवन बस्नेतले गोल रक्षकलाई अल्मल्याउँदै सुन्दर गोल गरे। बस्नेतको पछिल्लो १ गोलले चर्च ब्वाइज ३–० को फराकिलो जीत निकालेको हो।

खेलको ३८ औं मिनेटमा दूधेका प्रकाश बुढाथोकीको फ्रिकिक पोलमा लागेर फर्किँदा आयोजकले गोल गर्ने सुन्दर अवसर गुमाएको थियो। आयोजकले पहिलो हाफ अगाडि पटकपटक गोल गर्ने अवसर पाए पनि चर्च ब्वाइजका गोल किपरले प्रयासलाई विफल बनाइदिए।

उद्घाटन खेलको पहिलो गोलकर्ता चर्च ब्वाइजका अरूण श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनकाले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । भोलि (बिहीबार) को खेल घरेलु रमपम झापा ११ र काठमाण्डौंको हिमालयन शेर्पाबीच हुने आयोजक समितिका सचिव दर्शन तुम्बापो (देवी) ले बताए । प्रतियोगिताको उद्घाटन कृषिराज्य मन्त्री सरिता प्रसाईंले गरेकी थिइन् ।

प्रतियोगिताको विजताले ३ लाख १ हजार र उपविजेताले १ लाख ५१ हजार रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.