बर्दिया कारागारका ‘भाइ-नाइके’ पर्खाल नाघेर भागेपछि तत्कालीन जेलर सन्तोष विकलाई विभागीय कारबाहीको सिफारिस भएको छ।
भदौ १७ गते बिहान ३ बजे टोपे भनिने अजिब बुढा क्षेत्री कारागारको पर्खालबाट हाम्फालेर भागेपछि बनेको छानबिन समितिले जेलर विकलाई कारबाही सिफारिस भएको प्रमुख जिल्ला अधिकारी नारायण रिसालले सेतोपाटीलाई बताए। उनको कारबाहीको लागि समितिले गृह मन्त्रालयमा पत्राचार गरेको छ।
घटनापछि गृहले उनको अछाममा सरूवा गरिसकेको छ। अहिले बर्दिया कारागारमा कासी पंगेनी जेलर छन्।
‘छानबिन समितिको प्रतिवेदन अनुसार तत्कालीन जेलर बिकले संवेदनसिल भएर कार्यसम्पादन भएको नदेखिएको हुँदा गृहमा विभागीय कारबाही सिफारिस भएको हो,’ प्रजिअ रिसालले भने। यसबारे गृहले निर्णय गरिसकेको छैन।
भाइ-नाइके क्षेत्री भाग्दा कारागारमा कार्यरत सबै सुरक्षाकर्मीलाई पनि जिल्लामा तानेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले जानकारी दिए। समितिले ड्युटीमा रहेका प्रहरीलाई पनि कारबाहीको लागि सिफारिस गरेको छ।
भदौ १७ गते कारागारबाट भागेका क्षेत्री अझै पक्राउ परेका छैनन्।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बर्दियाले अजिब बुढा क्षेत्रीलाई ३० वर्ष कैद सजाय तोकेको थियो। लामो समय फरार रहँदै आएका क्षेत्री पक्राउ परेको एक वर्ष नहुँदै उनी भाइ नाइके भएका थिए। अजिब गत वर्ष कात्तिक २१ गते पक्राउ परेका थिए।
कारागारको नियमावलीमा कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरिसकेको र चालचलन राम्रो भएका व्यक्तिलाई मात्रै भाइ-नाइके बनाउने प्रावधान छ।
प्रहरीका अनुसार क्षेत्रीले ०७२ साल फागुन ५ गते ठाकुरबाबा नगरपालिका-८ का ५९ वर्षीय छिमेकी जोरा सिंह थापाको हत्या गरेका थिए। थापाको हत्यामा कसुरदार ठहराउँदै जिल्ला अदालत बर्दियाले सोही महिनाको ३० गते बयानका लागि जिल्ला अदालत लग्दा उनी हतकडीसहित भागेका थिए।
यो पनि: ‘भाइ-नाइके’लाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी गर्ने तयारी