ग्लोबल नेपाली
गोरखाको बारपाक सुलिकोटका सञ्जय ढकाल सिंगापुरमा ट्रेडिङ (सामान किनबेच) गर्थे। व्यवसायका क्रममा थाइल्यान्डतिर निकै आउजाउ हुन्थ्यो। यो कुरा हो सन् २००० तिरको।
धेरै पटक थाइल्यान्ड गएपछि उनलाई त्यतै काम गर्न मन लाग्यो। सन् २००३ मा सिंगापुर छाडेर उनी थाइल्यान्ड गए अनि गार्मेन्ट कारखाना खोले।
त्यहाँ लाहुरेको युनिफर्म (पोसाक) बनाएर सिंगापुरतिर पठाउन थाले। व्यवसाय बढ्दै गएपछि लन्डनबाट पनि माग आयो। त्यहाँका र्यापरहरूले लगाउने ट्राउजर बनाएर पठाउन थाले।
'गार्मेन्ट व्यापार करिब पाँच वर्ष निकै राम्रो चल्यो। त्यसपछि बिस्तारै व्यापार कम भयो,' सञ्जयले भने, 'सन् २००९ सम्म आइपुग्दा निकै समस्या पर्यो। अनि आखिर गार्मेन्ट कारखाना एक जना नेपालीलाई बेचिदिएँ।'
बाल्यकालदेखि नै उनको रूचि इन्टेरियरमा थियो। उनले इन्टेरियर डिजाइनको काम सुरू गरे। काम ठिकै चल्दै थियो। सन् २०१६ मा उनलाई थाइल्यान्डमा इन्टरनेसनल फ्रेन्चाइज कम्पनी 'वान आर एक्स' चलाउने मौका मिल्यो।
वान आर एक्स कोरियन कम्पनी हो, जसले सामसङका शोरूम र आउटलेट (पसल) चलाउँछ। टेन्डरमा सञ्जयको कम्पनी छानियो र उनले सामसङको काम सुरू गरे।
'पहिलो काम चार सय वर्गफिटमा थियो। त्यो काम निकै राम्रो भयो। त्यसको सफलताले कामको चाप बढ्दै गयो,' उनले भने, 'अनि मैले ६५० वर्गफिटमा आफ्नो कारखाना खोले।'
व्यवसाय चल्दै गयो, उनलाई त्यो ठाउँ साँघुरो भयो।
अहिले साढे नौ हजार वर्गफिटमा उनको कारखाना छ। कारखानामा हाल सय जनाले काम पाएका छन्। सामसङको आउटलेट बनाउने काम कोरियन र थाई डिजाइनरहरूले गर्छन्। फराकिलो कारखाना परिसरमा काठ काट्ने, रङ लगाउने, सामान तयार गर्ने, प्याकिङ गर्ने र डेलिभरी दिने डिपार्टमेन्टहरू छन्।
'अहिले वान आर एक्स कम्पनीले सामसङका आउटलेट बनाउनुका अतिरिक्त घर, बंगला र अपार्टमेन्टमा फर्निसिङ, इलेक्ट्रिक र प्लम्बिङ लगायतका सेवा दिन्छ,' सञ्जयले भने, 'वान आर एक्स कम्पनीमा हालसम्ममा ५० करोड रूपैयाँभन्दा बढी लगानी गरेको छु।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com